नेकपा ब्युँताउन प्रचण्डलाई माधव नेपालको प्रस्ताव

नेकपा ब्युँताउन प्रचण्डलाई माधव नेपालको प्रस्ताव



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव राखेका छन् ।

राष्ट्रपतिको चुनावका बेला पनि नेकपा ब्युँताउने कुरामा छलफल भएको थियो । त्यतिबेला सहमति हुन सकेन । सत्ता गठबन्धनमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भइरहेकाे बेला अध्यक्ष नेपालले फेरि नेकपाकाे प्रस्तावलाई बाहिर ल्याएका छन् ।

शुक्रबार भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रममा उनले आज बिहान आफूले प्रचण्डलाई नेकपा रिभाइभ गर्ने प्रस्ताव राखेको बताए ।

“आज बिहान पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मेरो कुराकानी भयो । मैले भने, हाम्रो पार्टीले पुरानो नेकपालाई रिभाइभ गरौं । एउटै ठाउँमा आउनुस् हिम्मत छ ?,” नेपालले भने ।

राष्ट्रपतिको चुनावका बेला नेकपा ब्युँताउने प्रस्तावमा प्रचण्ड तयार भएको बताए । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले सोही प्रस्ताव पठाउँदा चासो नराखेको बताए । उनले पार्टी एकताका लागि त्याग गर्नुपर्ने बताए । ०७९ को चुनावमा एमाले नेतृत्वको अहंकारले कम्युनिस्ट पार्टीले चुनावमा धक्का खाएको बताए ।