अहिले केही भएन हाेइन, कांग्रेसले जनताको जीवनस्तर उकासेको छ : डा. महत

अहिले केही भएन हाेइन, कांग्रेसले जनताको जीवनस्तर उकासेको छ : डा. महत



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् सांसद डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले जनताको जीवनस्तर उकासेको बताएका छन् । २०७४ सालपछि कम्युनिष्ट पार्टीको सरकारले कामभन्दा बढी कुरा गरेको उनले उल्लेख गरे । तर कांग्रेस सभापति देउवा नेतृत्वको सरकारले भने कोरोना महामारी नियन्त्रण गरेको र दुई वटा चुनाव सम्पन्न गराएको बताए ।

‘२०७४ सालपछि कम्युनिष्ट सरकारले कामभन्दा कुरा बढी गर्‍यो,’ उनले भने, ‘चार वर्षमा हुन नसकेको काम कांग्रेसले एक वर्षमा गर्न सकेन भन्न खोजिएको छ । दुई वटा चुनाव गरियो, कोरोना महामारीलाई सहज बनाउने काम पनि यहि अवधिमा भएको हो ।’

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै डा. महतले २०४६ सालको परिवर्तनले सबै समस्या खडा गर्‍यो भन्ने भाष्य स्थापना गर्न खोजिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । महतले देशमा अहिलेको व्यवस्थाभन्दा पनि पहिलेको निर्दलीय पञ्चायत कालमा राम्रो अवस्था थियो भन्ने भाष्य स्थापना गर्न खोजिएको भन्दै आपत्ति जनाएका हुन् । उनले कुनै पनि हालतमा निरंकुशता स्वीकार्य नहुने पनि बताएका छन् ।

महतले कानुनी शासन र विकासका लागि गणतान्त्रिक व्यवस्था ल्याएको तर यसैविरुद्ध निरंकुश व्यवस्थाका पक्षधरहरूले दुष्प्रचार गरिरहेको बताएका हुन् । ‘लामो संघर्षपश्चात लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्ने चुनौती छँदै छ । त्यसमाछि अहिले नयाँ भाष्यका विषयमा बहस सुरु भएको छ । लोकतान्त्रिक, कानुनी शासन स्थापनाका लागि हामीले लामो संघर्ष गर्‍यौं, खुला अर्थतन्त्रको स्थाना गर्‍यौं । हरेक नागरिकको सम्भावना र सिर्जनालाई पूर्ण प्रयोग गरी अगाडि बढ्ने सुनिश्चिता २०४६ सालपछि गर्‍यौं तर अहिले एक समय यस्तो देश थियो कि यहाँ त सुनै सुन फल्थ्यो भन्ने भाष्यको विषयमा जबर्जस्त प्रचार हुँदै छ,’ उनले भने, ‘हामीलाई थाहा छ, त्यसबेला बोल्न पाइँदैनथ्यो । देशको आर्थिक अवस्था अत्यन्त खराब थियो । ६० प्रतिशतभन्दा बढी नेपाली नागिरक गरिबीको रेखामुनि बस्ने गर्थे । औसत आयु ५०-५२ वर्षमात्र थियो ।’

त्यस्तो अवस्थाबाट आर्थिक रुपान्तरण र कानुनी शासनको अवधारणालाई अगाडि बढाउने काम भएको महतको भनाइ थियो । ‘त्यस बेलामा जम्माजम्मी १३ अर्बको राजस्व थियो । त्यसमा ४ अर्ब त विदेशी ऋण तिर्नुपर्थ्यो । १ अर्ब सार्वजनिक संस्थाको घाटा पुर्तीका लागि तिर्नुपर्थ्यो । बाँकी कति बच्ने ? कर्मचारी, सेना, प्रहरीको तलब खुवाएपछि बाँकी के रहने ? त्यस्तो अवस्थाबाट देशमा स्कुल, कलेज, खानेपानी, बिजुली र गाउँगाउँमा सडक पुर्‍याउने काम भए । तर अहिले आएर ४६ सालपछिको परिवर्तनले नै सम्पूर्ण समस्या सिर्जना गर्‍यो, त्यसबेलाको युग त सुनौला युग थिए भन्ने जबर्जस्त प्रचार गरिएको छ,’ उनले भने ।

पञ्चायतकालमा बोल्नसम्म नपाइने र व्यक्तिको स्वतन्त्रता नै हरण भएको महतले स्मरण गरे । ‘म स्वयं विदेशमा प्रतिस्पर्धाबाट पढ्न जान खोज्दा पासपोर्ट पाइँदैनथ्यो । त्यस्तो अवस्था थियो । त्यो अवस्थाबाट अगाडि बढ्यौं । यद्यपि देश द्वन्द्वमा फस्यो । अनेकौं अस्थिरताका दौरबाट नेपाल फस्यो । विकासमा ब्रेक लाग्यो अवश्य पनि हो,’ उनले भने ।

मुलुकमा कुनै पनि प्रकारको निरंकुशता स्वीकार्य नहुने महतको भनाइ थियो । ‘अहिले केही भएन र पहिलेको निरंकुशता राम्रो थियो भन्ने कुरालाई कहिँ, कतै पनि स्वीकार गर्न सकिँदैन,’ उनले भने । राजनीतिक दलका नेताहरू, कर्मचारीतन्त्र र नागरिकले आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने उनले बताए । नागरिकका असन्तुष्टि समाधान गर्न लाग्नुपर्ने उनको भनाइ थियो । नत्र ती असन्तुष्टिमा खेलेर व्यवस्थाविरुद्ध खेल्नेहरू सक्रिय हुने र समस्या उत्पन्न हुने उनले बताए ।