सामान्य अवस्थामा असामान्य छलाङ मारी संसदको तेस्रो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेपछि धेरै किसिमका आलोचनात्मक टिप्पणी भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग मिल्न सक्ने दाहालको चरित्रका बारेमा धेरै कम टिप्पर्णी भएको छ । तर कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गुमाएकोमा बढी आलोचना गरिएको देखिन्छ । देउवामाथि हुने आलोचना स्वभाविक भएता पनि दाहालले लिएको निर्णय सबैभन्दा खराब हो भन्न धेरै कम मानिस तयार देखिएका छन् । नेकपाभित्रको दरार र विभाजनको कारण अघिल्लो पटक देउवा प्रधानमन्त्री बनाइएका हुन् । दाहाल नेपाललगायतले ओलीसँग रिस साध्न देउवालाई प्रधानमन्त्री स्वीकार गरेका हुन् । दुई दुई पटक संसद विघटन मात्र भएन भ्रष्टाचारमा रेकर्ड नै बनाइयो । त्यसको लामो विवरण छ । पार्टी विभाजन गरेर देउवालाई प्रधानमन्त्री बनाउन बुढानीलकण्ठ दगुरेका दाहाल–नेपालहरु यसरी यति छिट्टै बालकोट दौडेलान् भन्ने थिएन पनि होला । आरोप प्रत्यारोप लाञ्छनाको लामो श्रृङ्खला पार गर्दै बालकोटको बार्दलीबाट अमिलो अनुहारका साथ हात हल्लाउन दाहाललाई कुनै संकोच भएन । कुर्सीको लागि जोसँग पनि मिल्न तयार हुने दाहालको चरित्रका बारेमा आम मानिसलाई बुझाउन आवश्यक छ । तर त्यसमा जाँगर छैन ।
पार्टीभित्र र बाहिरका मानिस एकोहोरो देउवालाई आक्रमण गरिरहेका छन् । देउवा ठीक हुन भन्ने अभिमत प्रकट भएको होइन । तर, परिस्थितिको मूल्यांकन र विश्लेषण यथाथृपरक राजनीतिक र प्रणाली अनुरुप गर्नु आजको आवश्यकता हो । प्रशस्त छलफल, बहस, भिन्नता मनन आवश्यक थियो भन्ने तथ्यलाई आत्मसाथ गरेर गम्भीर निर्णय लिनुपर्ने समयमा केवल सत्ताको लागि आफ्ना तमाम अभिव्यक्तिप्रति इमान्दार नहुने चरित्र स्वीकार्य नै भइरहने हो त ? कांग्रेससँगको गठबन्धन, लामो समय जान्छ, एमाले खासगरी ओलीसँग सहकार्य हुने सम्भावना छैन भनी सयौं पटक बोल्ने दाहाल उपयुक्त हुन त ? संसदको सबैभन्दा ठूलो दलले राज्यको महत्वपूर्ण निकायमा आफ्नो दाबी प्रस्तुत गर्नु गलत नै हो ? यसबारेमा गहन दृष्टिकोण आएको देखिँदैन ।
यस्तो अवस्थामा केवल सभापति देउवा मात्र दोषी हुन् बाँकी पार्टी नेतृत्व र पदाधिकारीहरुको कुनै जिम्मेवारी नै छैन भन्ने कुरासँग सहमत हुन सकिँदैन, पार्टीको हितको लागि सबैले जिम्मेवारी लिनु पर्दछ ।
निश्चय नै सत्ता गुमेकोमा धेरै कांग्रेसी र अवसरवादीहरु दुःखी मात्र होइन विक्षिप्त नै भएका छन् । उनीहरुका योजना र कार्यक्रम चकनाचुर भए । लुटौला भन्नेहरु निराश भएका छन् । मुखमा नै आएको सत्ता गुम्दा होस हवास उठ्नु स्वभाविकै होला । आन्तरिक चलखेल र चाहना के थियो भन्ने विषय धेरै कमलाई जानकारी होला । बन्न नदिने र नबनाउने खेल पनि कम निर्णायक थिएन । यस्तो अवस्थामा केवल सभापति देउवा मात्र दोषी हुन् बाँकी पार्टी नेतृत्व र पदाधिकारीहरुको कुनै जिम्मेवारी नै छैन भन्ने कुरासँग सहमत हुन सकिँदैन, पार्टीको हितको लागि सबैले जिम्मेवारी लिनु पर्दछ । आवश्यक परेको समयमा हस्तक्षेप गर्न नसक्ने, अन्तर पार्टी छलफल चलाउन नचाहाने, गठबन्धन दललाई इन्गेज गर्ने प्रयाससमेत नगर्ने, विपक्षी पार्टी नेतृत्वसँग भेटघाट गरी तपाईं प्रधानमन्त्री बन्नुपर्छ भन्ने अनि आफ्नो सभापतिलाई राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा दाबी छोड्न हुँदैन भन्ने व्यक्तिहरुको पहिचान गरी उनीहरुमाथि पनि छानबिन गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ । कसैले पनि उन्मुक्ति पाउनु हुँदैन ।
कठोरताका साथ प्रस्तुत हुने पार्टीपंक्तिले मात्र लोकतान्त्रिक प्रणालीको सुदृढता र विकासमा सहयोगी भूमिका निर्वाह गर्न सक्छ । केवल आफ्ना लागि र ‘पब्लिक कन्जमसन’को लागि बोल्ने व्यक्तिहरुले खासै उल्लेख्य रुपान्तरण ल्याउन सक्दैनन् । जनताको अभिमत प्रकट भएकै समयमा त्यसप्रति इमान्दार बन्न नसक्नेहरुले शासन प्रणालीको मर्म र भावनाको प्रतिनिधित्व गर्न सक्दैनन् भन्ने कुरा छर्लङ नै छ । संसदको तेस्रो दललाई प्रधानमन्त्री अफर गर्नु शासन व्यवस्थाप्रतिको इमान्दारिता र प्रतिबद्धता होइन । सामान्य अवस्थामा जनमतको प्रतिकूल हुने निर्णय गर्नु बेइमानी हो । कमजोरी र छिद्रा खोजेर शासन प्रणालीलाई नै कमजोर बनाउने काम ओली दाहालबाट भएको छ । यो कमजोरी लुकाउन देउवामाथि अनुदार भएको आरोप लगाएर मात्र हुँदैन । देउवासँग आशा र भरोसा गर्ने समय गुज्रिसकेकै थियो । उनलाई सत्तामा विराजमान गराउने दाहाल, नेपालले कुनै दिन कठघरामा उभिनुपर्ने रहेछ त किन हिजो पार्टी विभाजन गरेको कांग्रेससँग सहकार्य गर्नुपर्ने कारण के हो ? त्यसको युक्तिमुक्त जवाफ त नेपाली राजनीतिले दाहाल नेपालसँग पनि खोज्ने नै छ । ओलीको निर्देशनमा दौरासुरुवाल लगाएर सपथ खान निस्केका दाहालले यसबीचमा प्रधानमन्त्रीका लागि राप्रपा, रास्वपालगायतका दलहरुको सर्त, माग र अडान स्वीकार गर्नुपर्ने नै छ । ती विषयहरुको सम्बोधन गर्दागर्दै अलिकति बचेखुचेको माओवादीको वैचारिक धार समाप्त मात्र हुने छैन, दाहाल नाटकको पात्रको रुपमा चित्रित हुने छन् । अरु कसैका निर्देशनमा दाहालले अभिनय गर्नुपर्ने छ । प्रधानमन्त्रीको कुसीमोह मा दाहालले विगतका सबै प्रतिबद्धताहरु बिसर्जन गर्ने छन् ।
यी सबै घटनाक्रमहरुमा नेपाली कांग्रेस आफ्नो अस्तित्वको लडाइँमा परेको छ । विगत लामो समयदेखि नै संकटको सामना गरिरहेकै हो । ओरालो लाग्नेक्रममा नै उतारचढावहरु आएका हुन् । कहिले तल कहिले माथि देखिएर मात्र हो । समस्याग्रस्त थियो नै कांग्रेस । कृष्णप्रसाद भट्टराईलाई हराउने र २०५१ मा मध्यावधिमा जाने निर्णयदेखि नै कांग्रेसको विचलन र आरोलो मात्रा प्रारम्भ भएको हो । त्यसबाट सिक्ने भन्दा अझ बढी विकृत हुने मार्ग अवलम्बन गरिएकै हो । चलेको हो । अनुकूल त गिरोहको रुप धारण गरेको छ । त्यस्तै चरित्र, पृष्ठभूमि र व्यक्तित्व भएका मानिस नेतृत्व तहमा छन् र त्यस्तै व्यक्तिको खोजी र रुचि देखिन्छ । डाङडुङ गर्ने चरित्रले महत्व पाएको छ । प्रसस्त खर्च गर्न सक्ने उम्मेदवारका खोजी हुन्छ । खरिद बिक्री, योग्य र सक्षम व्यक्ति, राय बजाउने सारथी असान्दर्भिक भएका छन् । त्यसैले त आरोलो यात्राले निरन्तरता पाएको छ ।
प्रतिक्रिया