आँबुखैरेनीमा आलु मेला

आँबुखैरेनीमा आलु मेला



तनहुँ । तनहुँकाे आँबुखैरेनी गाउँपालिकाको आयोजनामा ‘प्रथम आँबुखैरेनी आलु मेला २०७९’ आजदेखि सुरु भएको छ ।

कृषकले उत्पादन गरेका आलु उपभोक्तालाई सुपथ र सहज मूल्यमा बिक्रीवितरण गर्ने लक्ष्यका साथ आलु मेलाको आयोजना गरिएको हो । आँबुखैरेनी गाउँपालिका–३ हाटबजारस्थित अमिलीबोटेमा आयोजित मेला फागुन २६ र २७ गते सञ्चालन हुने व्यवस्थापन समितिका संयोजक सन्तोष केसीले जानकारी दिए ।

गाउँपालिकाले केही दिनअघि सञ्चालनमा ल्याएको हाटबजारमा छिम्केश्वरीको मह र खस्राराङबेंसीको एभोकाडोका बिरुवा अत्यधिक बिक्री भएको उनले बताए । स्थानीयस्तरमा उत्पादित कृषि, पशु तथा बाँसजन्य वस्तु हाटबजारमा बिक्री गर्न पाउँदा कृषक खुसी भएको उनको भनाइ छ ।

आँबुखैरेनी गाउँपालिका–१ र २ वडामा पर्ने सत्र सय र बरादीलाई तरकारी पकेट क्षेत्रका रुपमा लिइएको छ । उक्त दुई वडामा उत्पादन गरिएका आलु ग्रेडिङ र सालाखाला गरी बिक्री गरिनेछ । मेलामा आलुबाट बनेका परिकार आलु पकौडा, आलु चप, चटपटलगायतका विभिन्न परिकार राखिनेछ ।

कृषकलाई निःशुल्करुपमा स्टल उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । आँबुखैरेनी गाउँपालिकाले गाउँपालिका मातहतमा छ वटै वडा, टोल विकास संस्था, आमा समूह, सहकारी संस्था, शिक्षक, कलाकार, क्लब, नागरिक समाजलगायतका विभिन्न सङ्घसंस्थालाई पत्रचार गरिएको बताएको छ ।