सूचना प्रविधि अपरिहार्य भइसक्यो : प्रधानमन्त्री

सूचना प्रविधि अपरिहार्य भइसक्यो : प्रधानमन्त्री



काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ रहेको बताएका छन् ।

आइतबार राष्ट्रिय समाचार समिति (रासस) को वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले २१ औं शताब्दीको विश्वमा सूचना प्रविधि प्रत्येक मानिसको सरोकारको विषय मात्रै नभएर एउटा अनिवार्य र अपरिहार्य विषय बनेको उल्लेख गरे ।

विश्वमा भइरहेको सूचना र प्रविधिको विकासलाई मध्यनजर गरी नेपालका सञ्चारमाध्यमले पनि सञ्चारमाध्यमलाई समय र युग सुहाउँदो रूपमा थप अद्यावधिक गर्न आवश्यक रहेको उनले बताए ।

प्रचण्डले सञ्चारमाध्यमले आफ्ना सेवालाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको र कुनै पनि नागरिकलाई सूचना दिनु भनेको लोकतन्त्रप्रतिको आस्था र जनताको मौलिक हकको सम्मान गर्नु भएको उल्लेख गरे ।

लोकतान्त्रिक शासन प्रणाली भए मात्रै प्रेस स्वतन्त्रता सम्भव रहेको उनको भनाइ छ । पछिल्लो दुई दशकमा विश्वमा सूचना प्रविधिको विकासलाई लिएर चौथो औद्योगिक क्रान्तिको रुपमा संश्लेषण गर्न थालेको उनले बताए ।