उपप्रधानमन्त्री श्रेष्ठसँग बङ्गलादेशका राजदूत चौधरीको भेट

उपप्रधानमन्त्री श्रेष्ठसँग बङ्गलादेशका राजदूत चौधरीको भेट



काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले शिष्टाचार भेटवार्ता गरेका छन् । आज मन्त्रालयमा भएको भेटवार्तामा उपप्रधानमन्त्री श्रेष्ठले समृद्धिका लागि दुवै राष्ट्र मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कतारमा भएको अतिकम विकसित मुलुकको सम्मेलनका क्रममा बङ्गलादेशका प्रधानमन्त्रीसँग आफूले भेटवार्ता गरेको स्मरण गर्दै उनले नेपाल र बङ्गलादेश नजिकका र पुराना मित्रराष्ट्र भएको उल्लेख गरे । दूरीका हिसाबले बङ्गलादेश नेपालको तेस्रो नजिकको छिमेकी मित्रराष्ट्र भएको उनको भनाइ थियो ।

भेटवार्ताका क्रममा राजदूत चौधरीले नेपाल आफूहरूको नजिकको मित्रराष्ट्र भएको उल्लेख गरेका थिए । उनले नेपालमा राजदूत भएर आएको दुई वर्ष भइसकेको बताउँदै नेपाल र नेपाली आफूलाई धेरै मन परेको बताए ।

राजदूत चौधरीले बङ्गलादेशको राष्ट्रिय दिवस (नेसनल डे) को अवसरमा यही मार्च २० मा हुने कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठलाई आग्रह गरेकाे उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।