संसदमा खतिवडाले गरे फरार सांसद कोइरीको खोजी

संसदमा खतिवडाले गरे फरार सांसद कोइरीको खोजी



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधिसभाको बैठकमा फरार सांसद लक्ष्मी महतो कोइरीको खोजी गरेका छन् । बुधबार बसेको बैठकमा उनले सांसद महतोको खोजी गरेका हुन् ।

बैठकमा बाेल्दै सांसद खतिवडाले भने, ‘आज प्रतिनिधिसभाको १७ औं बैठक चलिराखेको छ । लगातार १० पटकसम्म उपस्थित नहुँदा सांसद पद खाली हुन्छ भन्ने नियमावलीमा उल्लेख भएको सुनेको थिएँ, एक जना सांसद सभामुखलाई जानकारी दिएर हो कि, जानकारी नदिइकन हो, धेरै पटकदेखि संसदमा देखिएको छैन, संसद बाहिर पनि चहलपहल देखिएको छैन ।’

महोत्तरीबाट निर्वाचित लक्ष्मी महतो कोइरी हराइरहेको सूचना छ । सभामुखलाई जानकारी छ कि छैन जानकारी पाउँ भन्दै खतिवडाले खाेजी गर्न आग्रह गरेका छन् ।

मधेश आन्दोलनका क्रममा प्रहरी सई थमन बिकको हत्या अभियोग लागेका कोइरी फरार अभियुक्त हुन् । उनी फरार रहेकै अवस्थामा महोत्तरी–१ बाट ४ मंसिरको चुनावमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।