रामहरि खतिवडालाई मन्त्री बनाउने देउवाको आश्वासन

रामहरि खतिवडालाई मन्त्री बनाउने देउवाको आश्वासन



काठमाडौं । ओखलढुंगाबाट निर्वाचित सांसद रामहरि खतिवडालाई नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले मन्त्री बनाउने आश्वासन दिएका छन् । मंगलबार विहान पार्टी उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा. प्रकाशशरण महतसहित खतिवडा पार्टी सभापति देउवालाई भेट्न धुम्बराही पुगेका थिए । उक्त भेटमा सभापति देउवाले खतिवडालाई मन्त्री बनाउने आश्वासन दिएका हुन् ।

‘कुन मन्त्रालय भनेर अहिले नसोध्नु, एउटा मन्त्रालयको जिम्मेवारी तिमीले पाउँछौ’ पार्टी सभापतिले खतिवडालाई भने । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद खतिवडा संसदमा समसामयिक विषयवस्तुमा खरो रुपमा प्रस्तुत हुने गरेका छन् । नागरिकको समस्या संसदमा उठान गर्ने नेता भएकाले खतिवडाको लोकप्रियता देशव्यापी रहेको छ ।

नेपाली कांग्रेसको विरासत बोकेको ओखलढुंगा जिल्लाबाट झन्डै दुई दशकपछि रामहरि खतिवडा मन्त्री बन्दैछन् । प्रजातन्त्र पुनस्र्थापनापछि २०४८ सालमा बलबहादुर राई पहिलो पटक मन्त्री बनेका थिए । त्यसपछि होमनाथ दाहाल र गोपाल राई मन्त्री भएका थिए । त्यसयता ओखलढुंगाले मन्त्री पाउन लामो समयको प्रतिक्षा गर्नु परेको छ ।

यो खबरसँगै ओखलढुंगेली जनतामा खुशियाली छाएको छ । भौतिक पूर्वाधार निर्माणमा पछाडि परेको पूर्वी पहाडी जिल्ला ओखलढुंगाले विकासप्रेमी मन्त्री पाउँदै गर्दा जिल्लाको समग्र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।