प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा तनावग्रस्त बन्यो विराटनगर

प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा तनावग्रस्त बन्यो विराटनगर



विराटनगर । कोशी नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच विराटनगरमा झडप भएको छ ।

पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास, पानीको फोहरा र लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले पनि प्रहरीतर्फ ढुंगा हानेका छन् ।

प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरुले निरन्तर आन्दोलन गरिरहेका छन् । ५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ ।

मंगलबार प्रदर्शनकारी मुख्यमन्त्री कार्यालयतर्फ जाँदै गर्दा प्रहरीले लखेटेको थियो । त्यस क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।

प्रदर्शनकारीले प्रदेशसभा सदस्यहरु एक कार्यक्रममा सहभागी हुन आएको बिग होटल घेराउ गर्न खोजेका थिए । तर प्रहरीले त्यहाँ पनि उनीहरुलाई रोकेको छ ।

पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कोशी नाम खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग सम्बोधन गर्नुपर्ने माग गरिरहेका छन् । सांसदहरू सहभागी हुने कार्यक्रम र होटेल घेराउ गर्न समितिका कार्यकर्ताहरू जम्मा हुने भएपछि प्रहरीले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ ।