प्रदेश १ मा कृषि उद्यमलाई लक्षित गर्दै ‘आध्यन्त एक्सिलेरेटर कार्यक्रम’ सुरु, आवेदन खुला

प्रदेश १ मा कृषि उद्यमलाई लक्षित गर्दै ‘आध्यन्त एक्सिलेरेटर कार्यक्रम’ सुरु, आवेदन खुला


ग्लोब नेपाल
378
Shares

काठमाडौं । प्राइभेट इक्विटी एवम् भेन्चर क्यापिटल कोष संचालक आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेड र सहज–एनएएमडीपी (नेपाल कृषि बजार विकास कार्यक्रम) को मुख्य साझेदारीमा प्रदेश १ मा उच्च वृद्धिको सम्भावना भएका कृषि उद्यमहरूलाई लक्षित गर्दै “आध्यन्त एक्सिलेरेटर कार्यक्रम” विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै सुरुवात गरिएको छ ।

विराटनगरस्थित बिग होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उद्योग वाणिज्य महासंघ केन्द्रिय कार्यकारिणी समिति सदस्य तथा प्रदेश उपाध्यक्ष राजेन्द्र राउत, प्रदेश कृषि मन्त्रालयका उपसचिव पशुपति पोखरेल, प्रदेश लगानी प्राधिकरणका सिइओ डा. सरोज कोइराला, सहज कार्यक्रमका टिम लिड रिक भान डेर क्याम्प र आध्यन्तका संस्थापक मनोज पौडेलले मन्तव्य व्यक्त गरेका थिए ।

साथै प्रदेश न. १ मा लगानी प्रवर्द्धनका लागि प्रदेश लगानी प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १, सहज परियोजना र आध्यन्त बीच औपचारिक समझदारी गर्ने प्रक्रिया अगाडी बढेको अष्मिता गौतमले जानकारी गराइन् ।

कार्यक्रमको प्राथमिक लक्ष्य प्रदेश १ का कृषि व्यवसायहरूको क्षमता बढाई उनीहरूलाई थप लगानी प्राप्त गर्नका लागि पूँजीमा पहुँच पुर्याउन सहयोग गर्नु रहेको छ । एक्सेलरेटर कार्यक्रमले कृषिमा आधारित उद्यमीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि आवश्यक स्रोत–सामाग्री र व्यवसायिक परामर्श प्रदान गरी लगानीयोग्य बन्न मद्दत गर्नेछ । कार्यक्रमले कृषि–उद्यमीहरूलाई व्यवसायिक वृतमा तथा वृत भन्दा बाहिर रहेका उद्योगी–समुदायसँग सम्पर्क विस्तार गर्न मद्दत हुनुका साथै थप रोजगारी सिर्जना गर्न मद्दत गर्ने उद्देश्य राख्दछ ।

आध्यन्त एक्सिलेरेटर कार्यक्रम नेपालमै पहिलो पटक राजधानी बाहिर, प्रदेश १ लाई केन्द्रित गरेर हुन लागिरहेको हो । यसबाहेक नेपालमै पहिलो पल्ट सार्वजनिक निजी साझेदारीको मोडलमा एक्सिलेरेटर कार्यक्रम सञ्चालन हुन गइरहेको र प्रदेश सरकारको तर्फबाट प्रदेश लगानी प्राधिकरण, निजी क्षेत्रको सबैभन्दा ठूलो र साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ लाई समेटीएको छ ।

कार्यक्रमले उद्यमीहरूलाई व्यवसायिक पर्यावरणभन्दा बाहिरको सहयोग र स्रोतहरूको साथै सम्बन्धित क्षेत्रका विशेषज्ञ र सल्लाहकारहरूको बृहत सञ्जाल सम्म पहुँच समेत प्रदान गर्नेछ ।

आवेदनका लागि मिति २०७९ माघ ४ गते देखि १८ गते सम्म खुला गरिएको छ ।

आध्यन्तको बारेमाः
आध्यन्त नेपालमा स्टार्टअप संस्कृति तथा व्यवसायिक वातावरण प्रवर्द्धनमा काम गरिरहेको प्राइभेट इक्विटी एवम् भेन्चर क्यापिटल कोष संचालक संस्था हो। आध्यन्तले उद्यमी र उद्यमहरूका लागि पूँजी परिचालनको नयाँ प्रणालीको सुरुवात गर्ने उद्देश्य राख्दछ। यसले लगानीलाई उद्यमीहरूको पहुँचमा ल्याएर सँगै जोखिम मोल्ने र व्यवसायको हरेक चरणमा उनीहरूलाई सहायता प्रदान गर्दै नेपालको सबैभन्दा ठूलो र प्रभावकारी कोष परिचालन प्लेटफर्म बन्ने लक्ष्य राखेको छ। यसका साथै लगानीलाई सुलभ र आकर्षक बनाएर नेपाललाई मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने तर्फ समेत आध्यन्तले काम गरिरहेको छ ।