दलहरुको गन्तव्य सत्ता मात्र हो ?

दलहरुको गन्तव्य सत्ता मात्र हो ?



यी राजनीतिक दल र यसका नेतृत्व आम नागरिकलाई थप निराश, आक्रोसित र भयक्रान्त बनाउन किन लागिरहेको छ ? भन्ने प्रश्न अनुत्तरित छ । आफ्नो स्वार्थ र सत्ताका लागि जुनसुकै मूल्य चुकाउन तयार हुने प्रवृत्तिले व्यवस्थामाथि नै संकट पर्दैछ । राज्य व्यवस्था यस किसिमले बद्नाम हुनु सुखद् होइन । आशा जगाउने काम कहिलेबाट छैन । सत्ताको राप र तापभन्दा बाहेक आशाको प्रकाश दिने सोच विचार नै समाप्त भएजस्तो देखिन्छ । अध्ययन र रोजगारीका लागि विदेश पलायन हुनुपर्ने बाध्यता स्वीकार गर्नेहरुको संख्या दिन प्रति दिन बढ्दै गएको छ । आफ्नो देशमा शिक्षा र रोजगारीको गुणस्तरीय र सुनिश्चित नहुँदा विदेशिनु परेको बाध्यतातर्फ राज्यको ध्यान नै गएको छैन । हाम्रा मानिस गएर मरुभूमिलाई हराभरा बनाएका छन्, तर हाम्रो हराभरा मरुभूमिकरण बन्दै गएको छ । सार्वभौमसत्ता र राष्ट्रियताको रटान लगाउनेहरुको ध्यान आफ्नो जनशक्ति विदेशको सेवा गर्न बाध्य भएको तर्फ गएको छैन ।

स्वभाविक रुपमा प्रश्न उठ्छ कि अध्ययन र रोजगारीको नाउमा परदेश जानु परेपछि राष्ट्रियता र सार्वभौमिकताको के अर्थ रहन्छ र ? आफ्नो नागरिकलाई न्यूनतम सेवा र सुविधासम्म उपलब्ध गराउन नसक्ने राज्यमाथि नागरिकको विश्वास वा भरोसा रहन्छन् त ? उच्च ज्ञान, सिप र प्रविधिको लागि विदेशको अनुभव हासिल गर्न सकिन्छ, त्यो स्वेच्छिक पनि हुनुसक्छ, राज्यको जिम्मेवारी र दायित्व अन्र्तगत पनि गर्न सकिन्छ । हाम्रो अवस्था त्यो होइन, १२ कक्षा सक्ने बितिकै विदेश जान खोज्ने किशोरले राज्यप्रति गरेको चरम अविश्वास हो । हामीले उनीहरुलाई उचित वातावरण उपलब्ध गराउन सकेनौं । हाम्रो शासकीय खराबीले खराब विकल्प रोज्न बाध्य बनाएको हो । वैदेशिक रोजगारकै अर्को रुप हो अध्ययनको बहाना । त्यहाँ गएर सस्तो श्रम गर्न तयार भएर गएका छन्– हाम्रा नानीबाबुहरु राज्य व्यवस्थाका हर्ताकर्ता नै आफ्ना छोराछोरी विदेशिएका छन् भनी गौरव गर्छन् । त्यहाँ के कस्तो अवस्थामा कस्तो काम गरिरहेका छन् भन्न चाहदैनन् ।

केही भ्रष्ट व्यक्तिहरुका छोराछोरी विदेश गएर नेपालमा आमाबुवाले गरेको भ्रष्टाचारको ढाकछोप गरिरहेका छन्÷ गराइरहेका छन् । उच्च पदस्थ पदाधिकारी तथा कर्मचारीका छोराछोरीको विदेश पलायनले उनीहरुलाई राज्यप्रति गम्भीर, जिम्मेवार र बफादार बन्न सहयोग पु-याएको छैन । अर्थात् आफूसँग अर्को विकल्प छ, उतै नातिनातिनीहरुको हेरचाह गरेर बसौंला भन्ने सोच देखिन्छ । यसले जनशक्ति पलायन मात्र भएको छैन, राज्यको दायित्व, जिम्मेवारी र गतिशीलतामा नै ह्रास आएको छ । गैरजिम्मेवार प्रवृत्ति बढेको छ । भ्रष्टाचार मौलाएको छ । ठेकेदारी, डन, माफिया र तस्करहरुको रजगज र बाहुल्यता बढेको छ । इमान्दार मानिस त त्यहाँ चल्न तरपटाउन नै नसक्ने स्थिति बन्दै गएको छ । राजनीतिक प्राणीदेखि कर्मचारी, अन्य पेशा र व्यवसायका मानिससमेत यस्तै कर्ममा व्यस्त भएका छन् ।

वैदेशिक रोजगारीको लागि मध्यपूर्वका देशहरुमा गएका तथा अन्य देशमा गएका व्यक्तिहरुको फिर्ता बन्द बाकसमा हुने क्रम तीब्र बन्दै गएको छ । अर्कोतर्फ सामाजिक र पारिवारिक तनाव र बेमेल व्यापक बनेको छ । यो दीगो समाधान होइन, अल्पकालिन उपाय मात्र हो भन्ने तर्फ राज्यको कुनै नीति, कार्यक्रम र योजना छैन । अली बलिया बाङ्गा दाजुभाइ दिदी बहिनीहरुलाई बाहिर पठाएर उनीहरुले पठाएको विप्रेषणबाट राज्य व्यवस्थाको खर्च चलाउने, किन्ने खाने र विकासको नाउँमा आएको रकममा भ्रष्टाचार गर्ने प्रवृत्ति फस्टाएको छ । यो व्यवसायमा अनिच्छुक मानिस राज्य व्यवस्थामा टिक्ने अवस्था छैन । हरेक क्षेत्र, पेशा र व्यवसायमा यसको प्रभाव देखिन्छ । असल र इमान्दार भएर बस्छु भन्ने व्यवसाय चलाउँछ, शासन व्यवस्थामा सुधारको लागि आवाज उठाउँछु भन्ने मानिसले ठूलै मूल्य चुकाउनु परेको छ ।

जतातै चोर र चण्डालहरुको मोर्चाबन्दी र दादागिरी चलेको छ । जसले धेरैथोर आवाज उठाउने प्रयास गर्छ, उसलाई ठेगान लगाइन्छ । गरिखाने वातावरण पनि हुँदैन । मिल्ने, मिलाउने, खाने खुवाउनेहरुको आस्था, विचार र सिद्धान्त मिल्दो रहेछ । बाहिर देखाउने दाँत फरक भए पनि भित्री चुरो ‘खानपिनवाद’ नै रहेछ । ‘खानपिन’ को विषयमा सबै खलक वादविवाद, आस्था, विश्वास र प्रतिबद्धता थाति रहँदा रहेछन् । यो सिहदरबारमा मात्र होइन, छोटा मोटा सबै दरबारमा यही कुरो निर्णायक बन्दो रहेछ बनिरहेको छ ।

कोही पनि उत्तरदायी देखिएनन् । जसजसमाथि प्रश्न उठेको छ, उनीहरु नै जिम्मेवारीमा दोहोरिरहन्छन् । उनीहरुकै गुनासो सुन्न परेको छ । राजनीतिमा दाहाल–ओली–देउवा असान्दर्भिक भए, अरुलाई भूमिका दिनुपर्छ भन्नेहरुको भूमिका पनि राम्रोसँग देखियो । दाहाल–देउवा–ओलीले नै त्यस्तै पात्र र प्रवृत्तिलाई स्थान दिएका छन् । योग्यता नै को सबैभन्दा बढी बद्मासी गर्न सक्छ उसलाई नै प्राथमिकतामा राख्ने बन्न थाल्यो ।

असल र इमान्दार स्वभावको व्यक्तिले गरिखादैन भन्ने बुझाइ बन्दै गएको देखिन्छ । यस्तो सोचले हामी कता जान्छौं ? हामीले बनाउन खोजेको समाज कस्तो हो ? शासन प्रणालीको उद्देश्य र लक्ष्य के हो ? राजनीतिक दल, नेतृत्व, समाजका सचेत नागरिकका जिम्मेवार संघ, संस्था र निकायले यसमा ध्यानदृष्टि लगाएको छ ? विश्वासको वातावरण बनाइ आशाको सञ्चार गराउने जिम्मेवारी कसको ? समाजमा क्रियाशील संघ संस्था, सञ्चार क्षेत्र सम्बद्ध व्यक्तिमाथि पनि प्रश्न नै प्रश्न उठ्न थालेपछिको अवस्था के हो ?

नागरिकले निरास नै बन्नुपर्ने, विदेशिनु नै पर्ने, आत्महत्या गर्ने स्थिति निसन्देहः सुखद् होइन । यो हामीले नै बनाएको हो, हामी सबै उठौं, जागौं, जुटौं र विश्वासको वातावरण बनाऔं । सबैलाई देश हाम्रो हो, हामी बनाउँछौं भन्ने भावनाको विकास गराऊ । के यसो गर्न नसकिने नै हो त ? त्यत्ति धेरै खराब भइसकेको छ, फर्किन र फर्काउन सकिँदैन ? सत्ताको लडाइमा नै रमाइरहने कि आशाको सञ्चार गराउने ? भरोसायोग्य वातावरण बनाउने कि थप बिर्गाने ? असल र इमान्दार खोज्ने कि खराबभन्दा खराबलाई प्रोत्साहित गर्ने ? डन, ठेकेदार, तस्कर, माफिया, हप्ता असुल्नेहरुलाई नै रुचाउने ? जनमानसमा पुग्ने संयन्त्रको विकास नगरी लक्ष्य ठम्याउन सकिँदैन । सबैलाई देशको हितमा लाग्ने मन्त्र कसले सुनाउने ? थप नबिगारौं, कसैले न कसैले समाल्न सक्छ, तपाईंबाट अब हुन सक्दैन भनिदिने र अवकास गरिदिने कसले हो ? यसमा ढिलो नगरौं, देशप्रतिको नागरिकको जिम्मेवारी सबैले पूरा गरौं ।