को हुन् नवनिर्वाचित उपसभामुख इन्दिरा ?

को हुन् नवनिर्वाचित उपसभामुख इन्दिरा ?


ग्लोब नेपाल
162
Shares

इन्दिरा राना मगरको जन्म २०२७ सालमा झापाको शनिश्चरे–६ सालबारीमा भएको हो । उनी बुबा प्रतापसिंह र आमा मनमाया मगरकी कान्छी छोरी हुन् । इन्दिरा स्विडेनको ‘वल्र्डस चिल्डेन्स फाउन्डेसन’ ले दिने ‘वल्र्डस चिल्डेन प्राइज’ को बल्र्ड चिल्ड्रेन प्राइज २०१४ अनरी अवार्ड विजेता बन्न सफल भइसकेकी छिन् । इन्दिरा बन्दि अभिभावकका बालबालिकाको शिक्षादिक्षामा काम गर्ने ‘प्रिजनर्स एसिस्टेन्स नेपाल’ संस्थाकी अध्यक्ष हुन् । अभावपूर्ण बाल्यकाल बिताएकी इन्दिरा ११ वर्षमा एकैपटक पाँच कक्षामा भर्ना भएकी थिइन् । २०५३ मा स्नातक गरेर समाजसेवामा लागेकी हुन् ।

समाजसेवाको यात्रा
इन्दिराले महिला कारागारमा साक्षरता अभियान चलाएर समाजसेवा यात्रा शुरु गरेकी हुन् । विभिन्न कारणले कारागारमा थुनिन पुगेका बालबालिकालाई पालनपोषण र शिक्षादिक्षा प्रदान गर्ने उद्धेश्यले आफ्नै आश्रयमा हुर्काउने निधो गरिन् । त्यसपछि बालबच्चालाई कारागारबाट निकालेर आफूसँगै राख्न र पालनपोषण गर्न थालिन् । सुरुमा उनले आफ्नै कोठामा ल्याएर बालबच्चा हुर्काउन थालिन् । तर, धेरै बच्चालाई आफ्नो कोठामा मात्र हुर्काउन असम्भव भएपछि उनले शिशु स्याहार केन्द्र सञ्चालन गरेर संस्थागत रूपमै यस कार्यलाई अगाडि बढाइन् । त्यसपछि उनले बन्दी सहायता नेपाल नामक संस्था खोलेर यस अन्तर्गत काठमाडौं लगायत पाल्पा र झापामा बालगृह स्थापना गरिन् ।

त्यो संस्थाले यस्ता बालबच्चा खोजी–खोजी ल्याएर उनीहरुलाई पालनपोषण गर्दै पढाइ, लेखाइ र पारिवारिक मेलमिलाप समेत गराउने गरेको छ । यो संस्थाले कैदमुक्त भएकालाई पनि आश्रय दिँदै आएको छ । त्यस्ता व्यक्तिहरूलाई मानसिक परामर्श दिने र रोजगारीको अवसर खोजिदिने काम पनि गरिरहेको छ ।

हजारौं बालबालिकाकी आमा
इन्दिराले समाजसेवा बापत सन् २००५ मै अशोक फेलो जितेकी थिइन् । उनले काठमाडौंको नयाँबजारको बाल आवासगृहमा २८, साँखुमा ८६ र झापाको खुदुनाबारीस्थित बालगृहमा १० बालबालिकाको लालनपालन गरिरहेकी छन् । ती बालबालिकाका लागि उनले जूनकिरी नामका दुई वटा प्राथमिक स्कूल पनि चलाएकी छन् । साँखुको जूनकिरीमा १२२ र खुदुनाबारीमा १०२ बालबालिका पढ्छन् ।

उनले पाल्पा र भक्तपुरमा युथ होम खोलेकी छिन् । सबै ठाउँमा गरेर ४१ कर्मचारी छन् । आवासगृहमा चाहिं ठूलाले साना बालबालिकाको हेरचाह गर्ने नियम बसाएकी छिन् । ठूला दुईको भागमा साना पाँच जना तोकिएको छ ।

उनले ठूला भएकाहरुलाई पेन्टिङ, सिलाई–बुनाई, कृषि जस्ता आयमूलक काम पनि सिकाउने गरेकी छिन् । इन्दिराले कारागारका वयस्क बन्दीहरूलाई पनि सहयोग गरिरहेकी छन् । सरकारले एक शिक्षक दिएको काठमाडौंको महिला कारागारभित्रको प्राथमिक विद्यालयमा इन्दिराले तीन शिक्षकको व्यवस्था गरेकी छिन् । त्यहाँ पढ्ने ६० जना महिला बन्दीलाई कापी, कलम र किताबको जिम्मा पनि उनैले लिएकी छिन् । इन्दिरा आफैंले जन्माएकी एक छोरी मात्र भए पनि उनी अहिले साथमा रहेका १३ महिने अर्जुनदेखि बालबच्चा भइसकेका सयौंको आमा बनेकी छिन् ।

राजनीतिमा प्रवेश
बालबालिकाको मौलिक हककै लागि आफू राजनीतिमा प्रवेश गरेको उनले बताएकी छन् । समाजसेवी भएर काम गर्दा सरकारी कार्यालयमा कागज लिंदै धाउँदा कसैले नसुनेकोले आफू राजनीतिमा होमिएको उनको तर्क छ । हालै सम्पन्न निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट आदिवासी जनजाति क्लस्टरबाट प्रतिनिधिसभाको समानुपातिक सूचीमा परेकी थिइन् ।
कारागारकै बालबालिकाको हकहितको लागि र समाजमा व्याप्त बेथिति विरुद्ध सदनमै आवाज उठाउन राजनीतिमा प्रवेश गरेकी मगर अहिले सदनको उपसभामुख पदमा निर्वाचित भएकी छन् । उनी सत्तारुढ गठबन्धन दलको समर्थनमा उपसभामुख बनेकी हुन् ।