आजदेखि स्वस्थानी व्रत प्रारम्भ

आजदेखि स्वस्थानी व्रत प्रारम्भ


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत र कथा वाचन आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात् हिजोदेखि नै हात गोडाका नङ काटी, नुहाइधुवाइ गरी शुद्ध लुगा लगाएर आजदेखि यो व्रत सुरु गरिन्छ । बिहान स्नान गरी दिउँसो महादेवको पूजा गर्ने र बेलुकी स्वस्थानीकाे कथा सुन्ने र सुनाउने गरिन्छ ।

एक महिनासम्म यही विधिअनुरुप व्रत बसेर माघ शुक्ल पूर्णिमाका दिन एक सय आठ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता र विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनि भगवतीलाई अर्घ्य दिइने प्रचलन छ ।

स्वस्थानीको व्रत बसि कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ। स्वस्थानी व्रतकाे एक महिनाभिर काठमाण्डौको साँखुमा रहेको शाली नदीमा मेला लाग्ने गर्छ । यस वर्षको मेला पनि सुरु भएकोे श्रीमाधवनारायण स्वस्थानी व्रत तथा शालि नदी सुधार समितिले जनाएको छ ।

यस्तै भक्तपुरको हनुमानघाटमा पनि माधवनारायणको एक महिने व्रत हुनेछ । पौराणिक कालमा पार्वतीले महादेव पति पाउनका लागि यो व्रत बसेको र महादेव पति पाएको र अरुले पनि यो व्रत बसेमा मनले सोचेको कुरा पाइने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

यसैबीच आजैदेखि माघ स्नान पनि सुरु भएको छ । नुहाइधुवाइ गरेपछि भगवान विष्णुको पूजा गर्ने चलन छ । माघ स्नान गर्नेले सात्विक, अल्पहार र एक छाक मात्र खाना खाएर व्रत बस्ने चलन छ । माघमा तिल, सख्खर, धिउ र कम्बल दान गरेमा विशेष पुण्य हुने धार्मिक विश्वास पनि रहेको छ ।