बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

मन्त्रिमण्डल विस्तार र न्यूनतम साझा कार्यक्रमबारे छलफल



काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न १० दलीय गठबन्धनको बैठक बालुवाटारमा दोस्रो पटक बसेको छ । बुधवार बिहान बसेको बैठकमा मन्त्रालय भागबन्डामा कुरा नमिलेपछि पुनः दोस्रो चरणको बैठक सुरु भएको हो ।

छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपाल, जनमतका सीके राउत लगायतका नेता बालुवाटार पुगिसकेका छन् । जसपा अध्यक्ष बालुवाटार पुगेर व्यक्तिगत काम पर्‍यो भन्दै बाहिरिएका छन् ।

प्रधानमन्त्री दाहालले गत चैत ६ मा दोस्रो पटक विश्वासको मत लिएका थिए । मन्त्रालय भागबन्डा नमिल्दा प्रधानमन्त्रीले १६ मन्त्रालय हेर्दै आएका छन् ।

मङ्गलवार बसेको गठबन्धनको बैठकमा दलहरूले मन्त्रालयमा आआफ्नो दाबी पेस गरेका थिए । तर मन्त्रालय भन्दा बढी दाबी परेकाले सङ्ख्या मिलाउन प्रधानमन्त्रीलाई अप्ठेरो परेको बुझिएको छ ।

यसैबीच नेकपा एकीकृत समाजवादीले दुई मन्त्रीको नाम टुंगो लगाएको छ । बेदुराम भुसाल र प्रकाश ज्वालालाई मन्त्री बनाउने समाजवादीको तयारी छ । समाजवादीले ३ मन्त्रालय पाउनुपर्ने अडान छाडेको छैन ।

प्रधानमन्त्रीले दुई चरणमा मन्त्रिपरिषद बिस्तार गर्ने तयारीसमेत गरेका छन् ।