मंसिरको हावाहुरी उपचुनावमा देखिँदैन : जीतनारायण

मंसिरको हावाहुरी उपचुनावमा देखिँदैन : जीतनारायण



काठमाडौं । नेपाली कांग्रेस नेता जीतनारायण श्रेष्ठले वैशाख १० गते हुने उपनिर्वाचनमा आफूले जित्ने दाबी गरेका छन् ।

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले नेता श्रेष्ठलाई चितवन–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसपछि पत्रकारहरुसँग कुरा गर्दै उनले ४ मंसिरमा रवि लामिछानेको पक्षमा देखिएको माहोल अहिले नरहेको बताएका छन् ।

‘मंसिरको निर्वाचनमा चितवनमा पनि स्वभाविक रुपमा हावाहुरी आएको थियो । त्यो हावाहुरी जसले लिएर आयो, त्यो मान्छे आफैँ अहिले जनताको बीचमा आफ्नो स्थिति खोज्दै कहाँ हो मेरो पहिचान भनेर खोज्नुपर्ने स्थितिमा गएका छन्’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माथि अहिले धेरै प्रश्न उठेको श्रेष्ठले बताए । उनले भने, ‘किन सरकारलाई समर्थन गरेको भनेर खुलाउनुनपर्ने, के कारणले हो भन्ने कुरा जनतालाई भन्नुनपर्ने, पार्टीबाट निर्णय गर्नुपनि नपर्ने, अनि आफूलाई मन लागेको कुरा जे पनि गरेको देखिएको छ, मंसिरको उल्टो परिणाम अब आउनेछ ।’

नेता श्रेष्ठले यसपटक चिवतन–२ मा सत्ता साझेदार दलहरुको साझा उम्मेदवार आफू बन्ने बताए । चितवनका बासिन्दा रवि लामिछानेसँग एक पटक झुक्किएको भन्दै श्रेष्ठले अहिले वास्तविकता बुझिसकेकाे बताएका छन् ।

रास्वपाबाट चितवन- २ मा पुन: उम्मेदवार बन्ने लामिछानेको तयारी छ ।