तीन दिने भ्रमणका लागि चिनिया राष्ट्रपति आज रुस जाँदै

तीन दिने भ्रमणका लागि चिनिया राष्ट्रपति आज रुस जाँदै



काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ सोमबार रुसको राजधानी मस्को पुग्दैछन् । रुसले युक्रेन आक्रमण गरेको एक वर्षपछि चिनियाँ राष्ट्रपति सी जिनपिङको रुसको भ्रमणमा निस्कन लागेका हुन् । सी जिनपिङको यो भ्रमणलाई विश्वले महत्त्वका साथ हेरेको छ ।

रुस र युक्रेन दुवै देशलाई युद्ध विरामका लागि आग्रह गरेका एक महिना पछि रुसी राष्ट्रपति पुटिनको निमन्त्रणामा चिनिया राष्ट्रपति सी तीन दिने राजकीय भ्रमणका लागि आज मस्को पुग्न लागेका हुन् । 

भ्रमणमा सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच जारी युद्दका बारेमा कुराकानीसहित बिभिन्न सम्झौता हुने बताइएको छ ।  परम्परागत मित्रतालाई मूर्तरुप दिने र ठूलो महत्त्व बोकेको यो भ्रमणले चीन र रुसबीचको रणनीतिक पारस्परिक विश्वास र सहयोगलाई प्रगाढ बनाउने चिनियाँ सञ्चारमाध्यमले ग्लोबल टाइम्सले उल्लेख गरेको छ । 

युद्धबिरामका लागि आग्रहसहित मध्यस्तकर्ता बन्ने प्रस्ताव गरे पनि युक्रेन–रुसको लडाईमा चीनले रुसको पक्षधरता देखाउँदै आएको छ ।

रुसमाथि अमेरिकालगायत पश्चिमा देशले लगाएको प्रतिबन्धको चीनले खुलेरै विरोधसमेत गरिरहेको छ तर पश्चिमा देशहरुले भने चीनले रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि गर्न खोजेको मध्यस्थतालाई पश्चिमा देशले विकृत आँखाले हेरेको ग्लोबल टाइम्सले उल्लेख गरेकाे छ ।