गैंडाको चोरी सिकार : कारण र निवारण

गैंडाको चोरी सिकार : कारण र निवारण



चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर मध्यबिन्दु-२ सेरी नजिक नारायणी नदीको भंगालोमा गत साता २ गैंडा चोरी सिकारीद्धारा मारिए । १५/२० मिटर लामो जिआई तारमा हाई भोल्टको करेन्ट छाडेर गैंडालाई ठाउँको ठाउँ ठहरै मारेको खबर पत्याइनसक्नु छ । किनभने नयाँ प्रविधि अपनाएर गैंडा मारेको गन्ध आउँछ । चिफ वार्डेन नहुनु र गैंडा मार्नुको संयोग बुझिनसक्नु छ । दुर्भाग्य, माउ गैंडालाई थापेको बिद्युतीय धरापमा ४ बर्षको अबोध बच्चो गैंडाको पनि निधन भएको छ । १४ बर्ष कि आमाको खाग सिकारीले काटेर लैजान भ्याएका छन् । अर्को आश्चर्य नेपाली सेनाको सुरक्षा पोष्ट ३५० मिटर टाढा अवस्थित छ । भित्र कोर ईलाकामा सेरी पोष्ट पनि छ ।

यो घटनाले चोरी सिकारीको उच्च हौसला र मनोबलयुक्त निस्फिक्री बिगबिगी संकेत गर्दछ । अझ उनीहरुको चरम हेपाहा प्रबृत्ति देखिन्छ । त्यसको अर्थ सुरक्षा व्यवस्था फितलो र कमजोर छ भन्ने सोझो अर्थ लाग्दछ । जवाफदेहीता मरेको प्रमाण हो यो । अझ बिगतदेखिको क्षति केलाउने हो भने चितवन राष्ट्रिय निकुञ्जमा व्यापक व्यवस्थापकीय र सुरक्षा छिद्र (ग्याप्स् एण्ड ल्याप्सेस्) भेटिन्छ । त्यसलाई लापर्बाही भन्न उपयुक्त हुन्छ । चोरी सिकारीको यो ताजा घटनालाई मुख्य बिषयवस्तु बनाई कारण र निवारण सिफारिस गर्न यो आलेख तयार पारेको छु ।

गैंडा क्षतिको बिगत
सन् १९६८ मा चितवनमा भएको तीव्र बसाई सराईले घना जड्डल अतिक्रमण भएपछि ४ डिजिटको अंक १ हजारबाट गैंडा घटेर १५ को संख्यामा झरेपछि चितवन राष्ट्रिय निकुञ्जको स्थापना भयो र नेपाली सेनाको गैंडा गस्तीले कडा पहरा दिन शुरु गर्‍यो । नेपालबाट गैंडा लोप हुन्छ भन्ने विदेशी विज्ञको भविष्यवाणी गलतसिद्ध भयो र गैंडाको संख्या उत्साहजनक ढंगले बृद्धि हुँदै गयो ।

१० बर्षे जनयुद्धले पुनः गैंडाको ठूलो क्षति भयो । बर्दियाको बबई उपत्यकाबाट बीउ नरहने गरि ७२ गैंडा सफाया भए । चितवनमा दिनहुँ जस्तो गैंडाको चोरी सिकार हुन थाल्यो । र, गोली लागेको जीबित घाईते गैंडाको खाग काटेर लगे महसुर सिकारीले । गैंडाको दिनदहाडै चोरी सिकार बिस्तृत शान्ति सम्झौंता लागू भएपछि र संक्रमणकालमा समेत रोकिएन । निकुञ्जमा काल पल्कियो । सिकारीको आत्मबिश्वास र मनोबल बढेर आकाशमा पुग्यो । मर्ज भै आन्तरिक सुरक्षामा परिचालन भएको नेपाली सेनालाई पुनः प्रकृति संरक्षण जिम्मेवारीमा फर्काउन, पुनर्संगठन गर्न र सुरक्षा सुदृढीकरण गर्न हम्मे हम्मे पर्‍यो । तत्कालीन प्रधानसेनापतिले संगठन निर्बस्त्र र निर्लज्ज भएकोले चोरी सिकार बन्द गरेर देखाउने कडा आदेश दिएपछि फिल्डमा फौज “गर नत्र मर (डु अर डाई)” मिसनमा उत्रियो । परिणामस्वरुप १ बर्षमा शून्य सिकार उपलब्धि हासिल भयो । शून्य सिकारले राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चा, सम्मान र पुरस्कार पाएपछि धेरै बर्षसम्म लगातार शून्य सिकार उपलब्धि हात परिरह्यो ।

२०७२ सालको महाभुकम्प उद्धार प्राथमिकताको बहानाबाजी बन्यो । २०७४ सालमा आएको भीषण बाढी र डुबानले गैंडालाई बगाएर सीमाना कटायो । बासस्थान बिनास भयो । बाँचेका गैंडालाई अकल्पनीय मनोबैज्ञानिक दखल (सक्) पर्‍यो । बर्षेनी ठूलो संख्यामा गैंडाको प्राकृतिक मरण भयो ।

कोभिड महामारीको शान्त समय निकुञ्जहरुलाई बरदान साबित भयो । तर लगत्तै चुलिएको बेरोजगारी र फुर्सदको समयको चोरी सिकारीले फाईदा उठाउन थाले । चोरी सिकारीद्धारा गैंडा लगायतमा दुर्लभ बन्यजन्तु पुनः मारिन थाले । जुनक्रम आजसम्म रोकिएको छैन । र, चितवनको हकमा बढ्दो छ ।

गैंडा क्षतिको कारण
केन्द्रमा राजनीतिक ईच्छाशक्ति छैन । न कानूनी राज्य, बिधिको शासन र ‘चेन अफ कमाण्ड’ ले काम गरेको छ । कुशासन र राजनीतिकरणको सिकार भएको छ संरक्षणको मियो निकुञ्ज प्रशासन । संरक्षणले राष्ट्रिय प्राथमिकता पटक्कै पाएको छैन । केन्द्रको निर्देशन, अनुगमन र नियन्त्रण नभएपछि फिल्ड भुत्ते भएको छ । भ्रष्टाचारले भताभुङ्ग लथालिङ्ग केन्द्र सरकारको सरुवा रोगको जरा फिल्डसम्म फैलिएको छ । “तिमी खोला खाउ, हामी काठ, ढुंगा, गिट्टी, बालुवा खान्छौं” शैलीमा भ्रष्टाचार अघि बढेको छ । यसले टिमबिल्डिङ्ग र टिमवर्क ध्वस्त पार्नुको साथै फिल्ड फ्रन्टलाईन संरक्षणकर्मीहरुको हौसला, मनोबल र आत्माविश्वास मारेको छ । फिल्डलाई घामट बनाएको छ । मद्यवर्ती क्षेत्र र समुदायलाई दुश्मन कित्तामा पुर्‍याएको छ । स्थानीय समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा समूह (सिबिएपियु) लाई निरास, निरीह र निश्क्रिय राखेको छ । सूचना सञ्जाल भत्काएको छ । संरक्षण साझेदार संघ संस्थाहरुलाई तिरस्कृत र तित्तरबित्तर पारेको छ । दाता राष्ट्र र बिश्व संरक्षण समुदायलाई कुशासनको कुचक्र र भ्रष्टाचारले तर्साएको भगाएको अवस्था छ । श्रोत साधन रित्तिएको छ ।

आफूलाई परिचालन गर्ने निकुञ्ज प्रशासन बरालिएपछि र हराएपछि नेपाली सेना समेत निश्क्रिय भएको छ । पुनरसंरचना योजनाले चरम दुबिधामा परेको सेनालाई महाभुकम्प, बाढी, कोभिड, निर्वाचनले थप ब्यबधान पुर्‍याएको देखिन्छ । जनशक्तिको कमी, श्रोतसाधनको कमी, स्थानान्तरणको टाउको दुखाई उसका आन्तरिक समस्या हुन् । ३ खम्बे संरक्षण रणनीतिका २ खम्बा निकुञ्ज प्रशासन र मध्यवर्ती क्षेत्र चरम राजनीतिकरण भै भ्रष्टाचारमा जसको शक्ति उसको भक्तिमा उत्रिएपछि नेपाली सेना आइसोलेसनमा एक्लै कसको लागि किन कसरी संरक्षण गर्ने भन्ने दुबिधामा परेको हुन सक्दछ । अथवा, आफूपनि झाङ्गिएको भ्रष्टाचार र कुशासनको मतियार हुने बिकृतिको बिकल्प रोज्न सक्दछ । जबाफदेहीता हराएको र मरेको कारण यही हुनुपर्दछ । अन्य खुद्रा कारणको फेहरिस्त लामो छ । प्राकृतिक प्रकोप र बासस्थान बिनासको पाटोपनि यहाँ उल्लेख गरिएन । समग्रमा गैंडा क्षतिको दोष सबैको छ । धेर थोर कसको ? भो यहाँ नखुट्याउँ ।

निवारण
क्षति भएपछि पहिला तत्काल क्षति बन्द हुनुपर्दछ । क्षति बन्द हुनासाथ पूर्ति अथवा क्षतिपूर्तालको ग्राफ बढ्न थाल्छ । क्षतिपूर्तालका दीर्घकालीन, मध्यकालीन र अल्पकालीन उपायहरु मध्य यस आलेखमा तत्काल अबलम्बन गर्नुपर्ने सुरक्षात्मक उपायहरु सुझाइएको छ ।

छाता संगठन निकुञ्ज प्रशासनले आफूलाई समन्वय र परिचालन गर्दैन भने आफ्नो उत्प्रेरणादायी र उदाहरणीय समन्वय एवं स्वपरिचालनबाट निकुञ्ज कर्मचारीहरुलाई ईन्टेलिजेन्स र जंगल अपरेसनमा सक्रिय हुन त्यहाँ तैनाथ सेनाले करबल लगाउने । अनिवार्यरुपमा अराजनीतिक, तठस्थ र संरक्षणप्रेमी भएर सुशासन देउ भनेर माग्ने । आदेश, निर्देशन, समन्वय, श्रोतसाधनको प्रतीक्षा गरेर तारबारभित्र मण्डी ओढेर समय खेर नफाल्ने । एक्लै आइसोलेसनमा भएपनि ब्यापक परिचालन हुने र निकुञ्ज सुरक्षालाई सुदृढीकरण गर्ने । प्राकृतिक श्रोतसाधनको उत्खनन्, दोहन, बिनास र बिक्री बितरणलाई कडाईकासाथ अनुगमन र नियन्त्रण गर्ने । २ ट्रिपको पुर्जी बनाएर २२ ट्रिप माल उडाएको भ्रष्टाचारजन्य बिकृति टुलुटुलु हेरेर नबस्ने । सोझै लाछी अथवा मिलिभगत मतियारको आरोप लाग्नेछ । प्रकृतिको पाप र श्रापले सेनालाई डढाउने छ ।

निकुञ्जमा तैनाथ युनिट कमाण्डरहरुको गोष्ठी बोलाएर प्रधानसेनापतिले शून्य सिकार हासिल गरेर देखाउने कडा निर्देशन दिनु बान्छनीय हुने छ । साथै, फिल्ड कमाण्डरहरुलाई सक्षम, सबल, शक्तिशाली बनाउन आवश्यक जनशक्ति र श्रोतसाधन उपलब्ध गराईदिनुपर्ने । दण्डपुरस्कार नीतिले यो आदेश र उपलब्धिलाई रक्षा सम्मान गर्दैजाने । १ बर्षमा उत्साहजनक र सानदार नतिजा प्राप्त हुनेछ ।

सेनाले निकुञ्ज प्रशासनको समन्वय र सहयोगमा आफ्नै जंगल इन्टेलिजेन्स नेटवर्क बनाउने । नेपाल प्रहरीको सिआईबिसंग समन्वय गरि इन्टेलिजेन्सप्रधान गोप्य कोभर्ट अपरेसनहरु गरेर अबैध बन्यजन्तुको माग र आपूर्तिको जरा काटिदिने ।

सुचना प्रविधि (आइटी) अद्यावधिक गरेर ब्यापक प्रयोग गर्ने र संयुक्त अपरेसन कक्षलाई अनिवार्य प्रयोगमा ल्याउने । डग् युनिटलाई अनिवार्य परिचालन र असरदार प्रयोग गर्ने । तर आईटी बुट्स् अन् द ग्राउन्डको बिकल्प होइन । सूचना र जानकारीको अतिरिक्त सेवा सुविधा मात्र हो । हाम्रो भुगोल र मौसमको निगरानी, नियन्त्रण र सरप्राइज हासिलको असरदार माद्यम पैदल गस्ती मात्र हो । साइकलले मोबिलिटी बढाईदिन्छ र ठूलो ईलाका कभर गर्न सकिन्छ । क्विक् रेस्पोन्स र रियाक्सनको लागि भेहिकल तथा र्‍याफ्ट गस्ती अनिवार्य हुनै पर्दछ । आवश्यक तालिम, श्रोतसाधन र प्रेरणा दिएर सिबिएपियुको सशक्त १ लाईन डिफेन्स निकुञ्ज बाहिर बनाउने ।

धेरै स्थायी र अस्थायी गार्डपोष्ट, आइटी र मोबाइल पट्रोलले निकुञ्जलाई अनिवार्य घेर्न र छेक्नै पर्दछ । अबैध घुसपैठ र अतिक्रमणलाई शून्यमा झार्नैपर्दछ । हेक्का रहोस्- शून्य सिकार एरिया डोमिनेसन गरेर सहजै हासिल गर्न सकिन्छ । र, यो उपलब्धि गोली नचलाई हासिल गर्ने सैनिक रणनीति हुनुपर्दछ । कथमकदाचित् ‘चेन अफ कमाण्ड’बाट शून्य सिकारको आदेश आएन भने फिल्ड युनिट र कमाण्डरहरुले स्वबिबेक र स्वनिर्णयमा शून्य सिकारको नारा, रोडम्याप बनाई ब्यापकरुपमा काम गर्नुपर्दछ । बिद्यमान बर्दिया राष्ट्रिय निकुञ्जको देबिदत्त गणको जस्तो । आ-आफ्नो पवित्र निकुञ्जलाई सिकारीरहित, बन्दुक पासो र बिषादीरहित राख्न कही कसैको आदेश कुर्नुपर्दैन ।

नेपाली सेनाको यो उदाहरणीय पहलकदमी र निस्वार्थ त्याग एवम् समर्पणलाई निःसन्देह सबै संरक्षण साझेदार संघ संस्थाहरुले स्वस्फूर्त सहयोगी हात, साथ र काँध दिनेछन् । त्यसमा दुविधा छैन । अरु सुस्ताए सुते भनेर सेनालाई पनि सुस्ताउने छुट छैन । किनभने यो अहोरात्र सतर्क, सावधान र सक्रिय रहनुपर्ने संबेदनशील, जिम्मेवार र जवाफदेही फौज हो ।

निचोड
अन्त्यमा, गैंडाको क्षति शीघ्र रोक्ने र पुर्ताल गर्ने ऐतिहासिक र सफल बिरासत बोकेको संरक्षण खम्बा नेपाली सेनाले पुनः एकपटक थप जिम्मेवार र जवाफदेही भएर संरक्षण भड्खालो पुर्ने धार्मिक अभिभारा पूरा गर्न दत्तचित्तसाथ अग्रसर होस् । त्यही निकुञ्जका पूर्व गणपतिलाई प्रधानसेनापति पाएको संगठनलाई यो एउटा ऐतिहासिक सुवर्ण अवसर पनि हो । ज्ञात होस्- अन्तर्राराष्ट्रिय पुँजी तथा राष्ट्रिय प्रतीक गैंडाको रक्षा कल्याण सम्मान गर्नु जस्तो ठूलो राष्ट्रिय गौरवको आयोजना नेपाली सेनालाई अरु केही हुन सक्दैन ।

सेनाको यो तदारुक अग्रसरता (प्रोएक्टिभ पहलता) ले निकुञ्ज प्रशासनलाई चाबी मार्नेछ । आँखा कान खोलिदिएर तातो लगाउने छ । चोरी सिकारीलाई न्यायको कठघरामा ल्याएर मृत गैंडालाई न्याय दिन दबाब दिनेछ ।

प्रारम्भमा यो अल्पकालीन सुरक्षा उपाय आफ्नै मातृ संगठनलाई सिफारिस गरेर मृत् ती अबोध गैंडाका आमाछोरालाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, अब आइन्दा शून्य सिकार हासिल नभएसम्म अबिश्राम कलम चलाईरहने संरक्षण संकल्प पनि गर्दछु ।

(लेखक राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्षका पूर्व निर्देशक र आइयुसिएनका वर्तमान सदस्य हुन्)