सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था- गर्न थाले दोहोरो संवाद

सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था- गर्न थाले दोहोरो संवाद



काठमाडौं । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएपछि उपचाररत कांग्रेस सांसद चन्द्र भण्डारी मंगलबारबाट दोहोरो संवाद गर्न थालेका छन् । 

गत बुधबार ग्यास सिलिन्डर विस्फोट भएपछि उनको कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गरिएको थियो । बिहीबार थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लगिएको थियो । अहिले उनको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचार भइरहेको छ । 

घटनापछि मंगलबार बिहान सवा १० बजे पहिलोपटक उनले दोहोरो संवाद गरेका कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए । 

उनका अनुसार उनलाई भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ । अन्य स्वास्थ्य पारामिटर नर्मल रहेको र सुन्निएको अनुहार घट्दै गएको छ ।  

सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे नेता सिवाकोटीले फेसबुकमा लेखेका छन्, ‘ फागुन–९ बिहान १०:१५ बजेको अपडेट अनुसार दुर्घटनापछि पहिलो पटक दोहोरो संवाद भएको छ । साथमा रहेका माधव न्यौपानेका अनुसार भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ । कल्चर रिपोर्ट आज आउदै छ।अन्य स्वास्थ्य पारामिटर नर्मल रहेका छन्। सुन्निएको अनुहार घटेको छ। स्वास्थ्य सामान्यतर्फ गईरहेको छ ।’

सोही घटनामा परेर सांसद भण्डारीकी आमा हरिकला भण्डारीको भने बिहीबार नै उपचारका क्रममा कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा निधन भएको थियो ।