अमेरिकामा कृष्ण लामिछानेको अन्त्यष्टिको तयारी

अमेरिकामा कृष्ण लामिछानेको अन्त्यष्टिको तयारी



काठमाडौं । अमेरिकाको टेक्सासस्थित आफ्नै निवासमा आत्महत्या गरेको भनिएका सामाजिक अभियन्ता कृष्ण लामिछानेको अन्त्यष्टि शनिबार गर्ने तयारी गरिएको छ । नेपाली समाज टेक्सास, नेपाली जनसम्पर्क समिति टेक्सासलगायत डालसका अन्य सामाजिक संघसंस्थाले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिअनुसार लामिछानेको अन्त्यष्टि स्थानीय समयअनुसार शनिबार बिहान ११ बजेदेखि १ बजेसम्म गरिने समय तालिका सार्वजनिक गरिएको छ ।

त्यहाँ रहेका सामाजिक संघसंस्थाले श्रद्धाञ्जलि दिन चाहेकाले विदाको दिन पारेर दाहसंस्कार गर्न परिवारसँग अनुरोध गरेपछि अन्त्यष्टि शनिबारलाई सारिएको हो । पोस्टमार्टम सकिएपछि शुक्रबार नै लामिछानेको अन्त्यष्टि गर्ने तय भएको थियो ।

यता, लामिछानेका छोरीहरुको आग्रहमा हजुरबुवा रामप्रसाद लामिछाने अमेरिका जाने तयारी गरेका छन् । उनले छोराको पार्थिव शरिर एकपटक हेर्न चाहेको भन्दै टेक्सासको नेपाली समाजसँग पार्थिव शरिर तत्काल अन्त्यष्टि नगर्न आग्रह गरेर एउटा पत्रसमेत पठाएका थिए । लामिछानेका शुभेच्छुकहरुले पनि बुवा नआउञ्जेल दाहसंस्कार नगर्दा राम्रो हुने सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् ।

रामप्रसाद लामिछानेको पासपोर्ट नयाँ लिनुपर्ने भएकाले भोलि आइतबार प्रकृया थालेर सोमबार भिसाको लागि दूतावास जाने कृष्णका माइला भाइ कपिल लामिछानेले ग्लोब नेपाललाई जानकारी दिए । उनका अनुसार भिसा प्रकृया पूरा भएपछि बुवा नातिनीहरुको आग्रहमा अमेरिका जानु हुनेछ ।