कांग्रेसको आसन्न बैठक र अपेक्षा

कांग्रेसको आसन्न बैठक र अपेक्षा



संसदको सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेस यतिबेला प्रतिपक्षी बेञ्चमा पुगेको छ। सामान्यत: संसदीय अंक गणितमा नम्वर महत्वपूर्ण हुन्छ र त्यसका लागि टाउको गनिन्छ अनि त्यही बढी संख्या हुनेले अर्थात् बहुमतवालाले सत्ता चलाउँछ र अल्पमतले प्रतिपक्षको भूमिका निर्वाह गरेर सरकारको खबरदारी गर्छ। तर नेपालको सन्दर्भमा राजनीतिमा जे पनि सम्भव छ भन्ने जस्तो देखिन्छ। जसका कारण अस्वाभाविक लाग्ने गठजोड पनि चलेकै छ र सबैभन्दा बढी यसको लाभ आफ्नो पूर्जा खिया लाग्दै गएको माओवादी र यसका अध्यक्ष प्रचण्डले लिएका छन्। सरसर्ती हेर्दा कांग्रेसले अहंकार देखायो,प्रचण्डलाई प्रधानमन्त्री दिएन त्यसैले उनी आफैंले ‘कुनै हालतमा पनि केपीसँग सहकार्य हुँदैन,उनले दिएको प्रधानमन्त्री म खान्न,खान्न चाहिएन’ भनेको प्रधानमन्त्री खान बालकोटको बार्दलीमा उनै केपी ओलीको फेरो समात्न पुगे।

प्रचण्डको सत्तामोहप्रतिको आशक्ति र अधैर्यलाई कांग्रेसले बुझ्नै सकेन। ‘कुर्सी महत्वकांक्षा’को प्रचण्ड मनोविज्ञानलाई सम्बोधन गर्न नपाउँदै कांग्रेसले एकैपटक शासकीय र राजकीय पद र जिम्मेवारी गुमायो र प्रतिपक्षी बेञ्चको दर्शकदीर्घामा रमिते हुन पुगेको छ। सत्ताको चास्नीमा डुबेका र त्यसको गुलियोमा भुलेकाहरुका लागि यो सबै ‘सकियो, बर्बाद भो र देउबाले डुबाए’ भन्ने असह्य छटपटी र पीडाबोध त्यसकै अभिव्यक्ति हो।

कांग्रेस कार्य सम्पादन समितिको बैठकले संसदको सबैभन्दा ठूलो दलको नाताले नयाँ सरकारका लागि आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने भनी गरिएको निर्णयमा कार्य सम्पादन समितिमा रहेर हस्ताक्षर गर्नेहरुले कति भूमिका निर्वाह गरे ? के त्यो समीक्षा कांग्रेसले गर्ला ? स्वाभाविक हो, शेरबहादुर देउबा पार्टी सभापति र संसदीय दलको नेता अनि बहालवाला प्रधानमन्त्रीसमेत भएकोले उनको जिम्मेवारी बढी हुने र उनले नै आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनका लागि आवश्यक पहलकदमी लिने, जुन उनले गरे। तर उनलाई बल पुर्याउने काम अरु पदाधिकारी र नेताहरुले कति गरे ? यसको समीक्षा आवश्यक छैन ? जिम्मेवारी सबैले बहन गर्नुपर्छ। अरुलाई चोर औंलो ठड्याउँदा बाँकी चार औंलाले आफैंलाई प्रश्न सोधिरहेको हुन्छ भन्ने हेक्का राख्नु जरुरी छ। पानीमाथिको ओभानो बनेर हिलो छ्याप्नु मात्र नेता बन्ने काइदा होइन।

कांग्रेसले पुष २८ गते केन्द्रीय समितिको बैठक आव्हान गरेको छ। आसन्न बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्षा र समसामयिक राजनीतिका बारे एजेन्डा राखिएको छ। निर्वाचनको समीक्षा गर्दा आफ्नै पार्टीको नेतृत्वमा सफलतापूर्वक दुवै तहको निर्वाचन शान्तिपूर्ण तवरमा सम्पन्न भएको छ र संघदेखि प्रदेशसम्म कांग्रेसले आफुलाई पहिलो शक्तिको रुपमा उभ्याएको छ। यसका लागि सरकार प्रमूखको रुपमा पार्टी सभापतिले नेतृत्व गर्नु भएको गठबन्धन सरकारलाई धन्यवाद दिएर कर्मकाण्डी औपचारिकता पुरा हुनेछ। तर समीक्षा चाहिं के होला भन्ने चासो र कौतुहल सबै कांग्रेसजनलाई छ।

बैठकको एकसाता पहिलेको राष्ट्रीय मेलमिलाप दिवसका अवसरमा दुई महामन्त्रीको मेलमिलापको संयुक्त विज्ञप्तिले धेरै कुराको संकेत गरेको छ। सम्भवत: यस बारे पनि बैठकमा खुलेर छलफल होला र हुनुपर्छ। यो बैठकले कांग्रेसको राजनीतिक कार्यभार र जिम्मेवारीलाई कसरी सम्बोधन गर्ला भन्ने चासो पनि उत्तिकै छ। केवल एक पक्षले अर्को पक्षलाई आरोप लगाउने र गलाउने गलफत्तीमै बैठक सकिने त होइन ? संशय छँदैछ।

संसदमा प्रतिपक्षी बेन्चमा बस्दै गर्दा अब खबरदारीका लागि महामन्त्री गगन थापा मात्र एक्लै हुने छैनन्। उनको हस्तक्षेपकारी खबरदारीलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीकै प्रत्यासी प्रदीप पौडेलले तार्किक बल पु-र्याउनेछन्।

यस बीचमा विशेष महाधिवेशन, नीति महाधिवेशन र सभापति देउबाको बहिर्गमन समेतको आवाज उठेको छ। यी सबै विषयमा कांग्रेसले ठोस के निर्णय गर्ला ? संघदेखि प्रदेशसम्म सत्ता सामुन्ने पुगेर च्यूत हुनुपरेको मनोविज्ञानले साना,ठूला,वरिष्ठ,कनिष्ठ सबै सांसदको मन अमिलो छ। यो अवस्थामा सबैलाई पुन: उत्प्रेरित गर्न र ऊर्जा भर्न कांग्रेसले कस्तो बाटो अवलम्बन गर्ला वा पुन: कम्युनिष्ट गठबन्धन भत्किहाल्छ त्यसपछि त हामी नै त हो नि भनेर रमिते भएर ‘पर्ख र हेर’ मा बस्ला ?

राजनीतिक कार्यभार:
संघदेखि प्रदेशसम्म कुनै दलको स्पष्ट बहुमत छैन। त्यसैले दुई वा दुईभन्दा बढी दलको सहभागितामा बहुमत जुटाउनुपर्ने अवस्थामा प्रचण्डले केपी ओलीको फेरो समातेर आफ्नो इतिहास (तेश्रोपटक प्रधानमन्त्री) मात्र बनाएनन् प्रचण्ड जस्तो अस्थीर र सत्ताको लागि जे पनि सम्झौता गर्न सक्ने अवसरवादी (उनको भाषामा गतिशील र चलायमान) राजनीतिज्ञ सम्भवत: अरु कोही छैनन् भन्ने पुष्टी पनि गरे। यो बेला बिहे एउटासँग र हनिमुन अर्कोसँग नहुने भन्दै अन्तर्वार्ता दिने माओवादीका शक्ति बस्नेत र एमालेले प्रचण्डलाई बोकेर प्रधानमन्त्री बनाए आफुले एमाले नै छाड्ने सार्वजनिक घोषणा गरेका सूर्य थापा कहाँ के गर्दै होलान् ?

हिजो केपी ओलीको अहंकारविरुद्ध कांग्रेससँग मिलेर गठबन्धन बनाए र चुनावमा समेत संगै बसे। तर प्रधानमन्त्री पद नपाइने बुझेपछि सबै बिर्सेर ओलीको शरणमा पुगे,जहाँ राजावादी र हिन्दूवादी,संघीय व्यवस्था नमान्ने सबैको टेको समाएर एक थान कुर्सी पाए। बडो विचित्र छ। गाउँघरमा सर्प र बिच्छीको उखान जस्तै छ अहिलेको यो टेको। केका लागि यो टेको समाए प्रचण्डले ? सत्ता र त्यही कुर्सीको लागि बाहेक अरु केही देखिन्न यो अमिल्दो रसायनको गठजोड। त्यसैले सिधा अर्थमा यो गठजोड सुरक्षित छैन। विश्वासको मत त लेलान् पुष २६ मा अनि दुई वर्षसम्म अविश्वासको प्रस्ताव सामना गर्नुनपर्ने गरी युद्ध पनि जित्लान् । तर चरम अवसरवादी र स्वार्थीहरुको सवारी चढेर हिंड्ने प्रचण्डलाई कहाँ लगेर पछारिदिन्छन् भन्ने के ग्यारेन्टी छ ?

कांग्रेस नेतृत्वको हिजोको गठबन्धन ओली अहंकारका विरुद्ध आवश्यकताको उपज थियो भन्ने तर्कलाई मात्र आधार मान्ने हो भने कांग्रेसले अझै एक कदम पछि हटेर दुई कदम अघि बढ्ने रणनीति राजनीतिक रुपमा लिनु नै उचित होला। राष्ट्रपतिदेखि सभामूखसम्म एमाले र माओवादीको मात्र मतले निर्वाचित हुन सक्दैन। त्यसैले दुई प्रमूख कम्युनिष्टलाई एकातिर छाडेर अन्य दलहरुसंग रणनीतिक संवाद गर्दै एमाले-माओवादी विरुद्ध मोर्चाबन्दी गर्नु राजनीतिक रुपमा जायज हुनेछ। यसैगरी सबै प्रदेशमा साना र क्षेत्रीय दलहरुसंग छलफल गरेर प्रदेश प्रमूखदेखि मूख्यमन्त्रीसम्म सहमति गरेर जाने हो भने कांग्रेसको ‘स्मार्ट मुभ’ देखिनेछ। किनकी कांग्रेस सबै प्रदेशको निर्णायक शक्ति हो। जसलाई अन्य साना दलको साथ लिन सके सरकार बनाउन सहज हुनेछ। नत्र फेरि पनि नरहे बाँस नबजे बाँसुरी होला। यसतर्फ केन्द्रीय समितिमा छलफल हुनु जरुरी छ जसले कांग्रेसलाई बौराउनेछ।

संसदमा प्रतिपक्षी बेन्चमा बस्दै गर्दा अब खबरदारीका लागि महामन्त्री गगन थापा मात्र एक्लै हुने छैनन्। उनको हस्तक्षेपकारी खबरदारीलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीकै प्रत्यासी प्रदीप पौडेलले तार्किक बल पुर्याउनेछन्। केपी ओलीको उडन्ते ओठे अभिव्यक्तिलाई अब कांग्रेसको आशा र भरोसाका यी तीन युवाले तर्कसहितको जवाफ फर्काएर पुष्टी गर्नुछ कांग्रेसभित्र यस्ता पनि नेता छन् भनेर। शर्मा, थापा र पौडेल मात्र होइनन् कांग्रेसभित्र धनराज गुरुङ, रामहरी खतिवडा, चन्द्र भण्डारी, किशोरसिंह राठौर छन् जसले संसदमा प्रतिपक्षी कस्तो हुनुपर्छ भनेर आफूलाई प्रस्तुत गर्न सक्छन्।

सांगठनिक कार्यभार:
केन्द्रीय सत्ताबाट विमूख हुनु कांग्रेसका लागि अवसर पनि हो। किनकि सत्तामा भएको कांग्रेसले संगठन बलियो बनाउन पहल गर्दैन। केवल कार्यकर्ता व्यवस्थापन र सत्ताको छिनाझम्टीमा नै कांग्रेसको समय बित्ने गरेको छ। अब सत्ताको सुखसयल छाडेर कांग्रेसले आफुलाई परिष्कृत गर्ने अवसर हो यो। संगठन चलायमान गर्ने र कार्यकर्तापंक्तिमा देखिएको उदासीलाई नयाँ संकल्पसहित उत्साहमा परिवर्तन गर्ने अर्को एक सुनौलो मौका पनि हो। यसका लागि अब कांग्रेस नेताहरुले सभापतिको मात्र मुख नताकुन्। आफुहरुको जिम्मेवारी र दायित्वको पनि आत्मबोध गरुन्। सभापतिको उमेर,शारीरिक अवस्था र किशोरवयमा पाएको यातना अनि बोली नै बन्द गरिदिने गरी जीब्रोमा लगाइएको करेन्टको पीडादायक क्षणको महसुस आफैं भएर गरुन् र स-सम्मान अब हामी संगठन बनाउन र कार्यकर्तामा रक्तसंचार गर्न गाउँगाउँ हिड्यौं,तपाईं हामीलाई मार्गनिर्देश गर्नुस् भनेर केन्द्रीय समितिमा आवाज बुलन्द गर्न सकुन्। तब हुनेछ नवीन सुरुवात।

कांग्रेस नेताले होइन,कार्यकर्ताले मलजल गरेर हुर्काएको सतीसालको विशाल वृक्ष हो। जसलाई वीपी कोइरालाले रोपे र गणेशमान, किशुनजी, गिरिजाप्रसाद कोइरालाहरुले सिञ्चन गरे। गिरिजाबाबुले अत्यन्त अप्ठ्यारो परिस्थितिमा पनि गाउँघर पुगेर, जिल्ला-जिल्ला पुगेर संगठन निर्माण गरेको पार्टी हो कांग्रेस। तर बिडम्वना! वीपीले भन्नुभए जस्तै प्रजातन्त्र आएपछि फेरि एकपटक सुकिला मुकिला हाबी हुनेछन् र हामीले तिनीहरुका विरुद्ध लड्नुपर्नेछ। ठ्याक्कै त्यही भएको छ। २०४६ सालको परिवर्तनपछि कांग्रेसमा सुकिला मुकिला हाबी हुँदै गए तर तिनीहरुका विरुद्ध कांग्रेस बोलेन र लडेन। २०५२ पछि गाउँगाउँमा कांग्रेस खोजीखोजी, अरुलाई रोजीरोजी हत्या गर्दा पनि कांग्रेस सकिएन। माओवादीका बौद्धिक नेता भनेर चिनिने राम कार्की (सुरेन्द्र) ले लेखमै लेखे, भाषण गरे कांग्रेस त दूबो रहेछ, सकियो भन्यो फेरि पलाउँछ। यो सबै शक्ति भनेको सत्ताको चास्नीले दिएको होइन, कार्यकर्ताले आर्जन गरिदिएको शक्ति हो। त्यसैले कार्यकर्ताको आड, भरोसा र आत्मबल उँचो बनाउन कांग्रेस गाउँ जानुपर्छ। यो मौका पनि हो। यसलाई कांग्रेसले आत्मसाथ गरेर योजनासहित कार्यक्रम लिएर गाउँ जाने गरी निर्णय गरोस्।

सभापतिको राजीनामको विषय औपचारिक बैठकमा उठ्ने छैन। यो त केवल खपतका लागि सामाजिक संजालमा आएको मात्र हो। नीति महाधिवेशन र विशेष महाधिवेशनको विषय पक्कै उठ्नुपर्नेछ। तर त्यसका लागि पनि सभापतिलाई बहुमतले मात्र बाध्य गराउनेछ। नीति महाधिवेशन हिजो १४ औं महाधिवेशनलाई सहज रुपमा सम्पन्न गर्न निकालिएको जुक्ति मात्र थियो जसले नेता चुन्यो। अर्थात् त्यसको वैधानिक बाटो नै छैन भने सम्भवत: यो विषय पनि कांग्रेस केन्द्रीय समितिमा नउठ्ला। बरु छ महिनाभित्र महासमिति भेला डाक्ने निर्णय भयो भने अन्यथा हुने छैन। किनकि सर्वोच्च बैधानिक थलो अब महासमिति भेला मात्र हो जसले नीति फेरबदल र नयाँ योजना ठोस रुपमा पारित गर्न सक्छ। जुन कांग्रेसका लागि नयाँ ‘डिपार्च’ समेत हुनेछ। त्यसैले महासमिति भेलाका लागि आवाज उठाउनु बैधानिक हुनेछ।

यतिबेला अधिकांश शुभेच्छुक र भातृ संघरसंगठन तदर्थवादमा छन्। कुनै ऊर्जा छैन। यथास्थितिमा कहिलेसम्म यसरी चल्छ संगठन ? अहिले न चुनाबको हतारो छ न सत्ताको चटारो। यो बेलाको ध्यान अब संगठन, संगठन र फेरि पनि संगठन नै हुनुपर्छ। यसका लागि सबै भातृ संघरसंगठनलाई ऊर्जा प्रदान गर्नुछ। त्यो भनेको अधिवेशनमार्फत नेतृत्व चयन जसले संगठनलाई चलायमान र गतिशील बनाउनेछ। कार्यकर्तालाई आशा जगाउनेछ। कांग्रेसको अहिलेको नेतृत्व भनेको नेविसंघको नर्सरीमा हुर्किएको नेतृत्व छ जुन नर्सरीलाई आवश्यक मलजल र सिंचित गर्ने शेरबहादुर देउबा, बलबहादुर केसी, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, धनराज गुरुङ, कल्याण गुरुङ, चन्द्र भण्डारी, एन पी सावद, रमेश लेखक, किशोर राठौर, सुरेन्द्र पाण्डे हुँदै विश्वप्रकाश,गगन, प्रदीप अनि बद्री पाण्डे, नैनसिंह महरलगायत अन्य अधिकांश आज कांग्रेसको निर्णायक नेतृत्वमा छन्। आजको कांग्रेस नेतृत्व हिजोको नेविसंघको उत्पादन हो। तर उनीहरुले आजको नेविसंघ कस्तो छ भनेर कहिल्यै समीक्षा गरेका होलान् र ? यदि त्यस्तो समीक्षा गरेको भए आज नेविसंघ कहाँ छ भनेर खोज्नुपर्ने अवस्था पक्कै आउने थिएन। त्यसैले भातृ संघरसंगठनलाई चलायमान बनाउन तत्काल अधिवेशन प्रक्रिया सुरु गर्नुपर्छ। स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नभएको वर्षौं भयो। खै किन चन्द्र भण्डारी,बीरबहादुर बलायर,किशोरसिंह राठौर,प्रतिमा गौतम र बद्री पाण्डेहरु बोल्दैनन् युनियनको चुनाव गर्न ? आफ्नो हिजोको त्यो बिरासत खोज्नुपर्दैन नयाँ पुस्तामा ?

कांग्रेसको विधान अनुसार केन्द्रीय विभागहरुको गठन र जिम्मेवारी बाँडफाँड गर्न अब ढीलाई गर्नुहुन्न। यस्तो गठन र मनोनयनमा क्षमता र योग्यता अनि योगदानको मूल्यांकन गर्ने परिपाटी बसाउनुपर्छ न कि आफ्नो समर्थक मात्र खोजीखोजी राख्ने तर सांगठानिक काममा सिन्को नभाँच्ने व्यक्ति नखोजियोस्।

आशा गरौँ, कांग्रेसको आसन्न केन्द्रीय समिति बैठकले कांग्रेसलाई नबीन ऊर्जासहित रक्तसंचार गराउने निर्णय गर्नेछ।