रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक



काठमाडौं । चितवन क्षेत्र नम्बर–२ मा आउँदो वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायत विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

पार्टी कार्यालय वसुन्धारामा सोमबार (भोलि)का लागि बोलाएको बैठकमा फेरिएको राजनीतिक समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए ।

गएको पुस १० मा बनेको सातदलीय सत्ता गठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा आठदलीय गठबन्धन बनेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेकामा माघ २२ गते सरकारबाट बाहिरिएको थियो । सरकारबाट अहिलेसम्म समर्थन भने फिर्ता लिएको छैन ।

राष्ट्रपतिको निर्वाचनका लागि नेपाली कांग्रेस वा नेकपा एमालेका उमेदवारको प्रस्तावक वा समर्थकमा रास्वपा बसेको छैन । केन्द्रीय समिति बैठकबाट उक्त दलले यसबारे स्पष्ट नीति तय गर्ने बताइएको छ ।