काठमाडौं । मुखमै आएको सत्ता कांग्रेसले गुमायो भनेर सामाजिक संजालमा तिब्र टिकाटिप्पणी भईरहेका छन् । यही प्रसंगमा कतिपय कांग्रेसकै नेताहरुले व्यङ्ग्य समेत गरे, पार्टी सभापति शेरबहादुर देउवाको राजीनामासमेत मागे । यो तुस टिकट नपाउने र महामन्त्री गगन थापालाई संसदीय दलको नेता बनाउन नसक्नेहरुबाट देखियो ।
नेपाली कांग्रेसमा सत्तामोह छैन, संसदीय व्यवस्थाको खिलाफमा छैन र गलत ट्रयाकमा हिडेको नेपाली राजनीतिलाई सही दिशामा ल्याउन कांग्रेसको यो कदम सुझबुझपूर्ण र पाको राजनीतिको नमूना हो भन्ने बुझ्न जरुरी छ । अझ तिनीहरुले जो कांग्रेस सत्ताबाट बाहिरएको भन्दा पनि देउवाले बालुवाटार छाडेको हेर्ने मनोदशा बोकेका राजनीतिककर्मी जो घर बालेर खरानी ताप्न मन पराउँछन् ।
संसदमा ठूलो दल हुनुको नाताले कांग्रेसले राष्ट्रपति र पहिलो कार्यकाल प्रधानमन्त्री चलाउने प्रस्ताव गठबन्धनसँग राखेको थियो । यो स्वभाविक थियो । यसमा संसदीय व्यवस्थाको मान्यता र इमानको राजनीति थियो । यो प्रस्ताव देउवा सरकारका सबैभन्दा ठूलो घटक नेकपा माओवादी केन्द्रलाई मन परेन । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई जतिसक्यो चाँडो सत्तामा पुग्नु थियो । उनी दुई धारे तरबार बोकेर संसदमा प्रस्तुत भएका हुन् भन्ने कुरा कांग्रेसले राम्रोसँग बुझेको रहेछ भन्ने कुरा यो निर्णयले स्पष्ट हुन्छ ।
सत्ता बाहिर एक मिनेट बस्न नसक्नेहरुका लागि कांग्रेसको यो निर्णय एउटा गतिलो पाठ हो भन्ने कुरा कम्युनिष्टहरुले बुझ्न अझै २ वर्ष पर्खिनुपर्छ । कम्युनिष्टहरुबाट संविधानको पालना हुँदैन भन्ने कुरा विगतमा केपी ओलीको काम र वर्तमानमा राष्ट्रपति उदाहरण हुन् । उनका लागि संसदले पारित गरेको विधयेक केही होइन । यस्ता घटना कांग्रेसले टुलुटुलु हेर्नबाहेक केही गर्न सक्ने अवस्था थिएन । संविधानको पालक र संरक्षक कांग्रेस यस्ता घटना दोहो-याएर सत्तामा बसिरहन आवश्यक पनि थिएन ।
माओवादी अध्यक्ष प्रचण्डलाई पहिले नै प्रधानमन्त्री दिँदा संसदीय व्यवस्थाको अपमान मात्र होइन, राजनीतिले नयाँ कोर्ष लिन सक्थ्यो । संसदीय व्यवस्थाको मानमर्दन हुने गरी कांग्रेसले सत्ता सुम्पिनु हुँदैन भन्ने कुरा जगजाहेर थियो ।
आलोपालो प्रधानमन्त्री बन्ने सहमतिमा पहिलो पटक प्रचण्डलाई प्रधानमन्त्री दिँदा के जान्थ्यो भन्ने धेरै देखिए । सभापति देउवाले सत्ता छाड्न नमान्दा कांग्रेसले धेरै लाभका पद गुमायो भनेर टिकाटिप्पणी सुनियो । राष्ट्रपति, सभामुख मात्र होइन, प्रदेश सरकारको नेतृत्वबाटसमेत कांग्रेस बन्चित हुनुपर्ने अवस्था देउवाले सिर्जना गराए भनेर रोइलो गर्नेहरुको यहाँ कमी देखिएन । तर, राजनीति त्यति सरल रेखामा बगेको थिएन ।
प्रचण्ड ‘पिधँ बिनाको लोटा’ हुन् भन्ने कुरा नेपाली राजनीतिमा स्थापित भइसकेको तथ्य जगजाहेर छ । जता शक्तिले धकेल्छ, त्यतै ढल्किने चरित्र भएका प्रचण्ड आफ्नो कार्यकाल साढे दुई वर्ष सकिएपछि सहजै सत्ता हस्तान्तरण गर्छन् भन्ने कांग्रेसलाई विश्वास थिएन । सत्ता टिकाइराख्न उनी एमालेको शरणमा पुग्न सक्थे, जस्तो अहिले पुगे ।
एमालेलाई सत्ता मात्र चाहिएको छैन, पार्टी फुटाउने माधव नेपाललाई सडकमा पु-याउनु पनि छ । माधवपछि एमालेले सडकमा धकेल्ने भनेकै प्रचण्डलाई नै हो । त्यसका लागि फुटाउनु अनिवार्य थियो, माधव प्रचण्ड फुटे । यस अर्थमा एमाले एक हिसाबले सफल भयो ।
दुई वर्षपछि प्रचण्डलाई सडकमा धकेल्ने कि एमालेलाई पुनः एक्लो बनाउने खेल कम्युनिष्ट राजनीतिमा हुनेछ । सत्ता छोड्यो भने एमालेले धक्का दिन्छ भन्ने कुरा दुई धारे तरबार बोकेका प्रचण्डले राम्रोसँग बुझेका छन् । उनी आफ्नो सुरक्षाका लागि पुनः कांग्रेस गठबन्धनमै फर्किन सक्छन् । त्यसभन्दा अगाडि नै एमालेले कांग्रेससँग सहकार्य गरेर प्रचण्डलाई सत्ताबाट हटाउन खोज्यो भने पनि अन्यथा नमाने हुन्छ ।
यो राजनीतिक परिस्थिति सिर्जना भयो भने कांग्रेसको दुवै हातमा लड्डु हुनेछ भने प्रचण्डको दुई धारे तरबार भुत्ते सावित हुनेछ । अहिले सत्ताधारी सात दलीय गठबन्धनको शक्ति बाँडफाँडलाई विश्लेषण गर्ने हो भने यही मार्गचित्रमा नेपाली राजनीति नहिड्ला भन्न सकिने अवस्था छैन ।
यतिबेला प्रचण्डको दाउ भनेको पाँचै बर्ष सत्तामा रहने हो । काँध फेर्ने बेलामा अर्थात् दुई बर्ष पुगेपछि ओलीलाई सत्ता हस्तान्तरण गर्नुको सट्टा कांग्रेससँग मिलेर आफ्नो सत्ता टिकाउने खेल सुरु गर्ने छन् । त्यतिबेला यो गठबन्धन तितरबितर हुने र नयाँ राजनीतिक कोर्ष सुरु हुने अनुमान राजनीतिक विश्लेषकहरुले गर्न थालिसकेका छन् । सत्ता प्राप्तिका लागि जे पनि गर्न तयार हुने प्रचण्ड प्रवृतिले नेपाली राजनीति अझै लामो समयसम्म स्थिर रहने संकेत देखिदैन ।
प्रतिक्रिया