‘तरल राजनीतिक अवस्थामा विदेशी उच्च अधिकारीको भ्रमण उपयुक्त होइन’

‘तरल राजनीतिक अवस्थामा विदेशी उच्च अधिकारीको भ्रमण उपयुक्त होइन’


ग्लोब नेपाल
2k
Shares

नेपालमा पछिल्लो समय अमेरिकी उच्च पदस्थ अधिकारीहरुको भ्रमण बाक्लिएको छ । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु, उपसहायकमन्त्री केल्ली किडरलिङ, अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड र युएस एड (अन्तर्राष्ट्रिय सहयोगका लागि अमेरिकी नियोग) कि प्रमुख सामन्था पावरले नेपाल भ्रमण गरेका छन् । यसरी बाक्लिएको अमेरिकी अधिकारीहरुको भ्रमणले देशको आन्तरिक राजनीतिमा प्रभाव पार्छ या पार्दैन ? यस्तो भ्रमणले नेपाललाई दबाब भयो कि सहयोग ? यिनै विषयमा राष्ट्रसंघस्थित नेपाली स्थायी नियोगका पूर्व स्थायी प्रतिनिधि तथा पूर्व राजदूत डा. शम्भुराम सिम्खडासँग ग्लोब नेपालले कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

अमेरिकी उच्चपदस्थ अधिकारीहरुको बाक्लो नेपाल भ्रमणलाई यहाँले कसरी हेर्नुभएको छ ?
–अमेरिकाको दृष्टिकोणबाट हेर्दा दुई देशबीचको सम्बन्ध अझ सुदृढ गर्ने उद्देश्य हो । यसमा हरेक देशले कुटनीति र परराष्ट्रनीतिलाई सञ्चालन गर्न जाने सद्भाव, समझदारी र सहयोग हुन्छ, सञ्चालन गर्न नजाने प्रभाव, दबाब र हस्तक्षेप हुन्छ । यस्तो भ्रमणलाई हामी कसरी व्यवस्थापन गर्छौं भन्नेमा नै आधारित हुन्छ । दबाब हुने कि सद्भाव हुने हामीमा भरपर्छ । पछिल्लो समयको उच्चपदस्थ अधिकारीहरुको भ्रमणले उनीहरुले हामीसँगको सम्बन्धलाई महत्व दिएका छन् भन्ने संकेत गर्छ । त्यसो हुनाले त्यस्तो अवस्थामा हामीले कसरी प्रयोग गर्न सक्छौं भन्ने नै हाम्रो कुटनीतिक चुनौती हो ।

अमेरिकाले नेपाल भ्रमणलाई महत्व दिनुको कारण के हो ?
–अमेरिका भनेको नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने बेलायतपछिको दोस्रो देश हो । ७५ वर्ष अगाडिदेखि हाम्रो देशसँग दौत्य सम्बन्ध राख्नुको कारण उनीहरुको नेपालमा चाख छ, चासो छ । त्यतिमात्र होइन नेपालको घटनाक्रमले उनीहरुको राष्ट्रिय स्वार्थमा कसरी प्रभाव पर्छ भन्ने चिन्ता छ । यसमा भारतको र चीनको पनि त्यस्तै हो । यसलाई हामीले आफ्नो परराष्ट्र नीति र कुटनीतिक क्षमताको आधारमा कसरी प्रयोग गर्छाैं भन्ने मुख्य मुद्दा हो । हामी चीन र भारतको बीचमा रहेकोले अमेरिका विश्वको शक्ति राष्ट्र भएकोले यहाँ अमेरिका र चीनको सम्बन्ध, भारत र अमेरिकाको सम्बन्ध, भारत र चीनको सम्बन्ध कसरी अगाडि जान्छ भन्नेमा हाम्रो भू–राजनीतिक परिवेशले मुख्य प्रभाव पार्छ । त्यसैले गर्दा यी तिनै देशको हामीमाथि चासो, चाख र चिन्ता छ । त्यसो हुनाले यस्तो उच्चस्तरीय भ्रमण त्यसैको एउटा रुप हो ।

यस्तो अवस्थामा नेपालले आफ्नो हित हुनेगरी कसरी अगाडि बढ्नुपर्छ ?
–पहिलो कुरा हामीले आफ्नो राष्ट्रिय हितका प्राथमिकताहरुमा प्रष्ट हुनु पर्छ । अर्को, हामीले उनीहरुले देखाउने प्रभाव, दबाब र प्रलोभनमा फस्नु भएन । हाम्रा दलहरु आन्तरीक रुपमा प्रतिस्पर्धा भएपनि विदेश नीतिमा एक हुनुपर्छ, राष्ट्रिय सहमति हुनुपर्छ । तेस्रो, परराष्ट्रसँग सम्बन्धित व्यक्तिहरु व्यक्तिगत, पार्टीगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितमा प्रेरित हुनुपर्छ । वार्ता, सहमति र सम्झौता गर्दा राष्ट्रको हित र स्वार्थ अनुसार गर्नुपर्छ ।

त्यसो भए पछिल्लो समय अमेरिकाले दक्षिण एसियामा नै नेपाललाई प्राथमिकतामा राखेको हो ?
–महाशक्ति राष्ट्र भएकोले उसको हरेक देशसँग सम्बन्ध छ । त्यसमा पनि नेपाल अमेरिकाको लागि विशेष छ । मैले माथि पनि भनिसकेँ, चीन र भारतको अवस्थालाई अमेरिकाले यहाँबाट हेर्ने महत्वपूर्ण लोकेशन हो । दोस्रो कुरा हामीसँगको सम्बन्धबाट उसले भारत र चीनसँगको सम्बन्ध बनाउँछ । त्यसैगरी भू–रणनीतिक अवस्थामा पनि अमेरिकाले नेपाललाई प्राथमिकतामा राखेको छ ।

अमेरिकाको उच्चपदस्थ अधिकारीहरुको भ्रमण र चीनिया राजदूतको सक्रियतालाई कसरी हेर्न सकिन्छ ?
–उनीहरु दुबैलाई नेपालको आन्तरीक राजनीति कसरी विकसित हुन्छ भन्ने चासो पनि छ । दुई मध्ये कुनै एकपट्टि झुक्ने हो कि भन्ने चिन्ता हो । त्यसैगरि आफूपट्टि बढी मिले हुन्थ्यो भन्ने चाख हो । यी सबैलाई हेर्दा उनीहरु दुबै नेपालको विकास आफ्नो लागि अनुकूल होस्, प्रतिकूल असर नपारोस् भन्ने नै हो ।

देशको राजनीति अस्थिर जस्तो देखिएको बेलामा यस्तो भ्रमणहरुले आन्तरीक राजनीतिमा असर पर्दैन ?
–विगतको केही घटनाक्रम हेर्दा कुनै बेला प्रभाव परेको पनि छ । तर त्यसरी सिधै प्रभाव पर्छ भन्न मिल्दैन । हालको भ्रमणहरुकै कारणले देशको राजनीतिक कोर्स नै परिवर्तन हुन्छ जस्तो मलाई लाग्दैन । तर, देशमा महत्वपूर्ण राजनीतिक परिवर्तनहरु हुने बेलामा यसरी भ्रमणहरु हुनु म उपयुक्त देख्दिन । किनभने हाम्रो सरकार नै अनिश्चित छ, भर्खरै चुनाव भएर राजनीति तरल अवस्थामा छ, राष्ट्रपति निर्वाचन नजिक छ । यस्तो अवस्थामा राम्रो, दूरगामी प्रभाव पार्ने वार्ता हुन्छ जस्तो मलाई लाग्दैन । हाम्रो कुटनीतिक पक्षले हाम्रो यो बेलाको क्यालेण्डर यस्तो छ भनेर भन्नु पर्थ्याे । त्यो हाम्रो कुटनीतिको कमजोरी हो । हाम्रो सम्पूर्ण ध्यान को सरकारमा आउने, को टिक्ने, को नटिक्ने भइरहेको बेलामा यस्तो उच्च अधिकारीको भ्रमण हुनु समय उपयुक्त होइन ।

पहिले–पहिले दिल्लीको निर्णयलाई अमेरिकाले सदर गथ्र्यो भन्ने थियो, पछिल्लो समय त्यो थिति परिवर्तन भएर सिधै अमेरिकाले हेर्न लागेको हो ?
–अहिल्यै त्यस्तो भन्न मिल्दैन । किनभने, भारतसँग यो–यो क्षेत्रमा राम्रो सम्बन्ध राख्नु पर्छ भन्ने उसको आफ्नै नीति छ । अमेरिका र चीनबीच महाशक्ति राष्ट्र हुनका लागि आर्थिक, रणनीतिक, राजनीतिक, वैचारिक र दार्शनिक प्रतिस्पर्धा छ । यस हिसाबमा भारतसँग नजिक भएको कतिपयको दृष्टिकोण छ । तर, अस्ति मात्रै अमेरिकी उपविदेश मन्त्रीले हामी नेपाललाई भारतको दृष्टिकोणले होइन, आफ्नै दृष्टिकोणले हेर्छौं भनेर जानुभयो । अब हामीले बुझ्न के जरुरी छ भने, भारत र चीन एकदमै शक्ति राष्ट्र हुन र अमेरिका महाशक्ति राष्ट्र हो । यी सबैको हामीले व्यवस्थापन गर्न सक्नुपर्छ । त्यसो हुनाले सैद्धान्तिक रुपमा भारतसँग अमेरिका कैयौं कुरामा नजिक छ । तर, फेरि कतिपय कुरामा विमति पनि छ । अस्ति भर्खरै भारतीय विदेशमन्त्री जयशंकरले पश्चिमाहरुलाई कडा जवाफ र चुनौति दिएका थिए । यसो हुनाले हामीले अमेरिका, भारत एकातिर र चीन अर्कोतिर गरेर होइन, तीनवटा देशलाई तीनैतिर राखेर व्यवस्थापन गर्नुपर्छ ।

यी गतिविधि बाहिर देखिए जस्तै सामान्य छ या पर्दाभित्र कुनै खिचडी पाकिरहेको छ ? तपाईँको दृष्टिले के देख्नुहुन्छ ?
–पर्दाभित्र के पाकेको छ भन्ने कुरा तपाईँ हामीलाई अहिल्यै थाहा हुँदैन । एउटा विश्लेषकले बाहिर देखिएको कुराको विश्लेषण गर्ने हो र आफूले त्यस क्षेत्रमा भोगेको, यो विषयमा अध्ययन गरेको, अध्यापन गरेको र आफै संलग्न भएर कुटनीतिमा गएको हिसाबले अनुभव सुनाउने हो । भित्र के भइरहेको छ भन्ने कुरा अहिले सत्तामा हुनेहरुलाई नै थाहा होला ।