प्रधानमन्त्री दाहालसँग कांग्रेस नेता खाणको भेट

प्रधानमन्त्री दाहालसँग कांग्रेस नेता खाणको भेट



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धनलाई अझ सशक्त बनाउने र सरकारलाई प्रभावकारीरुपमा सञ्चालन गर्नेलगायत विषयमा कुराकानी भएको नेता खाणले जानकारी दिए ।

“प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेट भयो । भेटमा समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धनलाई अझ सशक्त बनाउने र सरकारलाई प्रभावकारीरूपमा कसरी सञ्चालन गर्ने भन्नेबारेमा कुराकानी भयो,” नेता खाणले भने, “सङ्घीय सरकार विस्तार भएपछि प्रदेशहरूमा पनि गठबन्धन अनुकुलका सरकार विस्तार गर्नेबारेमा कुराकानी भयो ।” सो अवसरमा उनीहरुबीच मन्त्रिपरिषद् विस्तार बारेमा समेत कुराकानी भएको थियो ।

नेता खाणले आजै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेटवार्ता गरेका छन् । जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटमा पनि उनीहरुबीच केन्द्र सरकार विस्तार, प्रदेशमा गठबन्धन अनुकूलको सरकार निर्माण लगायतबारे कुराकानी भएको नेता खाणले बताए ।

गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघिको गठबन्धन सरकारमा गृहमन्त्री रहेका नेता खाण प्रतिनिधिसभा निर्वाचनपश्चात् पनि लेनदेनमा सम्झौता गरेर भए पनि गठबन्धन टुटाउन नहुने पक्षमा थिए ।

केन्द्र र प्रदेशमा हालको सत्ता गठबन्धन दलको सरकार निर्माणका क्रममा नेता खाणले प्रधानमन्त्री दाहाल र जसपा अध्यक्ष यादवसँग आज छुट्टाछुट्टै भेट गरेका हुन् ।