आदर्श होइन, आवश्यकता हेर !

आदर्श होइन, आवश्यकता हेर !



नेता शब्दको अर्थ अगुवा, नायक, सरदार भन्ने हुन्छ, त्यसैगरी नाम अनुसारको काम हुनुपर्दछ भन्ने मान्यता राखिएको हुन्छ । अगुवा, नायक, सरदार भन्नाले समाज, समुदाय वा देशको नेतृत्व गर्ने वा देशको हरेक पक्षमा सकारात्मक परिवर्तन गर्ने व्यक्ति भन्ने बुझिन्छ । संघीय, प्रादेशिक र स्थानीय गरी तीन तहमा सरकार छ, संविधान बनेको पनि सात वर्ष भइसकेको छ । संविधानमा सबै तहको काम र जिम्मेवारी पनि तोकिएको छ । तर, सो अनुसार काम हुन सकेको छैन । शब्दअनुसार कामको मान्यतामा खिया लाग्दै गएको अनुभूति सर्वसाधारणले गरिरहेका छन् ।

शिक्षा, खानेपानी, रोजगारी, कृषि, सामान्य औषधि उपचारका समस्या हेर्दा समस्याका पर्खाल मात्र जनताले पाएको जस्तो आभाष हुन्छ । काम विशेषले एउटा स्थानीय पालिकामा जाँदाको सानो अनुभव यहाँ उल्लेख गर्न सान्दर्भिक ठानेको छु । गाउँमा विकासको परिभाषामा पर्ने वा रोजाइमा पर्ने भनेको सडक हो । यो आवश्यक पनि हो । यही शिलशिलामा भिरालो जमिनमा डोजरको सहायताले टोल–टोलमा सडक विस्तार गरिएको रहेछ । हिउँदे याममा त त्यो राम्रै विकासमा गणना भयो । जब वर्षा सुरु भयो, तब भिरालो जमिन बग्न सुरु भयो । साथै विनाश पनि । बालीनाली, घरखेत, सजिला गोरेटो बाटा, भएका सानातिना जंगल र मानिसका दैनिकीमा प्रत्यक्ष असर प-यो । यहाँबाट त्यो ठाउँमा विकासको परिभाषा फेरियो ।

अब आदर्श भाषण र जनताले बुझ्न नसक्ने शब्दको प्रयोग गरेर न त जनताको दैनिकीमा सुधार आउँछ न त नेताहरुको राजनीतिले सार्थकता पाउँछ ।

पालिकामा पुनः हाम्रो गाउँ जोगाउने वा सुरक्षित गर्ने विकास चाहियो भनी त्राशदीपूर्ण आवाज उठेको देख्न र सुन्न पाइयो । स्थानीय सरकार, प्रदेश, संघीय सरकार र विभिन्न संघसंस्थासँग हारगुहार गरेको देख्न सकिन्छ । नेताहरुले पनि भोट माग्दा सडकलाई विकासको नारा बनाउन सजिलो त भयो तर दीगो विकासका उपायहरुको खोजी गर्न र विज्ञको सल्लाह र सुझाब लिन चुकेको उल्लेखित घटना एउटा उदाहरणको रुपमा लिन सकिन्छ ।

माथिको उल्लेखित प्रतिनिधि घटना मात्र हो । हाम्रा धर्म, संस्कृति, जातजाति, भाषाजस्ता देशका मुख्य पहिचानका विषयमा गहिरोसँग अध्ययन गरी यसको पहिचानलाई अर्थपूर्ण व्यवस्थापन गर्नु पनि कम चुनौतीपूर्ण काम हैन । यी देख्दा सामान्य लाग्ने तर जनताको दैनिकीमा निरन्तर जोडिने सवालमा नेताहरुको ध्यान नपुगेको हो वा उनीहरुले बुझ्न नसकेको हुन् भन्ने आम प्रश्न जनतामाँझ टड्कारो बनेको छ ।

हाम्रो समग्र देशको अवस्था त्यस्तो हुन सकेको छैन, विभिन्न वाद, तन्त्र, व्यवस्था, अग्रगमन पच्छगमन, लोकतन्त्र, गणतन्त्र, छलाङ्ग जस्ता शब्दमार्फत् जनतालाई भुलाईदिने र आफ्ना निहित स्वार्थ सधैभरि पूरा गरिरहने, सत्ताको वरिपरी रहिरहने परिपाटी छ । यी आदर्श शब्द र वाक्य सुन्दा सामान्य मानिसलाई हो जस्तै लाग्छ । तर, यस्ता शब्दहरुको खेल धेरै लामो समयसम्म जान सक्दैन ।

आदर्श शब्द सुन्दा र भन्दा रमाइलो हुन्छ नै तर, नीति एकातिर र स्थिति अर्कोतिर, अवस्था एकातिर व्यवस्था अर्कोतिर भएपछि ती सुन्दर शब्द र भनाइमा साह्रै वितृष्णा लाग्ने गर्दछ । जनताको सामान्य भन्दा सामान्य जनजीविकाका बारेमा नीतिगत निर्णय र उक्त निर्णयको कार्यान्वयन भएमा मात्र जनताको अवस्थामा परिवर्तन आउन सक्छ ।

नेताहरुले गर्न सक्ने स-साना काम नगर्दा ठूला भाषणमा आफ्नो समय खेर फालेर जनताको नजरमा आफूले आफैंलाई असक्षम सावित गर्दै आएका छन् । अब आदर्श भाषण र जनताले बुझ्न नसक्ने शब्दको प्रयोग गरेर न त जनताको दैनिकीमा सुधार आउँछ न त नेताहरुको राजनीतिले सार्थकता पाउँछ । फेरि पनि जनताको अवस्था परिवर्तन गर्न व्यवस्था नै फेर्नुपर्ने आवश्यकता आउन सक्छ । सबै नेताहरुको ध्यान यो कुरामा जान सकेमा जनताले थोरै भए पनि राहत महसुस गर्न सक्ने थिए की ?