लेबनानमा आर्थिक संकटविरूद्ध प्रदर्शन

लेबनानमा आर्थिक संकटविरूद्ध प्रदर्शन



मध्यपूर्वी मुलुक लेबनान पनि आर्थिक संकट गहिरिंदै गएको छ । बैंकमा राखेको निक्षेप पनि फिर्ता लिन नपाउने अवस्था आएको भन्दै सर्वसाधारण विरोध प्रदर्शनमा उत्रिएका हुन् । अवकाश प्राप्त कर्मचारी र सुरक्षाकर्मीहरु नै बैंकले रकम फिर्ता नदिएको भन्दै सर्वसाधारण प्रदर्शनमा उत्रिएका हुन । राजधानी बेरुतमा बुधबार भएको प्रदर्शनमा झडप समेत भएको छ ।

प्रदर्शनकारीहरुले सुरक्षा घेरा तोडेर ढुंगामुढा गर्दै सरकारी मूख्यालयतर्फ अघि बढेपछि सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गर्नुका साथै बल प्रयोग गरेका थिए । पछिल्ला दिनहरुमा लेबनानी पाउण्डको मूल्य अमेरिकी डलरको तुलनामा ९८ प्रतिशतले अवमूल्यन भएको छ ।

आधिकारिक रुपमा एक डलर बराबर १५ हजार लेबनानी पाउण्ड रहे पनि बजारमा सर्वसाधारणले १ डलरका लागि १ लाख ४३ हजार पाउण्ड तिर्नु परेको जनाइएकाे छ । सन् १९७५ देखि १९९० सम्मको गृहयुद्धमा पनि यति ठूलो आर्थिक संकट भोग्नु नपरेको लेबनानको यो संकटलाई अभूतपूर्व भनिएको छ ।

सडकमा उत्रिएका प्रदर्शनकारीहरुले बालबच्चाहरु भोकै राख्नु परेको भन्दै आक्रोश पोखेका छन् । लेबनानमा विद्यालयहरु समेत बन्द गरिका छन् । दैनिक उपभोग्य सामग्री र इन्धन खरिदका लागि समेत युद्ध लड्नु पर्ने अवस्था आएकाे छ ।