गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नरहने ३ आधार

गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नरहने ३ आधार


ग्लोब नेपाल
4.5k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नरहने तीनवटा आधार प्रष्ट रहेको कानुन व्यवसायीहरुले दाबी गरेका छन् । गृहमन्त्री लामिछानेले सर्वोच्च अदालतलाई बुझाएको लिखित प्रतिउत्तर, नेपाल नागरिकता ऐन २०६३ को दफा १०, ११ र १२ तथा नेपाल नागरिकता नियमावली २०६३ को दफा १०, ११ र १२ अनुसार गृहमन्त्री लामिछानेको नागरिकता कायम नरहने स्पष्ट आधार रहेको अधिवक्ता अनन्तराज लुइँटेलले बताए ।

२०५० साल फागुन १० गते काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट गृहमन्त्री लामिछानेले नेपाली नागरिकता लिएका थिए । २०७० साल फागुन ९ मा उनले अमेरिकी नागरिकता प्राप्त गरेका थिए । उनले त्यही वर्षको फागुन २१ मा पासपोर्ट लिएको अदालतमा पेस गरिएको अभिलेखमा उल्लेख छ ।

२०७१ साल जेठ २२ गते उनी नाता भिसामा नेपाल आएका हुन् । त्यसपछि उनी अमेरिका फर्किएनन् । उनी झन्डै ४ वर्ष अमेरिकी नागरिकता र पासपोर्टमा नेपाल बसेर एक सञ्चारमाध्यममा काम गरे । अमेरिकी पासपोर्ट बोकेर नेपालमा काम गरेपछि नेपाल प्रेस काउन्सिलले लामिछानेविरुद्ध कारबाही अगाडि बढायो । त्यसपछि उनले २०७५ जेठ ४ गते अमेरिकी पासपोर्ट र नागरिकता त्याग गरेको निवेदन अमेरिकी दूतावासमा बुझाए ।

नेपाली नागरिकले विदेशी नागरिकता लिएमा नेपालको नागरिकता रद्द हुने र चाहेको बखत फेरि नेपाली नागरिकता प्राप्त गर्न सक्ने कानुनी व्यवस्था छ । तर त्यसका लागि नेपाल नागरिकता ऐन २०६३ र नेपाल नागरिकता नियमावली २०६३ मा स्पष्ट व्यवस्था छ । अमेरिकी नागरिकता र पासपोर्ट त्याग गरेपछि गृहमन्त्री लामिछानेले नेपाली नागरिकता लिने कुनै प्रकृया अगाडि बढाएको देखिँदैन ।

गृहमन्त्री लामिछाने स्वयम् आफूले सर्वोच्च अदालतलाई दिएको लिखित प्रतिउत्तरमा आफूले अमेरिकी नागरिकता र पासपोर्ट लिएको र पछि त्यागेको स्वीकार गरेका छन् । उनले अमेरिकी नागरिकता र पासपोर्ट लिएपछि नेपाल नागरिकता ऐन २०६३ को दफा १० (क) बमोजिम उनको नेपाली नागरिक स्वतः रद्द भयो । दफा १० को (१) मा भनिएको छ, नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन ।

नेपाल नागरिकता ऐन २०६३ को दफा ११ अनुसार पनि गृहमन्त्री लामिछानेको नागरिकता कायम नरहने स्पष्ट व्यवस्था गरेको छ । दफा ११ मा पुनः नेपाली नागरिकता कायम हुने व्यवस्था छ । उक्त दफाअनुसार कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आइ बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ ।

गृहमन्त्री लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आइ बसोबास गरेका हुन् । उनले विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुने थियो ।

तर गृहमन्त्री लामिछानेले २०७५ जेठ ४ गते अमेरिकी नागरिकता र पासपोर्ट त्यागेका थिए । उनले नागरिकता र पासपोर्ट त्याग गरेकोको निवेदन दूतावासले स्वीकृत गरेको जानकारी असार ६ गते अध्यागमन विभागलाई दिएका थिए । तर नेपाल नागरिकता नियमावली २०६३ को दफा ११ मा पुनः नेपाली नागरिकता कायम गर्ने कार्यविधिको व्यवस्था गरेको छ ।

उक्त कार्यविधिअनुसार ऐनको दफा ११ बमोजिम नेपालको नागरिकता त्यागी विदेश गएको कुनै व्यक्तिले पुनः नेपाली नागरिकता प्राप्त गर्न चाहेमा विदेशको नागरिकता त्यागेको निस्सासहित निजलाई पहिले नागरिकताको प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसमक्ष अनुसूचि ११ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ भनी स्पष्ट व्यवस्था गरेको छ ।

गृहमन्त्री लामिछानेले नागरिकता लिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पुनः नागरिकता प्राप्तिका लागि अनुसूचि ११ बमोजिमको ढाँचामा निवेदन दिएको अभिलेख अहिलेसम्म भेटिएको छैन । त्यसैले उनको नागरिकता कायम रहेको कानुनी आधार कतै देखिँदैन । उनी गैरनागरिक भएकाले उनको सांसद पद कायम नरहने जानकारहरु बताउँछन् ।