राष्ट्रपति चुनावका लागि नयाँ बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रपति चुनावका लागि नयाँ बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना



काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । संसद भवन नयाँ बानेश्वरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयको सोमबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उद्घाटन गरे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले फागुन २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने र मतपरिणाम साँझ ७ बजेभित्र आइसक्ने बताए । निर्वाचनका लागि संघीय संसदका सदस्यले मतदान गर्ने एउटा र प्रदेश सभाका सदस्यले मतदान गर्नेगरि दुईवटा मतदान केन्द्र निर्धारण गरिएको उनले बताए ।

राष्ट्रपति निर्वाचनका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन गर्दै प्रक्रिया सुरु हुने उनले बताए । थपलियाले निर्वाचनमा कसैको बहुमत नआए २६ गते नै अर्को निर्वाचन हुने बताए । उनले अर्को पटकदेखि आफ्नै प्रदेशबाट नै राष्ट्रपति निर्वाचनमा मतदान गर्न सक्ने गरि कानुन संशोधन गर्न लागिएको पनि जानकारी दिए ।

आयोगका अनुसार फागुन १३ गते उम्मेदवारी दर्ता, फागुन १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र फागुन २५ गते मतदान हुने कार्यसूची छ । त्यस्तै उपराष्ट्रपति निर्वाचनको प्रक्रिया भने फाल्गुन २७ गतेदेखि सुरु हुने छ । निर्वाचनका मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल यसअघि नै नियुक्त भइसकेका छन् ।