बस दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो

बस दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो


ग्लोब नेपाल
2.1k
Shares

काठमाडौं । ओखलढुंगाको रुम्जाटारबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । सिन्धुलीकाे फिक्कलमा दुर्घटनामा परेकाे बसमा मृतकको संख्या ६ पुगेको सिन्धुलीका एसपी राजकुमार सिलवालले बताएका छन् । दुर्घटनाग्रस्त बस घटना स्थलबाट हटाउने क्रममा च्यापिएको अवस्थामा थप १ जना मृतक फेला परेको प्रहरीले जनाएकाे छ ।

मृत्यु हुनेमा ३ पुरुष र ३ महिला छन् । दुर्घटनामा परेर २९ जना घाइते भएका छन् । घाईते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको बताइएकाे छ । बसमा ३५ जना यात्रु सवार थिए । बसका चालक ४५ बर्षीय लालबहादुर तामाङको दाहिने आँखामाथि सामान्य चोट लागेको छ । उनको सामुदायिक अस्पताल घुर्मीमा उपचार भईरहेको छ ।

घाइते हुनेहरुमा ओखलढुङ्गा मोलुङ गा.पा.- ५ बस्ने बर्ष २० को एकराज तामाङ, सिद्दिचरण न.पा. -४ बस्ने तेजकुमार श्रेष्ठ, सिद्दिचरण न.पा. -५ बस्ने बर्ष ३९ का खेमप्रसाद दाहाल, मानेभञ्याङ गा.पा. -४ बस्ने बर्ष १२ का पुकार राई, मानेभञ्याङ गा.पा. -४ बस्ने बर्ष १८ का अर्पणा राई, सोलु जुगु घर बताउने बर्ष २१ की शान्ता सेन्चुरी, सिद्दिचरण न. पा. १२ बस्ने बर्ष २१ की भानुलक्ष्मी गिरी रहेका छन् । त्यसैगरी बर्दियाकाे बारा बर्दिया नगरपालिका- ५ बस्ने बर्ष ३४ की निरु चौधरीको ढाडमा चोट लागेकाे छ । चौधरी नेपाल आर्मीको स्टाफ हुन् ।

घाईतेहरूलाई उपचारको लागि खुर्कोट तर्फ पठाउने पहल भईरहेको प्रहरीले जनाएकाे छ । बस तिब्र गतिको कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । बस सडकको भित्तामा ठोक्किएको थियो ।