कांग्रेस ८ मन्त्रालयभन्दा तल नझर्ने

कांग्रेस ८ मन्त्रालयभन्दा तल नझर्ने



काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुबीच मन्त्रिपरिषद् विस्तारबारे अहिले दुई पक्षीय र आ-आफ्ना दलकाे बैठकमा छलफल जारी छ ।

गठबन्धनमा नेपाली कांग्रेसले ८ मन्त्रालयभन्दा तल नझर्ने अडान कायमै राखेको छ । कांग्रेस आफ्नो दाबीबाट टसमस नभएपछि बुधबार बिहान बसेको गठबन्धन बैठकमा सहमति नजुटेको हो ।

कांग्रेसले गरेको दाबीमाथि छलफल भइरहेको गठबन्धनका नेताहरुले बताएका छन् । संयुक्त बैठकमा कुरा नमिलेपछि गठबन्धनमा भएका राजनीतिक दलका नेताहरूबीच छुट्टाछुट्टै छलफल अहिले भइरहेकाे हाे । बालुवाटारमा नै दलका नेताहरूबीच छलफल भइरहेको बताइएको छ ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीले पनि ३ मन्त्रालय आफूले पाउनैपर्ने दाबी कायमै राखेको छ । गठबन्धनमा एकीकृतलाई २ मन्त्रालय दिने छलफल भएको थियो । तर, २ मा असहमति भएपछि यस विषयमा पनि छलफल सकिएको छैन् ।

नीति तथा कार्यक्रम र मन्त्रिपरिषद् विस्तारको टुंगो बुधबार नै लगाउने गरी नेताहरु सकृय भएर छलफलमा जुटेका हुन् ।

गठबन्धनले संयुक्त नीति तथा कार्यक्रम पनि करिब टुंगो लगाएको नेताहरूले बताएका छन् । अहिले प्रतिनिधिसभाको बैठक पनि बसिरहेको छ । प्रतिनिधिसभा बैठकपछि पुनः गठबन्धनको बैठक बस्ने गरी अहिले दुई पक्षीय र दलका आ-आफ्ना बैठक बसिरहेका छन् ।