पदावधि लम्ब्याउने आईजीपी धीरजप्रतापको योजना चकनाचुर

पदावधि लम्ब्याउने आईजीपी धीरजप्रतापको योजना चकनाचुर

३० वर्षे सेवा हद प्रावधान हटाउने फाइल रद्दिको टोकरीमा


ग्लोब नेपाल
7.8k
Shares

काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा हदको प्रावधान हटाएर सेवा अवधि लम्ब्याउने आईजीपी धीरजप्रताप सिंहको योजना शिशाझै फुटेर चकनाचुर भएको छ । ३० वर्षे सेवा अवधिको प्रावधान हटाउने उनको यो योजना गृहमन्त्री रवि लामिछानेले चकनाचुर बनाइदिएका हुन् ।

आरजु राणा र उनका भाइ भुषण राणालाई खुशी पारी चलखेल गरेर आईजीपी बनेका सिंहले प्रहरीमा ३० वर्षे सेवा हद प्रावधान हटाउने प्रस्ताव सरकार फेरिएपछि सम्भव भएन । तत्कालीन देउवा सरकारले प्रहरी नियमावली २०७१ मा रहेको ३० वर्षे सेवा हदको प्रावधन हटाउन पहल गरेपछि अर्थमन्त्रालयले सहमति दिइसकेको थियो ।

अर्थको सहमतिपछि गृहमन्त्रालयले कानुन मन्त्रालय र लोकसेवा आयोगमा फाइल अगाडि बढाउने प्रकृया थालेको थियो । यही परिवेशमा देउवा सरकार ढलेर पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सरकार गठन भयो । फाइल अगाडि बढाउन आग्रह गर्दै आईजीपी धीरजप्रताप सिंह, एआईजीहरु उत्तमराज सुवेदी, दिवेश लोहनी, सहकूल थापा र पूजा सिंह तथा डिआईजीहरु दिपक थापा र टेकप्रसाद राईको टोली गृहमन्त्री लामिछानेलाई भेट्न गत शुक्रबार सिंहदरबार छिरेको थियो ।

गृहमन्त्रालय पुगेको आईजीपी नेतृत्वको टोलीले ३० वर्षे सेवा हद प्रावधानका बेफाइदाबारे गृहमन्त्री लामिछानेलाई ‘कन्भिन्स’ गर्ने प्रयास गरेका थिए । प्रहरी अधिकृतका कुरा सुनिसकेपछि गृहमन्त्री लामिछानेले प्रहरीमा ३० वर्षे सेवा हद प्रावधानबारे आफू जानकार रहेको र यो फाईल यसअघिको सरकारलाई नगद बुझाएर अगाडि बढाइएकाले अहिलेलाई यँही ‘टपिक क्लोज’ गर्न आग्रह गरेका थिए । गृहमन्त्री लामिछानेको कुरा सुनिसकेपछि आईजीपी सिंहको टोली रातो मुख लगाएर मन्त्रालयबाट बाहिरिएको थियो ।

झन्डै २५ करोड रुपैयाँ बुझाएर एआईजी भएको एक महिनामै आईजीपी बनेका सिंहले ३० वर्षे उमेर हदको प्रावधान हटाएर कार्यकाल बढाउने सपना देखेका थिए । उनको सपना पूरा हुने लगभग पक्काजस्तै भएपछि गत मंसिर १३ गते जाउलाखेलस्थित भुषण राणाको घरमा पुगेर आईजीपीले करोडौं रुपैयाँ बुझाइसकेको चर्चा त्यसै बेला चलेको थियो । अर्थमन्त्रालयबाट सहमति आएसँगै उनी नगद बुझाउन राणाको घरमा पुगेको बताइएको छ ।

गृह मन्त्रालयले अगाडि बढाएको प्रक्रियामा ३० वर्षे सेवा अवधि हटाउने र एआईजीको उमेर हद एक वर्ष बढाएर ५७ वर्ष बनाउने तथा आईजीपीको पदावधि एक वर्ष घटाएर ३ वर्ष कायम राख्ने प्रस्ताव गरिएको थियो । यी प्रावधान कार्यान्वयनमा आएको भए सिंह २०८२ बैशाख १८ गतेसम्म आईजीपी रहने थिए । अहिलेको व्यवस्थाअनुसार सिंहले आगामी चैत १० गते अवकाश पाउँदैछन् ।

३० वर्षे सेवा अवधि हटेको भए हालका एआईजीहरुमध्ये सहकुल थापाले २०८१ मंसिर, उत्तमराज सुवेदीले २०८१ कात्तिक, दिवेश लोहनीले २०८१ असोज र पूजा सिंहले २०८० फागुनमा अनिवार्य अवकाश पाउने थिए । उनीहरु एआईजीको ५ वर्षे पदावधिभन्दा पहिला ५७ वर्षे उमेर हदका कारण अवकाशमा जाने थिए ।

नेपाल प्रहरीमा आफू नेतृत्वमा पुगेपछि पदावधी लम्बाउने कसरत विगतदेखिका आईजीपीहरुले गर्दै आइरहेका छन् । राजनीतिक नेतृत्वलाई प्रभाव पार्नेदेखि नगद बुझाउनेसम्मको हर्कत गरे पनि सफल हुन भने सकेका छैनन् । नेपाल प्रहरीको नेतृत्वले पदलोलुपताको पराकाष्ट नाघ्ने निरन्तरतालाई हालका आईजीपी धिरजप्रताप सिंहले पनि कायम राखेका हुन् ।