बुधबारसम्म मन्त्रिमण्डल पुनर्गठन हुने (को–को बन्दैछन् मन्त्री ?)

बुधबारसम्म मन्त्रिमण्डल पुनर्गठन हुने (को–को बन्दैछन् मन्त्री ?)

उपप्रधानमन्त्री हट्न सक्ने



काठमाडौं । कुनै तिलस्मी घटना भएन भने बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने भएको छ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले मन्त्रीको नाम फाइनल गरेर प्रधानमन्त्रीलाई बुझाएपछि मात्र मन्त्रिमण्डल पुनर्गठन हुने बताइएको छ । शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले सोमबार कार्यसम्पादन समितिको बैठक बस्ने तय गरेको थियो, तर बैठक भोलि बस्न समय तय गरिएको छैन । यदि भोलि बैठक नबसे पर्सी बसेर कांग्रेसबाट सरकारमा पठाउने नाम टुंगो लाग्ने एक नेताले बताएका छन् । आज कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले दुई–तीन दिनभित्र मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन् ।

सबै दलले उपप्रधानमन्त्री खोज्न थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई उपप्रधानमन्त्री नराख्न कांग्रेस सभापति शेरबहादुर देउवाले सुझाएका छन् । यद्यपि यस विषयमा प्रधानमन्त्री दाहाल निष्कर्षमा पुगिनसकेको बताइएको छ ।

मन्त्रीको नाम दिन कांग्रेसलाई सकस परेकाले मन्त्रिमण्डल पुनर्गठनमा ढिलाइ भएको बताइएको छ, सरकारमा सहभागी हुने अन्य दलले भने मन्त्रीको नाम फाइल गरिसकेका छन् । पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा माओवादी केन्द्र र जनमत पार्टी सहभागी छन् भने अब कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति पार्टी र एकजना स्वतन्त्र सांसद मन्त्री बन्ने तयारीमा छन् ।

नेपाली कांग्रेसले ७, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले ३–३, जनता समाजवादीले, जनमत पार्टीले २–२ र लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी एकएक र एकजना स्वतन्त्र सांसद मन्त्री बन्ने छन् ।

कांग्रेसले पाउने सात मन्त्रालयमा को–कसलाई पठाउने भन्ने लिस्ट पार्टी सभापति शेरबहादुर देउवाको खल्तीमा तयार पारेर राखिएको छ । अर्थमन्त्रीमा को जाने भन्ने एक नामबाहेक अन्य सबै अनुमानका भरमा बाहिर आएको बताइन्छ । पार्टी सभापति देउवाले अर्थमन्त्रीमा डा. प्रकाशशरण महतलाई बचन दिइसकेकाले परिवर्तन हुने सम्भावना नरहेको बुझिएको छ । उपप्रधानमन्त्री राख्ने टुंगोमा प्रधानमन्त्री पुगे भने कांग्रेसले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलाई मन्त्री बनाउँदैछ । उपसभापति खड्काले मन्त्रीभन्दा माथिको पद पाए मात्र मन्त्रिमण्डलमा जाने स्पष्ट पारिसकेका छन् ।

कोशी प्रदेशबाट सीता गुरुङ र डिगबहादुर लिम्बूको नाम मन्त्री बन्ने लिस्टमा छ भने मधेश प्रदेशबाट तेजुलाल चौधरी र रमेश रिजालमध्ये एकजना मन्त्री बन्ने पक्का छ । गण्डकी प्रदेशबाट सहमहामन्त्री जीवन परिवार, लुम्बिनी प्रदेशबाट किशोरसिंह राठोर र सुदूरपश्चिमबाट एनपी साउद र बीरबहादुर बलायरमध्येबाट एकजना मन्त्री बन्ने सम्भावना रहेको कांग्रेस स्रोतले ग्लोब नेपाललाई बतायो ।

कांग्रेस बाहेक अन्य दलहरुले मन्त्रीको नाम लगभग टुंगो लगाइ सकेका छन् । माओवादीले दुई मन्त्रीलाई हेरफेर गर्ने भएको छ । भौतिक पूर्वाधार निर्माण तथा यातायात व्यवस्था मन्त्री नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिने र सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई ऊर्जा र शहरी विकास मन्त्रालयमध्ये एउटा दिने तयारी भएको छ । मन्त्रालय टुंगो नलागे पनि नेकपा एकीकृत समाजवादीले मन्त्री बन्ने ३ जनाको नाम टुंगो लगाएको छ । बेदुराम भुषाल, प्रकाश ज्वाला र भानुभक्त जोशी एकीकृत समाजवादीबाट मन्त्री बन्ने छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मन्त्री बन्ने तीनजनाको नाम फाइनल गरेको छ । डोलप्रसाद अर्याल, सोविता गौतम तथा मनिष झा र विराजभक्त श्रेष्ठमध्ये एकजनालाई मन्त्री बनाउने भएको छ । लोकतान्त्रिक समाजवादी पार्टीबाट शरदसिंह भण्डारीको नाम मन्त्रीका लागि सिफारिस भएको छ भने जनता समाजवादीले प्रदीप यादव र राजकिशोर यादवलाई मन्त्रीको लिस्टमा राखेको छ ।

स्वतन्त्र जितेर आम जनता पार्टी खोलेका प्रभु साह पनि मन्त्री बन्न सक्ने छन् । प्रभु र डा. अम्रेशकुमार सिंहमध्ये एकजना स्वतन्त्रको कोटाबाट मन्त्री बन्नसक्ने बताइएको छ ।