नेपाल टेलिकमले जथाभावी ब्यालेन्स काट्दा ग्राहक समस्यामा

नेपाल टेलिकमले जथाभावी ब्यालेन्स काट्दा ग्राहक समस्यामा



काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको नेटवर्कमा बारम्बार समस्या आएको छ । पछिल्लो समय टेलिकमले ग्राहकको जथाभावी ब्यालेन्स काट्ने गरेको छ । ग्राहकले समस्याको बारेमा पटक-पटक जानकारी गराउँदा पनि टेलिकमले भने चित्तबुझदो जवाफ दिन सकेको छैन।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले भने यस्तो समस्याको छानबिन भइरहेको जनाएको छ । नियामक निकायले एक कार्यदल गठन गर्दै टेलिकममाथि अनुसन्धान गरिरहेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरिएको बताए ।

छानविनबाट मानविय त्रुटि, प्राविधिक कमजोरी, लापरवाही वा नियतवश कुन कारणले उक्त समस्या आएको हो भन्ने कुरा बाहिर आउने अपेक्षा गरिएको छ । अनुसन्धान प्रभावित हुन सक्ने भन्दै टोली प्रमुख र त्यसमा रहेका सदस्यहरूको नाम भने गोप्य राखिएको छ ।

छानविन पश्चात प्राप्त हुने प्रतिवेदनका आधारमा समस्या समाधान गर्न निर्देशन दिनेदेखि आवश्यक परे कानूनी कारवाही अगाडि बढाउनेसम्मको प्रक्रिया अगाडि बढाउने प्राधिकरणले बताएकाे छ ।

टेलिकममा जथाभावी ब्यालेन्स काट्ने, फोन नलाग्ने, डेटा नचल्ने, एसएमएस नजाने समस्या आइरहेकाे छ । टेलिकमले पछिल्लो समय देखिएका यस्ता प्राविधिक समस्याको समाधान गर्ने काम भइरहेको बताएकाे छ ।