ओलीले वैशाखमा हामी सँगै हुन्छौँ भन्नुभएको छ, तर त्यसो हुन दिदैनौँ : प्रधानमन्त्री

ओलीले वैशाखमा हामी सँगै हुन्छौँ भन्नुभएको छ, तर त्यसो हुन दिदैनौँ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले सहमति विपरीत बोलेका कारण विश्वासको वातावरण बिग्रदै गएको बताएका छन् ।

उनले संसद्मा सम्बोधन गर्दै यस्तो बताएका हुन् । “म अलिअलि सोझो सोझो छु क्या,” प्रधानमन्त्री प्रचण्डले भने, “मैले संसद् विघटन गरेको ठिक छ भनेर केपीजीले भनेपछि म त्यही दिन अब भंग हुने भयो भन्ने अवस्थामा पुगेको थिएँ । त्यसपछि कांग्रेससँग मेरो लभ परिहाल्यो, प्रधानमन्त्री भन्दा पनि एजेन्डाको लागि ।”

उनले कांग्रेसले पनि गल्ती गरिएछ भन्ने सोचेकाले आफू कांग्रेसतिर लागेको बताए । “अस्तिको गठबन्धन एजेन्डाको कारणले टिक्दैन भन्ने थियो । यो एजेन्डाले नै टिक्छ,” उनले भने, “हुन त ओलीले वैशाखमा हामी बाहिर सँगै हुन्छौँ भन्नुभएको छ तर त्यस्तो हुने छैन ।”

प्रचण्डले वर्तमान गठबन्धन र सरकार विधि र प्रक्रिया अन्तर्गत नै अघि बढेको जवाफ दिएका छन् । गठबन्धन गरेर लोकतन्त्रको नयाँ अभ्यास गरिरहेको भन्दै नेकपा विभाजन र संसद विघटनको गम्भीर समीक्षा गर्न एमाले अध्यक्ष केपी ओलीलाई चुनौती दिए ।

उनले गठबन्धन बदलेकोबारे एमाले उपाध्यक्ष विष्णु पौडेलले जवाफ मागेको भन्दै पौडेल आफैं उपप्रधानमन्त्री भएकाले जवाफ दिन आग्रह गरे । पुस १० को गठबन्धन बनाउन एमालेले नै बोलाएकाले नै आफु खोज्दै त्यहाँ नगएको पनि बताए ।

उनले संविधान निर्माणपछि विचार मिल्ने दलहरु एक भएर अघि बढ्न सके विकास निर्माण र सम्मृद्धिले गति लिने अपेक्षासहित आफै प्रस्तावक भएर निर्वाचनमा गएको बताए ।