काठमाडौं । कर्नाटकको यू-१९ टोलीसँगको चौथो अभ्यास खेलमा यू-१९ नेपाली क्रिकेट टोली ५ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १ सय ६ रनको लक्ष्य कर्नाटकको टोलीले ३७ ओभरमा ५ विकेट गुमाएर भेटायो । कर्नाटकका अक्षत प्रभाकरले २४ रन बनाए । नेपालका सन्तोष यादवले ३ विकेट लिए ।
यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाली युवा टोली ३५ ओभर १ बलमा अलआउट भयो । नेपालका मयन यादवले ३४ र रोशन विकले नटआउट ३४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कर्नाटकका अक्षत प्रभाकरले ५ विकेट लिए ।
कर्नाटकको जीतसँगै पाँच खेलको शृङ्खलामा २–२ को बराबरी भएको छ । पहिलो खेलमा कर्नाटक विजयी भएको थियो भने दोस्रो खेल नेपालले जितेको थियो । यस्तै तेस्रो खेलमा नेपाल विजयी भएको थियो । शृङ्खलाको अन्तिम खेल पर्सि बिहीवार हुनेछ ।
प्रतिक्रिया