कांग्रेस सभापति शेरबहादुर देउवाको साथ जसरी माओवादी अध्यक्ष दाहालले छोडे त्यसैगरी देउवाले दाहाललाई संसदमा विश्वासको मत दिए । दुवै निर्णय अनपेक्षित नै थिए । यति छिट्टै दाहाल देउवाबाट भाग्लान् भन्ने पनि थिएन, साथै देउवाले विश्वासको मत प्रदान गर्छन् भन्ने पनि थिएन । यी घटना राजनीतिमा सरोकार राख्ने सामान्य मानिसका नजरमा स्वार्थी, अवसरवादी र खुराफाती कर्म हुन् । त्यसैले भनिएको होला राजनीतिमा असम्भव र नाजायज भन्ने जिन्सी हुँदैन । खेल खेल्ने र अनेकौं तिकडम गर्नेहरुलाई नै सफल भनिन्छ यहाँ ।
सम्बन्धको दृष्टिकोणले ओली–दाहाल सम्बन्ध सबैभन्दा कटु बुझिन्छ र सुनिन्छ । तर, एक आपसका पनि छिटै मिलन हुन्छ कि सामान्यजनले ठीक बेठीक खुट्याउन नै पाउँदैनन । ध्यान अन्यत्रै मोड्ने कलामा ओली–दाहाल पारंगत नै छन् । लिङदेनदेखि लामिछानेसम्मको सम्बन्धको गहिराई र क्षितिज बुझिनसक्नु छ । विश्वासको मत दिने देउवाको निर्णय कम रहस्यमय पक्कै छैन । सत्ता राजनीतिले बढाएको स्खलनको लेखाजोखा र हिसाबकिताब राख्न नै नसकिने छ । त्यसमा दुई छिमेकीहरुको स्वार्थ चासो र व्यवस्थापनले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । सिधै, प्रत्यक्ष, अप्रत्यक्ष सुनिने, देखिने, बुझिने, नबुझिने सबै किसिमका उपकरणहरु प्रयोग भएका छन् । मिलाउने, फुटाउने, चोइट्याउने, एक बनाउने तर बलियो हुन नदिने रणनीतिकारहरु सशक्त र प्रभावशाली देखिएका छन् । विदेशी भएका नेपाली मूलका नागरिकदेखि यान्त्रिक र तान्त्रिक सबै समूहका कम्युनिष्ट, कांग्रेस खेलाउने सक्ने अनैतिक पात्रहरु नै नेपाली राजनीतिमा स्थायी भएका छन् । मतदाताहरुको छनोटमा पार्न असफलभन्दा खराब नै परेका छन् । जसले जे जति प्राप्त हुन्छ हात्ताहात्ती उपलब्ध गराउँछ, उसकै पक्षमा उभिने दासहरुको झुन्डमा राजनीति रुपान्तरिक भएको छ । असहमति राख्ने व्यक्ति तलदेखि नै असान्दर्भिक भएको छ ।
नेपाली कांग्रेस पुरानो लोकतान्त्रिक पार्टी भएकाले यसप्रति आस्था र विश्वास राखेर मतदान गर्ने स्थायी मतदाताहरुको संख्या उल्लेख्य छ । नेतृत्व जति खराब भए पनि उसको निर्णय जति नै अलोकप्रिय, अलोकतान्त्रिक, मूल्य र मान्यता विपरितको भए पनि स्वीकार गरिदिने प्रचलन पनि छ । अन्तकतै जाने ठाउँ नभएका, विश्वासनीय दल र नेतृत्वको अभावले पनि होला कांग्रेसकै पक्षमा उभिने र मत दिने संख्या राम्रै छ । त्यसको दुरुपयोग नेतृत्वले निरन्तर गर्दै आएको छ । यसका बाबजुद सैद्धान्तिक रुपमा लोकतान्त्रिक व्यवस्था र आदर्शप्रति नेपाली कांग्रेस अविचलित भएकैले मानिसको आस्था एवम् विश्वास कायम रहेको देखिन्छ ।
दाहाल नेतृत्वको सरकार ओलीको रबर स्ट्याम नै हुने हो । केही अपेक्षा छैन । त्यसमा विश्वासको मत दिएर कांग्रेसले ओलीलाई संशकित बनाइदिएको छ । दाहाल भरपर्दो व्यक्ति मानिदैनन् । आफ्नो अनुकूलताको निम्ति कहिले कोसँग कहिले कोसँग लगनगाँठो बाधिरहन्छन ।
ठीक बेठीक जे भए पनि पृथ्वी जयन्तीमा विदा दिने निर्णय कांग्रेस नेतृत्वको सरकारले गरेको भए यहाँ व्यापक विरोध हुन्थ्यो । कम्युनिष्टदेखि सञ्चारमाध्यम, जनजाति समूहदेखि गणतन्त्रवादी र सरोकारवालाहरुको विरोध थामी नसक्नु हुन्थ्यो । तर कम्युनिष्ट नाउँको सरकारले गरेको हुँदा विरोधको स्वर ठूलो सुनिएन । स्वार्थ र सत्ताको लागि राजेन्द्र लिङ्देनको माग पूरा गराउने दाहाल–ओली गठबन्धनको सरकारप्रति विरोधको आवाज नै सुनिएन । रेशम चौधरीलाई जेलमुक्त गराउने आश्वासनका बारेमा कोही बोलेको सुनिएन । देउवाको नेतृत्वमा यस्तो निर्णय वा प्रतिबद्धता आएको भए थाम्नै नसक्ने आलोचना आउथ्यो, हुन्थ्यो । यस अर्थमा पनि उत्तरदायी राजनीतिक दल र यसको नेतृत्वप्रति नेपाली समाज बढी आलोचनात्मक हुने गरेको छ । अन्य सरकार निर्णयभन्दा देउवाको दाहाललाई विश्वासको मत प्रदान गर्ने निर्णय बढी विवादास्पद र आलोचनात्मक हुनुको कारण पनि सम्भवतः यही नै हो ।
दाहाल नेतृत्वको सरकार ओलीको रबर स्ट्याम नै हुने हो । केही अपेक्षा छैन । त्यसमा विश्वासको मत दिएर कांग्रेसले ओलीलाई संशकित बनाइदिएको छ । दाहाल भरपर्दो व्यक्ति मानिदैनन् । आफ्नो अनुकूलताको निम्ति कहिले कोसँग कहिले कोसँग लगनगाँठो बाधिरहन्छन । उनलाई सम्बन्धविच्छेद नगरी अरु कसैसँग विवाह बन्धनमा बाँधिने छुट छ । अर्थात् यस्तो नैतिक चारित्रिक र सांस्कृतिक प्रश्न उनका लागि गौण हो । प्राथमिक र महत्वपूर्ण कुरा सत्ता हो । सत्ता जनताको अपेक्षा पूरा गर्ने, सेवा सुविधा विस्तार गर्ने, देशको प्रतिष्ठा बढाउने उद्देश्यमा आधारित छैन । अन्तर्राष्ट्रिय जगतमा पनि सम्बन्ध सन्तुलित मान्दिैन । छिमेकी भारत र चीनकै बीचमा पनि विश्वासभन्दा अविश्वास र आशंका बढाउने काम हुन्छ । अनुकूलताका निम्ति कहिले उत्तर, कहिले दक्षिण ढल्कने दाहालको चरित्रसँग सबै परिचित नै छन् । आर्थिक रुपमा पनि पारदर्शी र अनुशासित छैनन् ।
विवादस्पद ठेकेदारको घरमा बसेर उनलाई संरक्षण गर्ने उनको चरित्र देखिएको हो । भ्रष्टाचार र अनियमिततामा पनि उनको नाम जोडिएकै छ । ओलीले लगाएको आरोप होस् वा उनका सहयात्री बाबुराम भट्टराईले लगाएको अभियोगकै विषयमा किन नहोस् दाहालले सफाइ दिन र लिन सकेका छैनन् । उल्टै तिनै व्यक्तिहरुसँगको सम्बन्ध व्यापक बनाएका छन् । पार्टी एकतादेखि सत्ता गठबन्धनको सिलसिला हेर्दा दाहालसँग आश राख्ने ठाउँ अति कमजोर देखिन्छ । अहिले त उनी निरीह प्रधानमन्त्री छन् । ओलीले दौरा सुरुवाल लगाएर सपथ ग्रहणमा पठाएपछि दाहाल साँच्चै घर पालुवा बिरालो नै भएका छन् । उनले मुसा मार्नेसम्मको पनि हैसियत राख्दैनन् भन्ने निश्चित छ । बफादार घर पालुवाको हैसियत कायम गरेर नै उनको बहिर्गमन हुन्छ वा यो वा त्यो तर्क वा आरोप लगाएर हुन्छ भन्ने मात्र हो ।
देश र जनताले सम्झने, स्मरण गर्ने र चुकचुकाउने कुनै एउटा उल्लेखनीय काम वा उपलब्धी हासिल हुने छाँटकाँट छैन । ओलीको निर्देशनमा दौरा सुरुवाल लगाउनेदेखि पृथ्वी जयन्ती मनाउने, विदा दिने आदि इत्यादि निर्णयमा नै दाहालको अन्तिम हुनेछ । कतै राष्ट्रपति निर्वाचनमा कांग्रेसको पक्षमा उभिए वा देखिए भने यात्रा छोटिने निश्चित नै छ । ओली कति सकिन्छ आफूले गर्न नसक्ने, नमिल्ने, अलोकप्रिय किसिमका निर्णयहरु छिटोभन्दा छिटो दाहालबाट गराउन चाहन्छन् । त्यसकै निम्ति निमेषभरमा दाहाललाई स्वीकारिएको हो भन्ने यथार्थता छर्लङ्ग नै त छ नि !
प्रतिक्रिया