भारतीय संसद्‌मा विपक्षी सांसद कालो पहिरनमा पुगेपछि…

भारतीय संसद्‌मा विपक्षी सांसद कालो पहिरनमा पुगेपछि…



काठमाडौं । राहुल गान्धीको सांसद पद खारेज गरेको विषयलाई लिएर सोमबार भारतको संसद्‌को अवस्था तनावग्रस्त बनेको छ ।

संसद्‌मा विपक्षी सांसदहरुले विरोध चर्काएपछि राज्यसभा र लोकसभा बैठक निर्धारित समयमा सुरु हुन सकेन । लोकसभा बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको छ ।

विपक्षी सांसदहरुले राहुल गान्धीको लोकसभा सदस्यता खारेज गरेको विरोधमा नाराबाजी गरेका थिए ।

संसद् जानुअघि भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खडगेसहित विपक्षी पार्टीका नेताहरुको बैठक भएको थियो । बैठकमा राहुलको संसद सदस्यता रद्द गरिएको अवस्थामा कसरी एकजुट भएर अघि बढ्ने भन्ने विषयमा छलफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

संसद् बैठकमा कांग्रेस सांसदहरु विरोधस्वरुप कालो पहिरनमा पुगेका थिए ।

‘हामी आज कालो कपडामा संसद् आएका छौँ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा एक–एक गरेर लोकतन्त्र अन्त्य गर्न खोजिरहेको कुरा देशलाई देखाउन चाहन्छौँ,’ कांग्रेस अध्यक्ष खडगेले भने, ‘जसरी राहुल गान्धीलाई लोकसभाबाट निकालिएको छ, त्यसकाविरुद्ध सबै विपक्षी दल एकजुट छौँ । राहुल गान्धीमाथि अन्याय भएको छ ।’