डिआईजी अशोक सिंहविरुद्ध किन लागे आईजीपी धीरजप्रताप

डिआईजी अशोक सिंहविरुद्ध किन लागे आईजीपी धीरजप्रताप



काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाएर २०८२ वैशाख १८ गतेसम्म जागीर टिकाउने प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको योजनामा डिआईजी अशोक सिंह बाधक देखिएपछि उनलाई हटाउने कानुनी छिद्राको साहारा लिइँदैछ । ३० वर्षे अवधि कार्यान्वयनमा आएन भने डिआईजी सिंह चैत्र १० मा आईजीपी बन्दैछन् । डिआईजी अशोकलाई आईजीपी बन्न नदिन जन्ममितिलाई आधार बनाएर घर पठाउन सकिन्छ कि भनेर आईजीपी सिंह सञ्चारकर्मी र कानुन व्यवसायीको शरणमा पुगेका छन् ।

आईजीपी सिंहले नै हस्ताक्षर गरेर २०७९ असार १७ गते एसएसपीबाट सिंह डिआईजीमा बढुवा भएका हुन् । त्यसबेला उनले के हेरेर बढुवाको फाइल अगाडि बढाए भन्ने सवालको जवाफ नखोजी डिआईजी सिंहलाई कार्यालयमा बोलाएर राजीनामा लेख भनेर थर्काउने, समाचार लेखाएर उत्पीडन दिने, अख्तियारमा उजुरी दिन लगाउने र कानुन व्यवसायीको सहयोगमा अदालत देखाउने काम आईजीपी सिंहले यतिबेला गरिरहेका छन् । यदि डिआईजी अशोकको उमेर विवादस्पद थियो भने त्यतिबेला किन बढुवा रोकिएन र अहिले किन उछालिइदैछ भन्ने कुराको जवाफ आईजीपी सिंहले दिनुपर्छ कि पर्दैन ?

डिआईजी सिंह प्रहरी महानिरीक्षकमा भर्ना हुँदा यकिन जन्ममिति खुलेको शैक्षिक प्रमाणपत्रको आधारमा भएका हुन् । उनले २०४२ सालमा १८ वर्ष उल्लेख गरेको नागरिकता २०४२ साल जेठ २२ गते लिएका हुन् । नागरिकतामा हस्ताक्षर गर्ने अधिकारीले उल्लेख गरेको मिति उनको जन्ममिति होइन, नागरिकता प्राप्त गरेको मिति हो भन्ने स्पष्ट हुँदाहुँदै आफूभन्दा जुनियर अधिकृतविरुद्ध आईजीपी सिंहले दुरासायपूर्ण व्यवहार देखाउनु प्रहरी संगठनकै हुर्मत लिनु हो भन्ने बुझ्न कुनै आइतबार पर्खिनु पर्दैन ।

नागरिकता र शैक्षिक प्रमाणपत्रमा उल्लेख भएको जन्म मिति विवादमा आधा दर्जनभन्दा बढी डिआईजी मुछिएका छन् । त्यसमध्येका एक डिआईजी सिंहले नागरिकता लिँदा उमेर १८ वर्ष मात्र उल्लेख छ । २०४२ साल चैत्रमा उनी १८ वर्ष पूरा हुन्छन् । २०७९ साल चैत्रमा ५५ वर्ष पूरा हुन्छन् भने २०७९ साल असारमा नै डिआईजीमा बढुवा भएका सिंहलाई एसएसपीमै अवकास पाउनुपर्ने थियो भन्ने तर्कमा कुनै दम नभएको कानुन व्यवसायीहरु बताउँछन् ।

‘शैक्षिक प्रमाणपत्रमा यकिन उमेर खुलेसकेको अवस्थामा उमेर नखुलेको नागरिकताको प्रमाणपत्रको आफू अनुकूलको व्याख्या गर्नु नै गलत र दुरासायपूर्ण हो’ नाम उल्लेख नगर्ने सर्तमा एक अवकाश प्राप्त उच्च अधिकृतले ग्लोब नेपालसँग भने, ‘यदि एसएसपीमै अवकास पाउनुपर्ने थियो भने किन डिआईजीमा बढुवा गरियो ? बढुवा गर्ने, अभिलेख राख्ने र लुकाउने व्यक्ति अपराधी हुन्, उनीहरुलाई कठघरामा उभ्याउनुपर्छ ।’

प्रहरी संगठनको हुर्मत लिने काम सिंहले आफू आईजीपी बन्दादेखि नै सुरु गरेका हुन् । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणालाई नगद बुझाएर आफूभन्दा १७ महिना सिनियर एआईजी विश्वराज पोखरेललाई साइड लगाएर उनी आईजीपी बनेका थिए । प्रहरी अस्पतालको एमआरआई खरिद, जुत्ता खरिद, म्यादी प्रहरीको डे«स खरिदलगायत दर्जनौं आर्थिक अपचलनको काण्डमा आईजीपी सिंह मुछिएका छन् ।

पछिल्ला दिनमा उनको हर्कत प्रहरी सेवामा ३० वर्षे सेवा अवधि हटाएर थप दुई वर्ष आईजीपी बन्ने हो । ३० वर्षे सेवा अवधि हटाउने विषयमा सबै सकरात्मक छन्, तर दुई वर्षपछि लागू गर्दा कसैलाई अन्याय नहुने निष्कर्ष निकालिएको छ । तर, आफ्नै पालामा कार्यान्वयनमा ल्याउने यो योजना सफल बनाउन अहिलेका आधा दर्जन एआईजीसहित आईजीपी सिंहले चलखेल गरिरहेका छन् । ३० वर्षे सेवा अवधि हटेन भने आईजीपी सिंहसहित सबै एआईजीहरु यही चैत्र १० गते घर जानेछन् ।

थप यो पनि-