राष्ट्रपति निर्वाचनमा एमालेलाई धोका !

राष्ट्रपति निर्वाचनमा एमालेलाई धोका !



रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि आसन्न राष्ट्रपति निर्वाचनमा राष्ट्रिय राजनीति केन्द्रित भएको छ । अब कस्तो समीकरण बन्छ भन्ने आम चासो रहेको छ । पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गर्दैगर्दा राष्ट्रपति र सभामुख निर्वाचनमा एमालेलाई सत्ता गठबन्धनले सहयोग गर्नुपर्ने लिखित सहमति भएको थियो । तर, प्रधानमन्त्री दाहालले संसदमा विश्वासको मत लिँदा नेपाली कांग्रेसले पनि सहयोग गरेपछि त्यहि दिनदेखि सत्ता गठबन्धनबीच भएको सहमतिमा धमिरा लाग्न सुरु भयो ।

सत्ता साझेदार दलहरुबीच भएको सहमति यता, नेपाली राजनीतिले धेरै उतारचढाव व्यहोरिसकेको छ । यो बीचमा संसदमा कांग्रेसले प्रधानमन्त्री दाहाललाई समर्थन गर्‍यो भने रास्वपा सत्ताबाट बाहिरिएको छ, यद्यपि प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता गरेको भने छैन । प्रधानमन्त्री दाहाललाई संसदमा कांग्रेसको समर्थन र रास्वपाको बहिर्गमनले राष्ट्रपति निर्वाचनलाई प्रभावित पारेको देखिन्छ ।

सहमति अनुसार राष्ट्रपतिमा एमालेको उम्मेदवारलाई सत्ता गठबन्धनले सहयोग गर्नुपर्छ भन्ने अध्यक्ष केपी शर्मा ओलीको अडान आजका मितिसम्म दायाँबायाँ भएको छैन । यता, माओवादी केन्द्रले पनि राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्न छाडेको छैन । यही विषयमा प्रधानमन्त्री दाहाल बालकोट जाने र अध्यक्ष ओली बालुवाटार छिर्ने काम दैनिकजसो भइरहेको छ । तर, निष्कर्ष निस्केको छैन, कांग्रेस भने रमिते बनेको छ ।

आजको ठीक महिना दिनपछि देशले नयाँ राष्ट्रपति पाउँदैछ । कुन दलको र को राष्ट्रपति बन्छ भन्ने कुरा बाहिर देखिएको छैन । यद्यपि एमाले र कांग्रेसबाट उम्मेदवार बन्ने लगभग पक्काजस्तै भएको छ । र, माओवादीले जसलाई समर्थन गर्छ, त्यो उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने तथ्यांकमा स्पष्ट देखाउँछ ।

बाहिर एमालेसँग बैठक गरेको देखिएता पनि भित्री रुपमा उसैगरी काँग्रेससँग सम्पर्कमा रहेका दाहालले राष्ट्रपति निर्वाचनमा एमालेलाई धोका नदेलान् भन्न सकिन्न ।

राष्ट्रपतिमा कूल मतभार ५२ हजार ७ सय ७ हो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय ५४ मत आवश्यक पर्छ । कांग्रेससँग १६ हजार २ सय २१ र एमालेसँग १५ हजार २ सय ३३ मतभार छ भने माओवादीसँग ७ हजार ७ सय ४५ मतभार छ । यो परिवेशमा माओवादीको मत निर्णायक बनेको छ । सत्ता गठबन्धनलाई नै माओवादीले सहयोग गरे एमाले निर्वाचित हुने पक्का छ । एमालेको १५ हजार २ सय ३३, माओवादीको ७ हजार ७ सय ४५, राप्रपाको २ हजार ४ सय ५०, जसपाको २ हजार १ सय ४५, रास्वपाको १ हजार ५ सय ८०, मनोनित २ सय २३, नेमकिपा २ सय ३७, स्वतन्त्र १ सय ९४ गरी २९ हजार ८ सय ७ मत प्राप्त हुनेछ ।

अर्को तर्फ, माओवादीले सहयोग गर्‍यो भने कांग्रेस उम्मेदवारको जीत हुने देखिन्छ । कांग्रेससँग १६ हजार २ सय २१, माओवादीको ७ हजार ७ सय ४५, नेकपा (एस) को २ हजार ५ सय ७४, जसपाको २ हजार १ सय ४५, जनमतको १ हजार २ सय ४२, लोसपा ९ सय ९२, उन्मुक्ति ८ सय ९२, जनमोर्चा २ सय ६ र स्वतन्त्र ६ सय ५० मत प्राप्त भए ३२ हजार ६ सय ४६ मत प्राप्त गरी कांग्रेस उम्मेदवार राष्ट्रपतिमा विजयी हुनसक्छन् ।

राष्ट्रपति कसलाई जितायो भने प्रधानमन्त्री दाहालको कुर्सी दीगो हुन्छ भन्ने हिसाबकिताब माओवादीले राम्रोसँग गरेको देखिन्छ । यता, माओवादीले खोजेको ‘राष्ट्रिय सहमति’ के हो भन्ने कुरा एमालेले पनि राम्रोसँग बुझेको छ । संसदमा राष्ट्रपति र सभामुख एमालेलाई बुझाइसकेपछि प्रधानमन्त्री दाहालको हालत के हुन्छ भन्ने कुरा सत्ता गठबन्धनको सुरुका दिनदेखि नै माओवादीले व्यहोरिसकेको छ । यो परिस्थिति बुझेरै अध्यक्ष ओली प्रधानमन्त्री दाहाललाई फकाउने, थर्काउने र घुक्र्याउने तीनवटै अस्त्र प्रयोग गरेर राष्ट्रपतिमा एमाले उम्मेदवारलाई जिताउने प्रयत्न गरिरहेका छन् ।

राष्ट्रपति निर्वाचनमा एमालेलाई माओवादीले धोका दियो भने गठबन्धन टुट्छ भन्ने धेरैले अनुमान लगाएका छन् । तर, यो अनुमान फेल खाने केहि राजनीतिक विश्लेषकहरु बताउँछन् । राष्ट्रपति निर्वाचनमा एमालेलाई माओवादीले धोका दियो भने पनि सत्ता गठबन्धनमा कुनै असर नपर्ने ती विश्लेषकहरुको भनाई छ । सत्ता छोड्नुको पीडा राम्रोसँग अनुभूत गरेका अध्यक्ष ओलीले आफू प्रधानमन्त्री बन्नका लागि सम्झौता भएको अढाई वर्षसम्म पर्खिने उनीहरुको बुझाई छ ।

निर्धारित मितिमा प्रधानमन्त्री दाहालले कुर्सी खाली गरेनन् भने पनि अध्यक्ष ओली सत्ता छाड्ने पक्षमा नदेखिन सक्छन् । एमालेले समर्थन नगर्दा पनि सरकार नढल्ने परिस्थिति सिर्जना भएको र प्रदेशदेखि सघंसम्मको सरकारमा रहेकाले एमालेले सत्ताबाट अलग हुन नचाहेको हो । यता, सत्ताबाट एमाले बाहिरिएला र सरकारमा जाउँला भन्ने कांग्रेसको सपना पूरा हुन नदिने पक्षमा अध्यक्ष ओली देखिएका छन् । पाँच वर्षको अवधिमा कांग्रेसलाई सत्तामा जान रोक्नुमा मात्रै एमालेको सफलता हुने विश्लेषण ओलीले गरेका छन् ।

तर, अहिलेको राजनीतिको मियोको रुपमा प्रधानमन्त्री दाहाल छन् । कांग्रेसको समर्थन पाएपछि ढुक्क देखिएका दाहाल ओलीकै चाहना अनुसार चल्छन् भन्ने छैन । माओवादी केन्द्रको पटकपटक बैठक राखेर राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने भनेर निर्णय गराइसकेका छन् । यसको सिधा अर्थ आफूलाई विश्वासको मत दिएर एमालेको पिंजडाबाट मुक्त गराएको कांग्रेसको गुण तिर्न खाज्नु भन्ने बुझिन्छ । एमाले अध्यक्ष ओलीसँग भन्दा कांग्रेस सभापति शेरबहादुर देउवासँग काम गर्न सहज हुने दाहालले ठानेका छन् । बाहिर एमालेसँग बैठक गरेको देखिएता पनि भित्री रुपमा उसैगरी काँग्रेससँग सम्पर्कमा रहेका दाहालले राष्ट्रपति निर्वाचनमा एमालेलाई धोका नदेलान् भन्न सकिन्न ।