सिराहामा सशस्त्र प्रहरीद्वारा २९ लाखभन्दा बढी मूल्यको सामान बरामद

सिराहामा सशस्त्र प्रहरीद्वारा २९ लाखभन्दा बढी मूल्यको सामान बरामद


ग्लोब नेपाल
108
Shares

सिराहा। सशस्त्र प्रहरी बलले सिराहाका विभिन्न स्थानबाट करिब २९ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको विभिन्न किसिका लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाले लुकाई छिपाई राखेको अवस्थामा बुधबार उल्लेखित मूल्य बराबरको लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको हो ।

सिरहाको नवराजपुर गाउँपालिका–५ मेनहा बस्ने सञ्जय महतोको जस्तापाताले छाएको टहरामा लुकाई राखेको अवस्थामा १६ लाख २२ हजार चार सय रुपैयाँ बराबरको लत्ताकपडा र अगरबत्तीको धुलो बरामद गरी सिरहा भन्सार कार्यालय मार्डरमा बुझाइएको छ ।

सोही गाउँपालिका–५ झाँझपट्टी बस्ने विनोद यादवको घर नजिकै लुकाई छिपाई राखेको पाँच लाख रुपैयाँ बराबरको एक सय २० बोरा अगरबत्तीको धुलो समेत बरामद भएको छ ।

सशस्त्र प्रहरीले सोही ठाउँकै मेनहा बस्ने ब्रहमदेव महतोको जस्ताले बनाएको टहरोमा पाँच लाख ५० हजार रुपैयाँ बराबरको एक सय ६० बोरा अगरबत्तीको धुलो र सोही गाउँपालिका–३ जगतपुर बस्ने शिवनारायण यादवको आँगनमा लुकाई राखेको अवस्थामा दुई लाख ५० हजार रुपैयाँ बराबरको ७२ बोरा अगरबत्तीको धुलो समेत बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय लैजाने क्रममा स्थानीयले ढुंगा हान्दा सशस्त्र प्रहरीको बा १ ग २०५५ नम्बरको ट्रकमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।