ठीक बेठीक छुट्याउँनै गाह्रो

ठीक बेठीक छुट्याउँनै गाह्रो



नेपाली राजनीतिमा क्रियाशील राजनीतिकर्मीमध्ये समाजमा देखाउन असजिलो नलाग्ने व्यक्ति रामचन्द्र पौडेल नेपालको राष्ट्रपतिमा निर्वाचित भएका छन् । मानार्थ राष्ट्रप्रमुखका रुपमा पौडेलभन्दा अन्य उपयुक्त पात्रहरु थिए भन्ने तर्क र जिकिर लिन नसकिने अवस्था त होइन, तर व्यक्ति व्यवस्थापनको समस्या समाधान गर्नुपर्ने बाध्यतात्मक अवस्थाले चर्चामा ल्याइएका पात्रहरुमध्ये पौडेल उपयुक्त नै हुन् । यसमा खिन्न हुनुपर्ने छैन । योगदानको दृष्टिकोणले लोकतान्त्रिक आन्दोलनमा निरन्तर क्रियाशील रहेका, इमान्दारिताको दृष्टिकोणले तुलनात्मक रुपमा कम खराबभित्र पर्छन्– पौडेल । नहुनु मायाभन्दा पौडेल हुनु नै बेस भन्न सकिन्छ । २०४६ सालपछि सदावहार सत्तामा नै रहेका पौडेल भ्रष्टाचारको काण्डमा मुछिएनन, बद्नाम भएनन् । आफूलाई बचाउन सक्नु पनि क्षमता नै होला । धेरै सम्भावना बोकेका व्यक्तिहरुले राजनीतिबाट हात धुनुपरेको दृष्टान्तर दिन सकिन्छ । त्यो मामलामा पौडेल धेरै खराब देखिएनन । व्यक्तिगत जीवन हरेकका साना ठूला कमिकमजोरी छन्, पौडेलको नहुने कुरै भएन ।

पछाडि फर्केर हेर्दा पौडेलले देशको लागि जेलनेल, संघर्ष, यातना त खाए तर लोकतान्त्रिक शासन व्यवस्थाभित्र लामो समय सरकारमा रहँदा सम्झनालायक काम के गरे भन्ने चाहिँ देखाउन सकिँदैन । तनहुँबाट कागती ल्याएर रातिसम्म काठमाडौंको असनमा बेच्नेसम्मको काम गरेका पौडेलले नेपाली जनताको जीवनस्तर उठाउन के कस्ता प्रयास गरे ? त्यसको लागि कहाँ कतिसम्म प्रगति भयो भन्ने थाहा पाउन नसक्नु नेपाली राजनीतिकै विडम्बना होला । यस कर्ममा पौडेल मात्र दोषी छैनन होला । उनका निकटतम छिमेकीहरुको आलोचना सुन्दा पौडेलले अन्याय गर्दै गरेनन भन्न सकिँदैन, तर त्यसले धेरै आकार लिन सकेन । यति धेरै बेइमान होलान भनेर समाजले स्वीकार गरेन । यस अर्थमा पौडेल राष्ट्रपतिका लागि अनुपयुक्त होइनन ।

धेरै खराब र भ्रष्ट व्यक्तिहरु राजनीतिमा निर्णायक ठाउँमा छन् । नेतृत्वमा पुगेपछि त झन् खराब देखिएका छन् । उनीहरुको रोजाइमा खराबभन्दा खराब पर्ने गरेको छ । योग्यता निर्धारण हुँदा सबभन्दा ‘अयोग्य, खराब र भ्रष्ट’ पहिलो प्राथमिकतामा परेको र राखिएका दर्जनौं उदाहरण पेस गर्न सकिन्छ । यसले के देखाउँछ भने नेतृत्वको छनोटमा परेका त्यस्ता खराब पात्रहरुभन्दा खराब हाम्रो नेतृत्वमा छ । जसले कुनै इमान्दारिता नै प्रदर्शन गर्न सक्दैन । यो पटक कांग्रेस सभापति देउवाले रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने वचनमा इमान्दारिता देखाए । देउवाका सारथीहरु भन्छन्, देउवा आफ्नो वचनमा पक्का छन् । कहिलेकाहिँ वचन राख्द राम्रो काम पनि हुने रहेछ । यो पटक त्यस्तै राम्रो काम भएको छ । अन्तरंग संवादमा देउवा भन्छन् रे कि ‘यो पटक धेरैलाई न्याय गर्न सक्दिन, फलानोलाई गर्छु, अरु कुरामा वचन दिइसकेको छु । पछाडि फर्कन मिल्दैन, जति खराब भए पनि गर्नुपर्ने हुन्छ ।’ खराब वा बेइमानीको काम गर्दा पनि इमान्दारिता देखाउनु देउवाको विशेषता हो भन्ने जानकारहरुको भनाइ पाइन्छ ।

देशी विदेशी शक्तिकेन्द्रको जतिसुकै चलखेल भए पनि कम्युनिष्टहरुको एकता चाहाने उत्तरको बलियो शक्ति लागेकै हो । यसमा कसको हार वा जीत भयोभन्दा पनि नेपाली राजनीतिको इमानजमान पराजीत भएको छ । नेतृत्वमा रहेका व्यक्तिहरुको इमान्दारिता, विश्वसनीयता एवम् परिपक्वतामा गम्भीर प्रश्नचिह्न खडा भएको छ । यसको मूल्य नेपाली राजनीतिले चुकाउनुपर्ने नै हुन्छ ।

सम्भवतः प्रधानमन्त्री पुष्पकमल दाहालले देउवा र ओलीलाई समय समयमा जुन व्यवहार गरेका छन्, त्यस्तो देउवा गर्न सक्दैनन् । सत्ता साझेदार एउटा, निर्वाचन साझेदार अर्कै ? निर्वाचन साझेदार एउटा सत्ता साझेदार अर्कै ? सत्ता साझेदार एउटा राष्ट्रपतिमा अर्कैलाई सहयोग र समर्थन ! व्यक्ति एक चरित्र अनेक ? यस्तो बेइमानीको पेशा बनेको बनाइएको छ– राजनीति । २०७९ को निर्वाचन परिणामपश्चात ओलीसँग हात मिलाउन जाँदा राष्ट्रपतिका एमालेलाई सहयोग गर्ने सहमति भएको नै हो । तर प्रधानमन्त्री बनेपछि यो वा त्यो जे कारण भए पनि ओलीसँग पारपाचुके गरेकै हुन्– दाहालले । नभए एमालेले समर्थन फिर्ता लिएर बाहिरिदैनथ्यो होला । देशी विदेशी शक्तिकेन्द्रको जतिसुकै चलखेल भए पनि कम्युनिष्टहरुको एकता चाहाने उत्तरको बलियो शक्ति लागेकै हो । यसमा कसको हार वा जीत भयोभन्दा पनि नेपाली राजनीतिको इमानजमान पराजीत भएको छ । नेतृत्वमा रहेका व्यक्तिहरुको इमान्दारिता, विश्वसनीयता एवम् परिपक्वतामा गम्भीर प्रश्नचिह्न खडा भएको छ । यसको मूल्य नेपाली राजनीतिले चुकाउनुपर्ने नै हुन्छ ।

राष्ट्रपतिमा निर्वाचित पौडेलले बद्मासी नगर्लान् उनको लोकतन्त्रप्रतिको आस्था, विश्वास र निष्ठामा शंका गर्ने ठाउँ छैन । लोकतन्त्रको सवालमा उनले कसैसँग सम्झौता गर्दैनन् तर जीवनको उत्तरार्धमा सम्मानित ठाउँमा पुगेर विश्राम लिइदैछन् । उनको भूमिका सीमित हो । उल्लेखनीय कार्य गर्ने संवैधानिक अधिकार होइन । राजनीतिक नेतृत्वलाई संवादमा बोलाएर सचेत गराउन सक्छन्, त्यस्तो कार्यले अपेक्षित सुधार होला भन्ने छैन । जसरी दाहालले ओलीलाई धोका दिए, त्यसैगरी एकले अर्कोलाई ‘देखाइदिने’ फोहोरी खेल हुँदैन भन्न सकिँदैन । यसप्रति आम मानिस संशकित नै छन् ।

यसै आठ दलीय गठबन्धनमा सरकार चलाउन कठिन छ । बाँडफाँडको आफ्नै समस्या छ । व्यक्ति व्यक्तिको व्यवस्थापन अर्को चुनौति हो । सरकारमा कस्तो मानिस लैजाने भन्ने अर्को प्रश्न छ । प्रधानमन्त्री दाहाल नै त्यति सफा देखिँदैन । उनको विगतदेखि वर्तमान नियाल्दा आर्थिक अनुशासनमा पर्ने स्वभाव देखिएन । यसले व्यापक अनियमितता र भ्रष्टाचारको सम्भावना देखाउँछ । अकूत कमाएर भ्रष्ट नकहलाउनेको संख्या व्यापक छ । नांगो आँखाले देखिने, देखिएको भ्रष्टाचार अख्तियारलगायतले छानबिन, अनुसन्धान र नियमन गर्ने संस्थाहरुले देख्दैनन । बिगार्ने र बचाउने खेल अली बढी हुने गरेको छ । सम्भावना भएको र अरुलाई नटेर्ने राम्रो मान्छेलाई सिध्याउने षड्यन्त्र पनि भएको छ । देशको छवी सुधार्नेभन्दा बिगार्ने धन्दामा क्रियाशील व्यक्तिहरुमा नेतृत्व तहका मानिसको नजर परेको छ । यस्ता विरोधाभाषपूर्ण कार्य, गतिविधि, व्यवहार र निर्णयले अन्तत राजनीतिक प्रणालीलाई नै असफल सावित गर्ने हो । यसतर्फ कसैको ध्यान छैन । आफू बन्ने र बनेपछि केही छैन जेसुकै होस् भन्ने संकीर्ण सोचबाट नेतृत्व ग्रसित छ । त्यो नै यहाँको ठूलो समस्या हो ।