प्रजातान्त्रिक योद्धा रामप्रसाद राईका बारेमा थप अध्ययन आवश्यक : सभामुख

प्रजातान्त्रिक योद्धा रामप्रसाद राईका बारेमा थप अध्ययन आवश्यक : सभामुख



काठमाडौं ।  सभामुख देवराज घिमिरेले प्रजातान्त्रिक योद्धा रामप्रसाद राईबारे थप खोजी, अध्ययन र अनुसन्धान आवश्यक रहेको बताएका छन् । 

रामप्रसाद राईको ११४ औं जन्मजयन्तीका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले तथ्यपरक र खोजमुलक अनुसन्धान गर्न आग्रह गरे । 

‘रामप्रसाद राईको योगदानका बारेमा इतिहास यथार्थपरक आउन सकेको छैन,’ उनले भने, ‘तथ्यपरक, खोजमुलक अनुसन्धानका लागि अध्येता लागिरहनुभएको छ, त्यस्ता लिखत, कृति प्रकाशन गर्न आवश्यक छ ।’

रामप्रसाद राई प्रतिष्ठान लगायतका कतिपय संस्था र व्यक्तिहरुले राईलाई राष्ट्रिय विभूतिका रुपमा सम्मान गरियोस् भन्ने मागमा आफ्नो सकारात्मक पहल रहने सभामुखको भनाइ छ ।

उनले रामप्रसाद राई लगायतका सहिदहरुको चाहना अनुसार व्यवस्थामा परिवर्तन भए पनि अझै अवस्थामा परिवर्तन हुन नसकेको उल्लेख गरे । 

सभामुख घिमिरेले रामप्रसाद राईको योगदानलाई सजिव रुपमा प्रस्तुत गर्न नाटक मञ्चन हुन लागेको खबरले आफूलाई खुसी तुल्याएको बताए ।