स्पर्श

स्पर्श



मलाई तिमी आफ्नो हातको स्पर्श देऊ
म तिम्रो स्पर्शले
न्यानो बनेर
विश्वभरि फैलिन चाहन्छु ।

तिम्रो स्पर्शले
मेरो आत्मामा प्रेम गर्छ
मेरा सारा
अभिलाषा प्रकाश बन्छन्
मेरो मनको अँध्यारो
विलीन हुन्छ ।

तिम्रो स्पर्श
एउटा जादू हो,
सहारा हो,
चन्द्रमा हो, तारा हो
त्यो लिएर
कैयौँ ब्रहृमाण्डलाई
जित्न सक्छु म ।

तिम्रो स्पर्श
जीवनको मीठो पारा हो
फूल हो, जलधारा हो
जुन लिएर
म सबै मानव हृदयलाई
सिंच्न सक्छु ।

यो समयको हुरीमा
हृदयहरूको दूरीमा
सम्भव छ
तिम्रो स्पर्शलाई
समयले पर्खिरहेछ ।

बेहोशीको यो वरिपरिमा
आशालाई अलिअलि हम्किरहेछ
त्यसैले म चाहन्छु
त्यो स्वर्ण स्पर्श तिम्रो
ममा आओस्
मबाट त्यसले
दुनियाँ भिजाओस् ।

त्यसैले
हे, स्वप्न मेरा !
तिमी मलाई
मायाको स्पर्श देऊ
म तिमीलाई
आफ्नो सर्वस्व दिन्छु ।