किन चमक देखिँदैन प्रधानमन्त्री दाहालको अनुहारमा !

किन चमक देखिँदैन प्रधानमन्त्री दाहालको अनुहारमा !



खिचडी सरकारको नेतृत्व गरिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अनुहार मुस्कुराउन सकिरहेको छैन । प्रधानमन्त्री भएपछि दाहालको अनुहारमा चमक, उत्साह र केही गरौं भन्ने उमंग देखिनुपथ्र्यो । तर त्यो देखिएको छैन, उनको अनुहारमा गलत काम गरेर आत्मग्लानी र पश्चातापको आगोले भतभती पोलेको जस्तो देखिन्छ । प्रधानमन्त्री दाहालको अनुहार यस्तो हुनुमा कुन केमेस्ट्रीले काम गरेको छ, त्यसको विभिन्न कोणबाट नेपाली राजनीतिमा विश्लेषण हुन थालेको छ ।

प्रधानमन्त्री दाहालले संसदमा आउँदो २६ गते मंगलबार विश्वासको मत लिँदैछन् । अहिलेकै समीकरण कायम रहे उनले १६९ मत पाउने लगभग निश्चितजस्तै छ । उनका लागि संसदमा १३८ मत प्रधानमन्त्री पद अनुमोदनका लागि पर्याप्त हो । विश्वासको मतका लागि प्रधानमन्त्री दाहालले १६९ मत पाउँदा पाउँदै किन नखुलेको अनुहार लगाएर सार्वजनिक रुपमा प्रस्तुत हुँदैछन् ? यी विषय यतिबेला नेपाली राजनीतिमा कौतुहल बनिरहेका छन् ।

पहिलो कुरो प्रधानमन्त्री दाहालको कुर्सी चिनियाँ टेकोले अडाइएको छ । दाहाल प्रधानमन्त्री बन्ने बित्तिकै उत्तर नाका खुल्नु, रेल्वे अध्ययनका लागि चिनियाँ टोली नेपाल आउनु र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन हुनुलाई संयोग मात्र मान्न सकिन्न । यसलाई प्रधानमन्त्री दाहालको कुर्सीलाई चिनियाँ टेको ठान्नेहरु धेरै छन् ।

नेकपा एकीकृत समाजवादीले सरकारमा जाने निर्णय गर्न सकेको छैन । केन्द्रीय समिति, पोलिटव्यूरो हुँदै सचिवालयलाई अधिकार प्रत्यायोजन गरेर एकीकृत समाजवादीले समय घर्काइरहेको छ, निर्णय लिन सकेको छैन । नेकपा एमालेले एकीकृत समाजवादीलाई सरकारमा जान रोकेको छ भने प्रधानमन्त्री दाहालले अध्यक्ष माधवकुमार नेपालसँग सरकारमा सहभागी हुन विशेष अनुरोध गरिरहेका छन् । संसदमा १० सिट भएर पनि राष्ट्रिय पार्टी बन्न नसकेको एकीकृत समाजवादी प्रचण्डको विशेष अनुरोध भन्दा पनि एमालेको आदेश शिरोपर गर्न बहुमत सदस्य तयार छन् । एकीकृत समाजवादीलाई दाहाल नेतृत्वको सरकारमा सहभागी हुन एमालेले किन रोकिरहेको छ, त्यो विषय झन् बुझिनसक्नु छ ।

नेपाली कांग्रेसले संसदीय व्यवस्थाको मान्यता विपरित तत्कालिन सत्ता साझेदार दल माओवादीलाई झुठो आश्वासन दिएन । तर, ३२ सिट भएको माओवादीलाई ७९ सिट भएको एमालेले प्रधानमन्त्रीको ललिपपमा देखायो । किनभने संसदीय व्यवस्थामा अल्पमतले बहुमतमाथि शासन गर्नुहुँदैन भन्ने विषयको टिउसन एमाले अध्यक्ष केपी ओली माओवादी अध्यक्ष प्रचण्डलाई पढाउन चाहन्छन् ।

प्रधानमन्त्री दाहालले आफ्नै पार्टीबाट समेत सहयोग पाइरहेका छैनन् । चार धु्रव फर्किएका माओवादीका दोस्रो तहका नेताहरु चलाउँदा थोरै सन्तुलन बिग्रियो भने पार्टी नै ध्वस्त हुने अवस्थामा छ । नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जर्नादन शर्मा, देव गुरुङलगायत कसैको पनि एकअर्कामा केमिस्ट्री मिल्दैन । प्रधानमन्त्री पदमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका वर्षमान पुनले सरकार बाहिर बस्ने घोषणा गरिसकेका छन् । प्रधानमन्त्री दाहालले सरकार सञ्चालनमा नारायणकाजीलाई सारथी बनाएपछि पुनको यो घुर्की सार्वजनिक भएको हो भन्ने बुझ्नलाई कुनै आइतबार पर्खिनु पर्दैन ।

सरकार सञ्चालनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कार्यदल बनेको छ । यो कार्यदलले सरकारलाई निर्देशित गर्नेछ । सरकारभन्दा पनि माथि रहेको यो कार्यदलले प्रधानमन्त्री रुपी बाघको दारा नङ्घ्रा काटेको मात्र छैन, हात खुट्टासमेत बाँधेर कुर्सीमा राखेको छ भन्ने कुरा घामझै छर्लङ्ग छ । यसका लागि प्रधानमन्त्री दाहालको एउटा निर्णय नै काफी छ । विदेशबाट मोबाइल झिकाउने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्री दाहालले ठाडो आदेश दिए । तर उनको आदेश त्रिभुवन विमानस्थलका खरदारले समेत टेरेनन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको धाप पाएका ती खरदारले प्रधानमन्त्री ठाडो आदेश धोती लगाएका थिए ।

नेपाली कांग्रेसले संसदीय व्यवस्थाको मान्यता विपरित तत्कालिन सत्ता साझेदार दल माओवादीलाई झुठो आश्वासन दिएन । तर, ३२ सिट भएको माओवादीलाई ७९ सिट भएको एमालेले प्रधानमन्त्रीको ललिपप देखायो । किनभने संसदीय व्यवस्थामा अल्पमतले बहुमतमाथि शासन गर्नुहुँदैन भन्ने विषयको ट्युसन एमाले अध्यक्ष केपी ओली माओवादी अध्यक्ष प्रचण्डलाई पढाउन चाहन्छन् ।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन एमाले बाध्य छ । किनभने प्रधानमन्त्री दाहालले विश्वासको मत नपाइ कुनै नयाँ नियुक्त, सरुवा र बढुवा गर्नेवाला छैन । प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गरेपछि पहिलो चरणमै एमालेले राष्ट्रपति र सभामुख पाउने छ । त्यसपछि संसदमा सबैभन्दा ठूलो दलका रुपमा दर्ज हुने रणनीतिमा एमाले लागेको छ । अहिले संसदमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो । उसँग एमालेको भन्दा ९ सिट बढी छ । एमालेले संसदभित्रैबाट ९ सिट थप्न सक्ने सम्भावनाहरु प्रशस्त छन् ।

संविधानमा प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने व्यवस्था छ । तर प्रधानमन्त्री अल्पमतमा परे संसदमा विश्वासको मत लिनु पर्नेछ । संसदमा एमाले सबैभन्दा ठूलो दल नबनुन्जेलसम्म प्रधानमन्त्री दाहालको चिनियाँ टेको सम्भवतः डगमगाउँदैन । यदि कार्यदलको इसारामा प्रधानमन्त्री नाँचेनन् भने त्यो टेको खुस्काउन एमालेलाई दुई वर्षसम्म पर्खिराख्नु पर्दैन ।

संसदमा दुई धारे तरबार देखाएर प्रधानमन्त्रीको कुर्सीमा बस्न पुगेका दाहाल यतिबेला कांग्रेससँगको गठबन्धन टुटाएकोमा प्रायश्चित गरिरहेका छन् । प्रधानमन्त्रीको कुर्सीमा बसेपछि मात्र उनले एमाले अध्यक्ष ओलीको चक्रब्यूमा फसेको चाल पाए । यो चक्रब्यूबाट कसरी निस्कने भन्ने चिन्ताले प्रधानमन्त्री दाहालको अनुहारमा अलिकति पनि मुस्कान देखिन मुस्किल परेको हो भनेर राजनीतिक वृत्तमा विश्लेषण गरिएको छ ।