निर्णायक संवादमा सत्ता साझेदार दलहरू

निर्णायक संवादमा सत्ता साझेदार दलहरू


ग्लोब नेपाल
270
Shares

काठमाडौं । मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा सत्ता साझेदार दलहरू आज निर्णायक संवादमा जुट्दैछन् । सत्ता गठबन्धनका तीन दलका शीर्ष नेताहरुबीच हिजो भएको बैठकले आज सत्ता साझेदार दलहरूसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच हिजो भएको छलफलमा गठबन्धन दलको बैठक आज अपरान्ह ४ बजे बोलाउने समझदारी भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले गठबन्धनका तीन शीर्ष नेताको बैठकले मन्त्रिपरिषद् विस्तारलाई टुङ्गो लगाउने गरी छलफल अगाडि बढाएको जानकारी दिए । उनका अनुसार बैठकमा सरकारको नीति तथा कार्यक्रम र समसामयिक विषयमा छलफल हुनेछ ।

बैठकमा सहभागी हुन कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसँगै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, आमजनता पार्टी र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरूलाई बोलाइएको छ ।