प्रचण्ड र शेरबहादुरहरूले देशको सीमाना खुम्च्याए : ओली

प्रचण्ड र शेरबहादुरहरूले देशको सीमाना खुम्च्याए : ओली



पाल्पा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल-भारतको विवादित सीमानाबारे टिप्पणी गरेका छन् । उनले लिपुलेक, लिम्पियाधुरा र कालापानीका विषयमा टिप्पणी गरेका हुन् ।

उनले आफू प्रधानमन्त्री हुँदा रहेको देशको सीमाना अहिले खुम्चिएको आरोप लगाएका छन् । पाल्पामा ग्रासरुट मिशन अभियानलाई सम्बोधन गर्दै उनले प्रचण्ड शेरबहादुरहरूले खुम्च्याएको आरोप लगाए ।

‘देशको भूगोल अलिकति सानो भयो। म प्रधानमन्त्रीबाट छोड्दा जत्रो देश थियो, त्यो देश प्रचण्ड शेरबहादुरहरूले अलिकति खुम्च्याए। आफ्नो भूभाग नदेखेझैँ गरे,’ अध्यक्ष ओलीले भने, ‘कस्तो दलाली, कस्तो चाकडी होला। सरकारमा छन् र देश मिचिएको देख्दैनन्। देशको रक्षा गर्ने कर्तब्य हो नि। तर खोइ मैले त देखिनँ भन्छन् ।’

सीमा रक्षा गर्ने सरकारमा हुनेहरुको कर्तव्य भए पनि उनीहरुले नदेखेजस्तो गरेको ओलीले बताए । ‘ए हो र मैले त देखिन …! कस्तो दलाली, कस्तो चाकडी ?’ उनले भने ।

ओलीले भारततर्फ संकेत गर्दै अब आफूविरुद्ध प्रचण्ड र देउवा कुरा लगाउन जाने टिप्पणी गरे । ‘मैले यति बोलेपछि कुम्लो कुटुरो बोकेर कुरा लाउन जान्छन् । हजुर पाल्पामा केपी ओलीले नेपालको सीमा घटायो भन्यो नि त्यसलाई आउन दिनु हुदैन भनेर’ उनले भने ।

उनले आफू प्रधानमन्त्री भएर धेरै काम गरेको भन्दै प्रधानमन्त्री बन्ने कुनै रहर नभएको स्पष्ट पारे ।