महिला सशक्तिकरण जनयुद्ध र जनआन्दोलनको प्रतिफल : कर्णाली प्रदेश प्रमुख

महिला सशक्तिकरण जनयुद्ध र जनआन्दोलनको प्रतिफल : कर्णाली प्रदेश प्रमुख



कर्णाली । कर्णाली प्रदेशप्रमुख तिलक परियारले जनयुद्ध र जनआन्दोलनको प्रतिफलस्वरुप महिला सशक्तिकरण भएको बताएका छन् ।

एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले देश–विदेशमा रहेका समग्र नेपाली दिदीबहिनीहरुमा शुभकामना दिनाका साथै आन्दोलनबाट प्राप्त उपलब्धिहरु विश्व महिला आन्दोलनका लागि उत्प्रेरक मानिएको बताए । नेपालको संविधानको धारा, ३८ ले महिलामाथि हुने अत्याचार, शोषण, दमन र हिंसा जस्ता लैङ्गिक विभेद र अमानवीय व्यवहार अन्त्य गरी पुरुष र महिलाबीच समानताको प्रत्याभूति गरिएको उनले सन्देशमा उल्लेख गरेका छन् ।

सन्देशमा प्रदेशप्रमुख परियारले भनेका छन्, “कानुनले महिलालाई ३३ प्रतिशत अधिकार सुरक्षित गरेको छ । संयुक्त राष्ट्र सङ्घले सन् २०३० सम्म हासिल गर्न निर्धारण गरिएको दिगो विकास लक्ष्यहरुमा लैङ्गिक समानता कायम गर्ने, असमानता हटाउने, शान्ति कायम गर्ने तथा न्यायमा पहुँच पुर्‍याउने जस्ता विषयहरु महिला हितमा केन्द्रित गरेको छ । यसको प्रभावकारी कार्यान्वयनमा जोड पुगोस् ।”

नेपालको संविधानले गरेको व्यवस्था र अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालले व्यक्त गरेका प्रतिबद्धताहरु पूरा गर्ने, सबै खाले उत्पीडनको अन्त्य गरी समानता र न्याय सुनिश्चित गर्न क्रियाशील अधिकारकर्मी तथा अभियन्तालगायत सम्बद्ध सबैलाई उत्साहका साथ काम गर्ने प्रेरणा मिलोस् भन्ने कामना उनले गरेका छन् ।