नीमको विरुवा रोपेर आँप फल्दैन है, साथीहरु !

नीमको विरुवा रोपेर आँप फल्दैन है, साथीहरु !



अभिन्न मित्रहरुको आग्रह टार्न नसक्ने कमजोरीबाट ग्रसित छु । साथीहरुको आग्रह छ कि नेपाल डेमोक्रेटिक लयर्स एसोसियसनको अधिवेशनको तिथिमिति आएको छ, यो अधिवेशनमा तपाईंको कस्तो प्रस्तुति हुन्छ, कसरी अधिवेशन सम्पन्न होस् भन्ने चाहनुहुन्छ, कस्तो नेतृत्वको अपेक्षा छ वा तपाईंको नेतृत्वमा दाबी रहन्छ वा रहँदैन ? यो संस्था कुन रुपमा अगाडि बढ्न्पर्छ, के कस्तो अवस्थाबाट गुज्रियो, के कस्तो सन्देश दिएको छ ? संस्थालाई आजसम्म के कुन रुपमा प्रयोग गरियो ? चाहेर नचाहेर इच्छाले अनिच्छाले, बाध्यताले हामी यही छौं, यसको मूल लक्ष्य र विचार के हो, उक्त मार्गमा ल्याउन के कस्तो भूमिका निर्वाहा गर्नु आवश्यक छ ? कम्तीमा यस विषयमा आफ्नो धारणा राख्ने उपयुक्त समय यही भएकोले केही बोल्ने, लेख्ने काम गर्नुप¥यो, दाबी भए प्रस्तुत गर्नुप¥यो भन्ने शुभेच्छुकहरुको सल्लाहबाट उम्कने सम्भावना नभएकाले यसरी प्रस्तुत भएको छु–

वास्तवमा ‘डेमोक्रेटिक लयर्स एसोसियसनको स्थापनाको मूल लक्ष्य र उद्देश्य लोकतान्त्रि शासन प्रणालीको मूल मर्म, भावना र उद्देश्य बमोजिम शासन व्यवस्था, चरित्र निर्माण, संस्थाको विकास, कानुनको शासन र मानवअधिकारको संरक्षण र सुनिश्चितता नै हो । यसको लागि स्वतन्त्र, सक्षम र उत्तरदायी न्यायापालिकाको परिकल्पना, प्रवद्र्धन तथा विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु, यसका निम्ति यस संस्थासँग आबद्ध भएका सदस्यहरुले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न सक्षमता प्रदर्शन गर्न सक्नुपर्छ भन्ने नै स्थापनाकालका संस्थापकहरुको मुख्य चाहना थियो । त्यसकै लागि लोकतन्त्र र न्यायपालिकाको अन्योन्याश्रित सम्बन्धलाई विधिशास्त्रीय मान्यताका साथ बौद्धिक वहस, छलफल आवश्यक पर्दा हस्तक्षेप गर्न सक्ने शाहसिक, निर्भिक, इमान्दार र असल नेतृत्वको विकासको मार्गचित्र कोरिएको हुनुपर्छ ।

कहिकतै वैचारिक एवम् राजनीतिक आस्था र विश्वासका कारण देशको लोकतान्त्रिकरणको महान यात्रा तथा न्यायापालिकाको स्वतन्त्रता, सक्षमता र निष्पक्षतामाथि प्रहार हुन्छ कि भन्ने सवालमा सतर्कतापूर्वक आफ्नो भूमिका अदा गर्न सकोस् भन्ने अपेक्षा राखिएको थियो । यस संस्थासँग आबद्ध सदस्यहरुले कम्तीमा लोकतन्त्र र न्यायपालिकाको सम्बन्धका बारेमा राम्रो जानकारी राख्न् र त्यसमा बाधा व्यवधान देखियो, सत्ता स्वार्थ, उन्माद र शासकीय अक्षमताका कारण जनताका आधारभूत मौलिक तथा मानवअधिकारमाथि हस्तक्षेप, अतिक्रमण र अन्याय हुन नपाओस् भन्नेतर्फ विशेष ध्यान पु¥याउन, त्यसका निम्ति आफूले रुचाएको र मतदान गरेको दव वा नेतृत्व नै भए पनि ऊसँग गम्भीर असहमति राखी सही मार्गमा आउन, ल्याउन भूमिका निर्वाहा गरोस् भन्ने उद्देश्य राखिएको हो ।

तर हरेक परिवर्तनपश्चात् लोकतन्त्र यसका मूल्य मान्यता, न्यायपालिका, यसको स्वतन्त्रता र निष्पक्षता तथा मानवअधिकार एवम् मौलिक अधिकारमाथि कुनै न कुनै किसिमले हस्तक्षेप, अतिक्रमण र अपहरण हुँदासमेत यस संस्थाले खेल्नुपर्ने भूमिका खेल्न नसकेको तीतो यथार्थता हामी सबैले महसुस गरेका छौं । डिएलएलाई प्राज्ञिक संस्थाको रुपमा विकास गरेर उद्देश्यअनुरुपका विषयहरुमा व्यापक छलफल, बहस, चिन्तनमनन र आवश्यक परेको बखतमा हस्तक्षेप गर्न सक्ने सक्षम संगठनको रुपमा विकास गर्नुपर्नेमा खास खास व्यक्तिको व्यक्तिगत स्वार्थ पूरा गर्ने भ¥याङको रुपमा कसैको तेजोबध गर्ने साधनको रुपमा खास खास व्यक्तिको चाकरी गर्ने औजारको रुपमा न्यायाधीश बन्ने बनाउने र सिफारिस गर्ने, महान्यायधिवक्ता बन्ने बनाउने हुँदा राजनीतिक दलको झोले संगठनको रुपमा प्रयोग गर्दै नेताहरुको जन्मदिनको शुभकामना दिने, स्वास्थ्यलाभको कामना गर्ने, जन्म, मृत्यु तथा आर्यघाटको कार्यक्रमको जानकारी गराउने जस्ता सामान्य कर्महरुमा सीमित बनाउने काम गरियो ।

संस्थाको साँख गिर्दागिर्दा समयमा नै अधिवेशन नगराउने, कार्यकाल डबल समयभन्दा बढी लम्ब्याउने, नेपाल बारका आफ्ना रुचाइएका ब्व्यक्तिहरुलाई प्रस्तुत गर्ने, नेता र न्यायाधीश, सेवाग्राही र न्यायाधीशको सेतुको काम गर्ने, सरुवा बढुवा, नियुक्तिमा ध्यान पु¥याउने, नेताहरुको घरघर चहार्ने, यसलाई नबनाउनुस खराब छ, तपाईंको विरोधी हो, समर्थक हो, यो गुटको हो त्यो गुटको हो भन्दै लेख्न र बोल्न पनि नमिल्नेसम्मको कर्म र कुकर्महरुमा अभ्यस्त भएको देखिन्छ ।

कुन उद्देश्यले केका लागि र किन स्थापना भएको हो भन्ने जानकारीसम्म नभएका एक पेज वक्तव्य लेख्न, जारी गर्न नसक्नेहरु नेतृत्व तहको दाबी पेस गरिरहेका छन् । किन नहुने भन्दा, न्यायाधीश हुने, सम्बन्ध बनाउने, नेतासँग नजिक हुने, अवसर लिने, भागवण्डा र लेनदेन, मुद्दामामिला मिलाउने, गिरोहसँग निकट हुने आदि इत्यादिका लागि नेतृत्वमा पुग्ने । यसको लक्ष्य उद्देश्य र मर्मभन्दा व्यक्तिगत स्वार्थ र चाहनाबाट प्रेरित भएर यथास्थितिबाट लाभ उठाउने सोच, चिन्तन र मानसिकताले सक्षमता, योग्यता सिर्जनशीलतातर्फ कसैको दृष्टि नै गएको छैन । विचारमा कार्यक्रममा उद्देश्यमा र लक्ष्यमा छलफल चलाउने कोही तयार छैन । दलको कुन गुटको, कुन नेतासँग सम्बन्ध बढाएर हैकम चलाउने सोच र चिन्तनले अधिकांश व्यक्तिहरु निर्देशित देखिन्छन । कोसँग कसरी, किन प्रतिस्पर्धा गर्ने भन्ने गम्भीर प्रश्न खडा भएको छ ।

व्यक्तिगत रुपमा केही प्राप्तिका अनन्य सम्भावना छोडेर स्वतन्त्र निर्भिक र हस्तक्षेपकारी भूमिका निर्वाहा गर्ने मनस्थितिमा रहेको म र मजस्ता साथीहरुको लागि महँगो, खर्चिलो र भद्दा अधिवेशनप्रति कम नै रुचि होला । चियापानदेखि मध्यपान, बाटो खर्चदेखि अधिवेशन स्थलसम्मको व्यवस्थापन हेर्नुपर्ने, गर्नुपर्ने, खुवाई पियाइको सम्पूर्ण बन्दोबस्तले नेतृत्व हत्याउने, कुअभ्यास गर्न गराउन रुचाउने वर्ग र निर्मम समीक्षा गरी संस्थालाई यसको लक्ष्य र उद्देश्यमा फर्काउने वर्गको लडाइँ निश्चय नै कठिन छ । बागमति प्रदेशको राजधानी हेटौडामा फागुन ६ र ७ गते अधिवेशन भएमा उपस्थित हुने प्रतिनिधिहरुले यो संस्थालाई कस्तो बनाउने सोच राख्नु भएको छ ? यथास्थितिको निरन्तरता वा यसको रुपान्तरण ? अवसरको लागि आउने, जाने भूतपर्व, पूर्व हुने, अधिवेशनमा मञ्च पाउने पिकनिक मनाउनेका लागि जमघट ठीकै छ । होइन, सुधार हुनुपर्ने, गर्नुपर्ने विषयहरु छन् भन्ने विचार पु¥याउनुपर्छ । देशभरका साथीहरुले गम्भीरता देखाउँदै सच्चाउने, सच्चिने प्रतिबद्धता देखाउनु भएमाा संस्थालाई उद्देश्यामा केन्द्रित गारउने भूमिकामा आफूलाई प्रभावकारी गराउन सकिन्छ ।

समयमा ख्याल राखौं– नीम रोपेर आँप फल्दैन । पछि आँप फलेन भनेर गुनासो गर्नुको कुनै अर्थ छैन । त्यही नीमको बोटले फ्याक्ने अक्सिजनमा चित्त बुझाउनुपर्छ । एकपटक सबैले मनन गरौं । हामीमाथि प्रश्नैप्रश्न छन् । चारैतिर असफलता हात लागेको छ । हामीले खेल्ने भूमिकाले महत्वपूर्ण अर्थ राख्छ । तर कस्तो भूमिका ? हस्तक्षेप पूर्णकी यथास्थितिवादी ?