प्रधानमन्त्रीलाई एमालेको प्रश्न : पुस १० मा सहयात्राका लागि किन सहमत हुनुभयो ?

प्रधानमन्त्रीलाई एमालेको प्रश्न : पुस १० मा सहयात्राका लागि किन सहमत हुनुभयो ?



काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने आधार र कारण नदेखिएको बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले एमालेले मात्रै नभएर अरु दलले पनि विश्वासको मत दिने आधार र कारण नभएको बताए ।

“जसरी उहाँले विश्वासको मत मागिरहनुभएको छ । उहाँलाई विश्वासको मत दिन कुनै आधार र कारण देखिएन । एमालेले मात्र होइन् सिंगो सदन विपक्षमा दृढतापूर्वक उभियोस्,” पौडेलले भने ।

पौडेलले चुनावी नतिजापछि आफूहरू प्रतिपक्षको भूमिकामा रहने तयारीमा रहेको बताए । तर, तत्कालिन गठबन्धनले सरकार दिन नसकेपछि प्रचण्डले एमालेसहितका दलसँग समर्थन मागेपछि ससर्त समर्थन दिएको बताए ।

पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताएका छन् । २६ पुसमा विश्वासको मत लिएका प्रधानमत्री प्रचण्ड दुई महिना १० दिन नपुग्दै अर्को पटक विश्वासको मत लिन उपस्थित भएको भन्दै उनले सदनको विजनेश नै यत्ति मात्र हुने त होइन भनेर प्रश्न गरेका छन् ।

एक–दुई महिनामै प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्ने बताउँदै भने, ‘म सोध्न चाहन्छु, अर्को चोटी विश्वासको मत लिने कार्यसूची कहिले छ ?’