जसपा अध्यक्ष उपेन्द्र यादव संसद छिर्ने तयारीमा, फेरि जनमत तगारो

जसपा अध्यक्ष उपेन्द्र यादव संसद छिर्ने तयारीमा, फेरि जनमत तगारो

उपेन्द्रको सप्तरी–२ कै हालत हुने



काठमाडौं । भारी बहुमतले जनताबाट तिरस्कृत जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पुनः संसद छिर्ने तयारीमा जुटेका छन् । बारा क्षेत्र नं. २ बाट निर्वाचित सांसद रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएर उक्त निर्वाचन क्षेत्रबाट अध्यक्ष यादव पुनः निर्वाचित भएर संसदमा छिर्ने तयारीमा जुटेको बुझिएको छ ।

आठ दलीय गठबन्धनमा जसपालाई उपराष्ट्रपति दिने सहमति बनेको छ । जसपाले बारा क्षेत्र नं. २ बाट निर्वाचित रामसहायलाई उम्मेदवार बनाउने निर्णयमा पुगेको छ । उपराष्ट्रपतिमा रामसहाय निर्वाचित भएपछि उक्त निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा अध्यक्ष यादव गठबन्धनको तर्फबाट उम्मेदवार बन्ने लगभग निश्चितजस्तै छ ।

जसपा संसदीय दलका नेतासमेत रहेका रामसहाय यादव अध्यक्ष उपेन्द्रका विश्वास पात्र हुन् । दर्जनौं पटक फुटेको मधेशी जनअधिकार फोरमको स्थापनाकालदेखि रामसहायले उपेन्द्रको साथ छोडेका छैनन् । बारा कलैयाको पन्नादेवी उच्च माध्यमिक विद्यालयमा अध्यापन गराउँदादेखि नै रामसहायले फोरमको राजनीतिमा आबद्ध थिए । सांसद बनेपछि उनले शिक्षण पेशा त्यागेका हुन् ।

बारा निर्वाचन क्षेत्र नं.२ यादव बाहुल्य क्षेत्र हो । कांग्रेस र एमालेको संगठन बलियो भए पनि जातीय प्रभाव कसरी पर्छ भन्ने कुरा गत निर्वाचनमा पनि देखिएको थियो । राधेचन्द्र यादव पार्टी जिल्ला सभापति हुँदा कांग्रेसको संगठन बलियो थियो । उनी त्यस क्षेत्रबाट दुई पटक सांसद निर्वाचित भए । अहिले उनकै छोरा राजेश राय यादव जिल्ला सभापति छन् । यो निर्वाचनमा उक्त निर्वाचन क्षेत्र कांगे्रसको भागमा नपरेपछि उनी उम्मेदवार बन्न पाएनन् ।

कांगे्रस नेतृत्वको गठबन्धनबाट माओवादी उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाह उम्मेदवार (१३४६८) बनेका थिए । यता एमाले गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव उम्मेदवार (१३८२२) भएका थिए । अन्ततः ३ सय ५४ मतान्तरले माओवादी उम्मेदवार कुशवाह पराजित भए । अझ रमाइलो त के छ भने यो स्वतन्त्र उम्मेदवारहरु रामकिशोरप्रसाद यादवले (११,०४३), रविन्द्रप्रसाद यादव (१०,७५०) र अरुणकुमार ज्ञवालीले ७ हजार ६ सय ९८ मत पाएका थिए ।

तेस्रो नम्बरमा मत ल्याउने स्वतन्त्र उम्मेदवार रामकिशोर बारा क्षेत्र नं. १ का हुन् । उनको घर सिम्रोनगढ हरिहरपुरमा पर्छ । तर उनी उपेन्द्र यादवको ‘नजिकको मान्छे’ रामसहायलाई चुनौति दिन बारा–२ बाट उम्मेदवार बनेका हुन् । उनले एमाले र जसपा तथा कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारलाई गतिलो चुनौति दिएका थिए ।

अहिले परिस्थिति बद्लिएको छ । रामकिशोर यतिबेला सीके राउतको जनमत पार्टीमा प्रवेश गरिसकेका छन् । बारा–२ मा उपनिर्वाचन हुने हल्ला चलेसँगै एकसाता अगाडि मात्र रामकिशोर जनमत पार्टीमा प्रवेश गरेका हुन् । जनमत पार्टीले उनलाई मधेश प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारीसमेत दिइसकेको छ ।

जनमत पार्टी आठ दलीय गठबन्धनभित्र रहे पनि बारा–२ बाट आफ्नो उम्मेदवार उठाउने लगभग निश्चित छ । रामकिशोरका नजिकका मान्छेका अनुसार यदि जनमतले बारा–२ मा उम्मेदवार नउठाउने निर्णय गरे रामकिशोरले पुनः स्वतन्त्र उम्मेदवार दिने छन् । उनलाई चौथो र पौचौं मत ल्याउने स्वतन्त्र उम्मेदवारले साथ दिने बताइएको छ । चौथो नम्बरका रविन्द्रप्रसाद विद्रोही कांग्रेस हुन् भने पाँचौं नम्बरका अरुणकुमार कानुन व्यवसायी हुन् । काठमाडौं बसोबास गर्ने अरुणकुमार परीक्षणका लागि बारा–२ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए ।

यी तीन स्वतन्त्र उम्मेदवारको मत एउटै उम्मेदवारलाई गयो भने ३० हजारभन्दा बढी मत रामकिशोरले प्राप्त गर्ने छन् । जस्तोसुकै गठबन्धन बनाए पनि उपेन्द्रले २७ हजारभन्दा बढी मत पाउने सम्भावना देखिँदैन । यही माहोल र परिवेशमा निर्वाचन भयो भने गठबन्धनका उम्मेदवार उपेन्द्रको पराजय लगभग निश्चित छ । मंसिर ४ मा सम्पन्न मत परिणामलाई विश्लेषण गर्दा सप्तरी–२ बाट १८०६३ मतान्तरले सीके राउतसँग पराजित भएका उपेन्द्र बारा–२ मा पनि जनमतकै उम्मेदवारसँग भारी मतान्तरले पराजित हुने लगभग निश्चित छ ।